बुद्धनगरमा बन्ने भयो युएन स्वास्थ्य पार्क


काठमाडौं । बुद्धनगरस्थित युएन पार्कको जग्गामा स्वास्थ्य पार्क बन्ने भएको छ । युएन पार्कको नाममा रहेको उक्त जग्गामा स्वास्थ्य पार्क बन्ने प्रक्रिया अघि बढेको हो ।

युएन स्वास्थ्य पार्क बनाउनका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना र बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठबीच छलफल भएको छ । उक्त ठाउँमा स्वास्थ्य पार्क बनाउन आफूहरू सकारात्मक रहेको र एक-दुई दिनभित्रै सहमति दिइने अध्यक्ष तिमल्सिनाको प्रतिबद्धता छ । समितिका आयोजना प्रमुख रविन्द्र बोहराले स्वास्थ्य पार्क बनाउने विषयमा बोर्ड बैठक राखेर सहमति दिइने बताए ।

बुद्धनगर विकास समिति र सांसद श्रेष्ठको संयुक्त प्रयासका नेपाल सरकार युएन पार्कको नाममा रहेको उक्त २ रोपनी ३ आना जग्गामा स्वास्थ्य पार्क बनाउन लागिएको हो । भूमाफिया जेएन तण्डुकारले हडपेको त्यो जग्गा सांसद श्रेष्ठले मकैं भाँचेर कब्जामुक्त बनाएका हुन् । श्रेष्ठ बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री हुँदा २५ लाख रुपैयाँ स्वास्थ्य पार्क बनाउन छुट्याएका छन् । यो जग्गा संरक्षण गर्न मुद्दा लड्दा पनि उनले आफ्नो निजी पैसा हालेका थिए ।

सर्वोच्च अदालतबाट फैसला भएर नेपाल सरकारको नाममा आइसकेको उक्त जग्गामा जेएन गिरोहले फेरि चलखेल गरेको छ । उनीमाथि कारबाही हुनुपर्ने स्थानीयको माग छ । भूमाफिया जेएन जग्गा खाने र आम बुद्धनगरबासी बुद्धनगरको सरकारी जग्गा जोगाउने पक्षमा छन् ।

सांसद श्रेष्ठले यसअघि पनि स्वास्थ्य पार्क बनाउन प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमबाट २० लाख विनियोजन गरेका थिए । तर, तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र भूमाफिया जेएनको मिलेमतोमा उक्त बजेट फ्रिज गराइयो । सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्ने दायित्व बोकेका स्थानीय केही कानुन व्यवसायीहरु पनि भूमाफिया जेएनको पक्षमा रहेकाे तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० बुद्धनगरमा रहेको उक्त जग्गामा स्वास्थ्य पार्क बनाउन योग प्रशिक्षक डा. राजु अधिकारीको समेत विशेष चासो छ । बागमती सरसफाईका अभियान्ता समेत रहेका डा. अधिकारीले स्वास्थ्य पार्क बनाउन विज्ञता प्रदान गर्ने बताएका छन् । यसका लागि सांसद श्रेष्ठ र योग प्रशिक्षक डा. अधिकारीबीच पटकपटक छलफल भएको छ । अब भने बुद्धनगरमा त्यो ठाउँमा स्वास्थ्य पार्क बन्ने निश्चित जस्तै भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, #दिपेन्द्र श्रेष्ठ प्रदेश सांसद, #युएन पार्क, #योग प्रशिक्षक डा. राजु अधिकारी, #स्वास्थ्य पार्क

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ