बुद्धनगरस्थित स्वास्थ्य पार्क बनाउने जग्गामा बागमतीका अध्यक्ष तिमल्सेनाको चलखेल


काठमाडौं । बुद्धनगर विकास समिति र स्थानीय मुद्दा लडेर फिर्ता ल्याएको बुद्धनगरस्थित स्वास्थ्य पार्क बनाउने जग्गामा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेना चलखेल गरेका छन् । उनले यो जग्गामा पटकपटक चलखेल गर्दै आएका छन् ।

भूमाफिया जेएन तण्डुकारले व्यक्तिको नाममा दर्ता गर्दा चुपचाप बसेको बागमती सभ्यता अहिले व्यापारिक स्वार्थमा लागेको छ ।

भूमाफिया जेएन तण्डुकारको परिवारले दर्ता गराएको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १० को कित्ता नम्बर २९ क्षेत्रफल २ रोपनी ३ आना १ दाम जग्गा बुद्धनगर विकास समिति र बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठको पहलमा फिर्ता आएको हो ।

साबिक धोबीखोलाको जग्गा सरकारले युएन पार्क विकास समितिलाई दिएको देखिन्छ । तर उक्त जग्गा भूमाफियाको कब्जामा पुगेपछि पार्कको स्वामित्व लिएको बागमती सभ्यता चुपचाप बस्यो । उक्त जग्गा बचाउने अभियानमा सक्रिय दिपेन्द्र श्रेष्ठको समूहले दबाब दिएपछि मात्र अलि चासो देखाएको हो ।

भूमाफिया जेएन तण्डुकारसँग मिलेको आरोप लागेका तिमल्सेना र विकास समितिले त्यो ठाउँमा स्वास्थ्य पार्क बनाउन दिन आनाकानी गरेको छ । सुरुमा सकारात्मक कुरा गरेका बागमतीका पदाधिकारी अल्मल्याउन लाग्नु आश्चर्यको विषय भएको सांसद श्रेष्ठ बताउँछन् । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट स्वास्थ्य पार्क बनाउन २५ लाख बजेट छुट्याइएको छ । त्यसलाई कार्यान्वयन गर्नका लागि सहमति लिन उनी बागमती पुगे । बोर्ड बैठकबाट सहमति दिने प्रतिबद्धता जनाएका बागमतीका अधिकारी एकाएक पछाडि हटे ।

जेएनसँग मिलेर उनीहरू बजेट फ्रिज गराउन लागेको स्थानीयको आरोप छ । बागमतीको भूमिका हेर्दा यसमा केही सत्यता पनि देखिन्छ ।

स्वास्थ्य पार्क बनाउने सहमतिको विषयमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख रविन्द्र बोहरा जिल्ला अदालतको निषेधाज्ञालाई देखाएर पन्छिएका छ । तर, सर्वोच्च अदालत फैसला कार्यान्वयन महानिर्देशनालयका प्रमुख वेदप्रसाद उप्रेती सर्वोच्च अदालतको फैसला रहेकाले जिल्ला अदालतको निषेधाज्ञाको कुनै अर्थ नहुने बताउँछन् ।

पार्क बनाउन रोक्न कसैले जिल्ला अदालतको निषेधाज्ञा लिएर आए सर्वोच्च अदालतले गरेको फैसला देखाइदिए हुने उनको भनाइ छ ।

यस अगाडि बागमती प्रदेशसभा काठमाडौं १(२)बाट निर्वाचित प्रदेशसभा सदस्य गणेश दुलालसँग मिलेर उक्त जग्गामा व्यापारिक कम्प्लेक्स बनाउन सक्रिय तिमल्सेना अहिले भूमाफियाको पक्षमा उभिएको भान हुन्छ ।

युएन पार्कको नाममा रहेको जग्गामा भूमाफिया जेएनले ताल्चा लगाएर कब्जा गर्दा उनी चुपचाप छन् । स्थानीयले मुद्दा लडेर फिर्ता ल्याएको जग्गा समुदायको हितमा स्वास्थ्य पार्क बनाउन सहजिकरण गर्नुपर्नेमा अध्यक्ष तिमल्सेनासहित बागमतीका पदाधिकारी भूमाफियाको हितमा उभिएको देखिन्छ ।

यो विषयमा बुद्धनगरबासी र सरकारी जग्गा संरक्षणमा रहेका सम्पूर्ण जनसमुदायहरू सचेत हुन जरुरी छ । उक्त जग्गामा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष तिमल्सेनाको विवादस्पद भूमिकालाई सहरी विकास मन्त्रालयले पनि गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, #आयेजना प्रमुख रविन्द्र बोहरा, #दिपेन्द्र श्रेष्ठ प्रदेश सांसद, #वेदप्रसाद उप्रेती

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com