२ महिनादेखि मान्छेको ज्यान जोगाउन सिंहदरबार धाइरहेका एक प्रदेश सांसद


काठमाडौं । आजभन्दा दुई महिना अगाडि काठमाडौं महानगरपालिका वडा नम्बर ३१ प्रयागमार्ग नजिकै ‘हाइवे’को जेब्राक्रसिङमा बाटो काट्ने क्रममा एकजना बालकले ज्यान गुमाएको खबर कसैले दिपेन्द्र श्रेष्ठलाई सुनायो ।

बानेश्वरबाट तीनकुने जाने मुख्य सडकमा रहेको जेब्राक्रसिङमा बाटो काट्ने क्रममा ती बालकले ज्यान गुमाएका थिए । उक्त खबर सुनेपछि बागमती प्रदेशको सांसद रहेका दिपेन्द्र रातमा निन्द्रा र दिनमा भोक भएर हिँड्न थाले । बागमती प्रदेशसभाबाट सिभिल अस्पताल नजिकै रहेको प्रयागमार्ग र आलोकनगर जोड्ने आकाशेपुल बनाउन उनले बागमती प्रदेश सरकारबाट दुईपटक बजेट हाल्न लगाएका थिए । तर, संघीय सडक विभागले उक्त सडक संघको क्षेत्राधिकारभित्र रहेको भन्दै आकाशेपुल बनाउन अनुमति दिएन । सडक विभागको अवरोधका कारण तत्कालीन बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ र राजेन्द्र गुरुङ संयुक्त पहलमा मिनभवन तीनकुने क्षेत्रमा आकाशेपुल बनाउन हालेको बजेट त्यसै खेर गयो ।

अब प्रदेशबाट पार नलाग्ने रहेछ भनेर दिपेन्द्र संघतिरै फर्किए । किनकी उनलाई अब त्यहाँ थप मान्छेको ज्यान नजाओस् भनेर जसरी पनि आकाशेपुल बनाउनु छ । त्यो ठाउँमा बालक मात्र होइन थप ४०/५० जनाको ज्यान गइसकेको छ । यस्तो संवेदनशील ठाउँमा पनि सिंहदरबार असंवेदनशील देखिन्छ ।

प्रयागमार्ग र आलोकनगर जोड्न आकाशेपुल (ओभरहेड ब्रिज) बनाउने प्रस्ताव लिएर दुई महिना अगाडि दिपेन्द्र स्थानीयसहित सहरी विकास मन्त्रालय पुगे । सहरी विकास सचिव सुरेश आचार्यसँगको छलफलपछि त्यो क्षेत्राधिकार भौतिक अन्तर्गत रहेको सडक विभागको पर्ने निष्कर्ष निस्कियो । तर, सचिव आचार्यले त्यो ठाउँमा आकाशेपुल हाल्न सहजिकरण भने गरिदिए । उनले सरोकारवाला सरकारी व्यक्तिहरुलाई फोन गरेर त्यो ठाउँको अवगत गराएर आकाशेपुल हाल्न थप सहजिकरण गरिदिन आग्रह गरे ।

सहरी विकास सचिवसँगको छलफलपछि दिपेन्द्र नेतृत्वको टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुग्यो । उक्त कार्यालयका प्रमुख सुपरिटेन्डेन्ट ईन्जिनियर अर्जुन अर्याललाई भेटेर दिपेन्द्रले आकाशेपुल बनाउनु पर्नका कारण र आवश्यकताको आधारहरु प्रस्तुत गरे ।

अर्यालले समाधानको एउटा प्रस्ताव राखे । त्यो थियो कोटेश्वरमा विवाद भएर बन्न नसकेर अलपत्र परेको आकाशेपुलको कार्यक्रम मिनभवनमा सार्ने । अर्यालले बैठकस्थलबाटै सडक डिभिजन, काठमाडौंका प्रमुख ई. नारायण न्यूरोलाई आकाशेपुलको कार्यक्रम संशोधनका लागि प्रस्ताव अगाडि बढाउन आग्रह गरे । अर्थबाट भने कार्यक्रम संशोधन गर्ने काम दिपेन्द्रले नै गर्नुपर्ने कुरा आयो ।

अर्यालसँगको भेटपछि दिपेन्द्रको टोली सडक डिभिजन, काठमाडौंका प्रमुख न्यूरोलाई भेट्न मिनभवन पुग्यो । यो कुरामा न्यूरो पनि सकारात्मक भए । त्यसको एकहप्ता पछाडि कार्यक्रम संशोधनको प्रस्ताव सडक विभाग पुल्चोकको पुल हेर्ने निकायमा पुग्यो । त्यहाँबाट अर्यालको कार्यालय हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुग्यो ।

भौतिक मन्त्रालयमा उक्त कार्यक्रम संशोधन गर्ने फायल फनफनी घुमिरह्यो । फायल जति घुम्यो प्रदेशसभा सदस्य दिपेन्द्रको टोली पनि त्यति नै घुमिरह्यो ।

कहिले भौतिक पूर्वाधार मन्त्रालयको नीति, योजना तथा  कार्यक्रम हेर्ने महाशाखाका शाखा र महाशाखा प्रमुख ई. भीमार्जुन अधिकारी त कहिले सचिव ई. केशवकुमार शर्माको कार्यकक्षमा दिपेन्द्रको टोली पुगेर प्रक्रिया अघि बढाउन आग्रह गरिरह्यो । झन्डै दुई महिना हुन लाग्दा दुई दर्जन बढी पटक धाएपछि भौतिकबाट उक्त कार्यक्रम संशोधनको कागजात अर्थ मन्त्रालयमा पुगेको छ ।

दुई महिना भनेको सिस्टमले काम गर्ने हो भने त्यो ठाउँमा आकाशेपुल बनिसक्ने समय हो ।

अर्थ मन्त्रालय समेत दिपेन्द्र नेतृत्वको टोली ३/४ पटक धाइसकेको छ । संघीय सरकार आफैले चासो राखेर उक्त ठाउँमा आकाशेपुल बनाउनु पर्नेमा प्रदेश सांसद नियमित फलोअपमा लाग्दा पनि अझै मिनभवनमा आकाशेपुल बनाउने कुरा टुंगोमा पुगेको छैन । यसले देखाउँछ नेपालको विकास प्रणालीको दुरावस्था । सरकारको आवश्यकता र प्राथमिकता  ।

२ महिनादेखि मान्छेको ज्यान जोगाउन सिंहदरबार धाइरहेका सांसद दिपेन्द्रको मिसन अझै सफल हुन सकेको छैन । उनी अझै लागिरहेका छन् । अर्थका अधिकारीहरुले त्यो कार्यक्रम संशोधन गरेर आकाशेपुल बनाउने बाटो खुला गरिदिने उनलाई आश्वासन दिएका छन् । तर कहिले हुन्छ उनी प्रतिक्षामा देखिन्छन् । नभए फेरि अर्थमा जाने दिपेन्द्रको तयारी छ ।

पुतलीसडकको राणाकालीन ढल विस्थापन गर्न दिपेन्द्र जसरी लागिपरेका थिए । मिनभवनको आकाशेपुल बनाउने काममा पनि त्यसैगरी उनी लागिपरेका छन् । आफूले गर्नुपर्ने जनहितको काम ज्यान दिएर पनि दिपेन्द्रले सफल बनाएका थुप्रै दृष्टान्त रहेका छन् ।

काम  गरेपछि दिपेन्द्रले जस्तो गर्नु भन्ने कांग्रेस नेता प्रकाशमान सिंहले सार्वजनिक रुपमै बोलेको थिए । आकाशेपुल बनाउने दिपेन्द्रको प्रयासलाई प्रकाशमानको साथ रहेको छ ।

 

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##अर्थ मन्त्रालय, #ई. अर्जुन अर्याल, #केशवकुमार शर्मा, #दिपेन्द्र श्रेष्ठ प्रदेश सांसद, #भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव, #मिनभवन आकाशे पुल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com