दिपेन्द्रको योजनामा पूर्व स्वास्थ्यमन्त्री गगन मिसिए


काठमाडौं । बागमती प्रदेशका तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको अगुवाइमा बन्न लागेको मैतीदेवी मन्दिरस्थित भोजघरमा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा मिसिएका छन् ।

स्वास्थ्य प्रयोजनका लागि समेत प्रयोग गर्न मिल्ने गरी बनाउन लागिएको उक्त मौलिक भवन आज शिलान्यास गरिएको हो ।

पूर्व स्वास्थ्यमन्त्री थापा, पूर्व संस्कृतिमन्त्री श्रेष्ठ, बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा (तामाङ), पूर्व सांसद राधा घले र काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले उक्त भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन् । तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले १ करोड रुपैयाँ विनियोजन गरिदिएको उक्त संरचना पूर्व स्वास्थ्यमन्त्री गगनको क्षेत्रमा पर्छ । उपत्यकाको संस्कृति जगेर्ना गर्न प्रवर्द्धन गर्न उक्त पूर्वाधारले महत्त्वपूर्ण योगदान दिने उनको भनाइ छ ।

उक्त भवन स्वास्थ्य प्रयोजनका लागि पनि उपयुक्त हुने किसिमको बनाइएको छ । स्वास्थ्यका खोपलगायतका सेवा उपलब्ध गराउने त्यो भवनले निकै ठूलो सहयोग पुग्ने देखिन्छ ।

पूर्वमन्त्री एवं वर्तमान प्रदेशसभा श्रेष्ठको आग्रहमा अर्थमन्त्री लामाले उक्त संरचना निर्माण गर्न ३ करोड रकमको स्रोत सुनिश्चितता गरिदिएका छन् । लामा अर्थमन्त्री भएर यो कुरा सम्भव भएको सांसद श्रेष्ठको भनाइ छ ।

आफ्नो क्षेत्रमा महत्त्वपूर्ण भवन बनाउन बजेट विनियोजन गरिदिने तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठलाई थापाले धन्यवाद समेत दिएका छन् । श्रेष्ठको योगदानलाई पूर्व स्वास्थ्यमन्त्री थापाले प्रशंसा समेत गरेका छन् ।

मैतीदेवी मन्दिर परिसरमा सुन्दर पार्क बनाउन पहल गर्ने समेत सांसद श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् । विवाद समाधन गरेर उक्त ठाउँमा पाटी भवन बनाउन उनी सफल भएका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com