काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख पौडेलको घर अगाडि किन फोडियो ढलान ?


काठमाडौं । घट्टेकुलोस्थित काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलको घर अगाडिका ढलान बाटो फुटाइएको छ ।

पिपलबोट घट्टेकुलो र मैतीदेवी घट्टेकुलो जाने बाटोलाई जोड्ने तुलसी मार्गमा विभागीय प्रमुख पौडेलको घर अगाडिको ढलान बाटो पुरै उप्काइएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा पर्ने उक्त ठाउँमा ढलान फ्यालेर फेरि त्यहिँ काम गर्न लागिएको हो ।

आर्थिक वर्षको अन्त्यमा बजेट सिध्याउने हिसाबले ढलान बाटो फ्यालेर फेरि त्यहिँ काम गर्न लागिएको स्थानीयहरु बताउँछन् । यो काम काठमाडौं महानगरपालिका वडा नम्बर २९ ले गरेको हो ।

‘एकदुई घरमा पानी पस्ने समस्या थियो । त्यो ठाउँमा ढलान काटेर सममस्या समाधान गर्न सकिन्थ्यो तर यहाँ त पुरै ढलान हटाएर त्यहिँ काम गर्न लागिएछ ।’, एक स्थानीयले स्वास्थ्य लाइभसँग भने ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडासचिव रमेश घिमिरेका अनुसार वडा र विभाग दुबैको बजेट परेको छ । वडा कार्यालयले २० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए । उक्त फोडफाडको काम भने विभाग र वडाबीचको समन्वयमा गरिएको वडासचिव घिमिरेको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले अहिले वडाको जनसंख्या र क्षेत्रफल हेरेर बजेट सीधै वडामा पठाउने गरेको छ । त्यो पैसा खर्च गर्न यसरी काम भइरहेको छ ।  १०/१५ लाख बजेट हालेर गरेको बाटो ढलान एकदुई वर्षमै बालुनामा पानी सरह भएको छ । फेरि त्यहाँ बाटो बनाउन अर्को बजेट खर्च गरिएको हो ।

राम्रो ढलान पुरै हटाएर फेरि त्यहिँ काम गर्नु भ्रष्टाचार हो । यो विषयमा स्वास्थ्य लाइभले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका समन्वयकर्ता भुपदेव शाहलाई जानकारी गराइसकेको छ । उनले यो विषयमा अनुगमन गर्ने आश्वासन दिएका छन् ।

विभागीय प्रमुख पौडेलको घर अगाडि नै महानगरको बजेट दुरुपयोग हुँदा पनि उनी मौन छन् । यो विषयमा उनले मेयरको सचिवालयलाई समेत जानकारी गराउन आवश्यक ठानेका छैनन् ।

यसरी राज्यकोषको बजेट दुरुपयोग गर्नु भ्रष्टाचार हो । यो बाटोको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल स्थलगत अध्ययन गरेर कारबाहीको दायरामा ल्याउन कदम चाल्नुपर्ने देखिन्छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का अधिकांश बाटोमा वर्षेनी यसरी नै बजेट दुरुपयोग हुँदै आएको छ । दिवाकार थापाले वडाको सबै काम गर्दै आएका छन् । यो विषयमा समेत अख्तियारले छानबिन गरोस् । रातारात ढलान फ्यालेर गरिएको उक्त काममा सम्बन्धित निकायहरुले तत्काल एक्सन लिन जरूरी छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख शाहले राम्रो उद्देश्यले वडालाई बलियो र विकास निर्माणमा सहजता होस् भनेर बजेट दिएका हुन् । यसरी नै बजेट दुरुपयोग हुने हो भने बालेनले यो विषयमा विस्तृत अध्ययन गरेर आगामी बजेटमा यस्ता कुरालाई निरुत्साहित गर्न उनको ध्यानाकर्षण हुन आवश्यक देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #रमेश सुवेदी वडा सचिव, #वडा नम्बर २९

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com