कुश ढकालले गरेको कोरोना राहत सामग्री खरिदको विषय पनि अख्तियार पुग्यो


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले गरेको कोभिड-१९ (कोरोना) राहत सामग्री खरिदको विषयमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।

वडाध्यक्ष ढकालमाथि धोबीखोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गरेको अभियोगमा छानबिन थालेको छ । धोबीखोला काण्डका साथ-साथै कोरोना राहत सामग्री खरिदको विषय पनि अख्तियारमा पुगेको हो ।

अख्तियारमा कोरोनाकालमा अनुदानमा आएको दाल-चामललगायतका राहत सामग्रीमा बिल बनाएर भुक्तानी लिएको वडाध्यक्ष ढकालमाथि उजुरी परेको छ । उनीविरुद्ध अख्तियारमा अनुदानको राहत सामग्री नै बेचेको आरोपसहित उजुरी परेको पाइन्छ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ ले कोरोनाका नाममा गरेका सम्पूर्ण खरिदमा अनियमितता भएको भन्दै भ्रष्टाचार विरोधी अभियान्ताहरुले अख्तियारमा उजुरी दर्ता गराएको देखिन्छ । यो विषयमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । अख्तियार स्रोतका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालमाथि उजुरीको चाङ लागेको छ । उनको विषयमा अख्तियारले समेत विशेष चासो देखाएको हो ।

अनामनगरको धोबीखोला जनिएको सरकारी जग्गा केदारेश्वर महादेव गुठी चौतारिया फत्तेजंग पराक्रम मौकामा लगेर नक्कली मोही खडा गर्न संलग्न वडाध्यक्ष ढकालमाथि अख्तियारको छानबिन तीव्र गतिमा अघि बढीरहेको छ । अख्तियार स्रोतका अनुसार त्यो केस अख्तियारको विशेष टोलीले हेरिरहेको छ । अख्तियार स्रोतका अनुसार अहिले कोरोना राहत सामग्री खरिदमा पनि उजुरी परेकाले त्यसमा पनि अख्तियार अगाडि बढ्न लागेको हो ।

यति मात्र होइन धोबीखोला करिडोर निर्माणका क्रममा घोटाला भएको विषयमा वडाध्यक्ष ढकालमाथि छानबिन गर्नु पर्ने भ्रष्टाचार विरोधी अभियान्ताहरुको माग छ । धोबीखोला करिडोर निर्माणको काममा अनियमितता भएको भनेर परेको उजुरी अख्तियारको तामेलीमा रहेको पाइन्छ । धोबीखोलाको बहाब क्षेत्र घटाउने काममा कुश ढकाल, इन्द्रकुमार चाम्लिङलगायत संलग्न रहेको उजुरी अख्तियारको तामेलीमा रहेको हो । मापदण्डविपरीत धोबीखोला विस्तार गरेर घोटाला गरिएको उजुरी तत्कालीन अख्तियार आयुक्त सावित्री गुरुङमार्फत सेटिङ मिलाएर तामेलीमा राखिएको चर्चा छ । अख्तियार स्रोतका अनुसार उक्त उजुरी तामेलीबाट ब्यूँताएर उक्त कार्यमा संलग्न कुश ढकाललगायतमाथि छानबिन गर्न निवेदन परेको छ । यति ठूलो बदमासीको उजुरी तामेलीमा राखेकाले अख्तियारको भूमिकामाथि नै प्रश्न उठेको छ ।

धोबीखोला ‘मास्ने-बेच्ने’ मात्र होइन करिडोर विस्तारमा भएको अनियमिततामा पनि उजुरी तामेलीबाट ब्यूँताएर संलग्नमाथि भ्रष्टाचार मुद्दा दायर गर्न अख्तियारले कदम चाल्नुपर्छ । नत्र अख्तियारको भूमिकामाथि गम्भीर प्रश्न खडा हुने निश्चित छ ।

धोबीखोला करिडोर विस्तारका क्रममा घोटाला भएको विषयमा परेको उजुरीलाई तामेलीमा राखेर अख्तियारले आफ्नै साख घटाएको टिप्पणी हुन थालेको छ । अब उक्त उजुरी तामेलीबाट ब्यूँताएर अख्तियारले आफ्नो साख जोगाउने काम गर्नुपर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अख्तियार दुरूपयोग अनुसन्धान आयोग, #काठमाडौं महानगरपालिका, #कामनपा वडाध्यक्ष कुश ढकाल, #कोरोना खरिद, #धोबीखोला, #धोबीखोला करिडोर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com