लक्षित वर्गलाई निःशुल्क उपचार नगर्ने अस्पतालको सूची सार्वजनिक गर्ने महानगरको तयारी 


काठमाडौं । कुल शय्याको १० प्रतिशत छुट्याएर लक्षित वर्गलाई निःशुल्क उपचार नगर्ने अस्पतालको सूची काठमाडौं महानगरपालिकाले सार्वजनिक गर्ने तयारी गरेको छ ।महानगरले त्यस्ता विभिन्न ६८ वटा अस्पतालको सूची सार्वजनिक गर्न लागेको हो ।

विपन्नसहित लक्षित वर्गलाई कुल शय्याको १० प्रतिशत छुट्याएर निःशुल्क उपचार नगर्ने ठग स्वास्थ्य संस्थाको सूची सार्वजनिक गर्न महानगर तातेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कानुन नमान्ने त्यस्ता स्वास्थ्य संस्थाको सूची सार्वजनिक गर्ने पक्षमा छन् । उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर कुल शय्याको १० प्रतिशत छुट्याएर लक्षित वर्गलाई निःशुल्क उपचार नगर्ने ६८ अस्पतालको सूची बुझाएका थिए । त्यस्ता स्वास्थ्य संस्थामाथि १ हप्ताभित्र अनुगमन र कारबाही नभएर बन्द गर्न बाध्य हुने मेयर शाहले स्वास्थ्यमन्त्री बस्नेतलाई भनेका थिए । तर, स्वास्थ्यमन्त्री बस्नेतले एकहप्ता बढी हुँदा पनि ती अस्पताललाई कारबाही गर्न सकेका छैनन् ।

स्वास्थ्यमन्त्री बस्नेतले झारा टार्ने प्रवृत्ति देखाएपछि महानगरपालिकाले ती स्वास्थ्य संस्थाको सूची सार्वजनिक गरेर दबाव सिर्जना गर्न खोजेको हो । मेयर शाह नेपाल फर्किएपछि त्यस्ता स्वास्थ्य संस्था बन्द गर्नेसम्मको महानगरपालिकाको तयारी देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com