मेयर बालेनलाई अल्मल्याउने रणनीतिमा स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अल्मल्याउने रणनीतिका साथ अगाडि बढेका छन् । कुल शय्याको १० प्रतिशत शय्या छुट्याएर लक्षित वर्गको उपचार नगर्ने निजी अस्पताल बन्द गर्ने बालेनको तयारपछि उनले नयाँ रणनीति अपनाएका हुन् ।

बालेनले विवरण नबुझाउने ६८ वटा स्वास्थ्य संस्थाको सूची स्वास्थ्यमन्त्री बस्नेत हस्तान्तरण गर्दै अनुगमन र कारबाही गर्न आग्रह गरेका थिए । एक हप्ताभित्र ती स्वास्थ्य संस्थालाई कारबाहीको दायरामा नल्याए बन्द गर्ने उनले चेतावनी दिएका थिए । बालेनको चेतावनीपछि अत्तालिएका स्वास्थ्यमन्त्री बस्नेतले नयाँ रणनीति अख्तियार गरेका हुन् ।

स्वास्थ्यमन्त्री बस्नेतले बालेनको नीति छल्न नयाँ रणनीति अख्तियार गरेको चर्चा छ । बालेनले स्वास्थ्य मन्त्रालयतिर  हानेको तीर स्वास्थ्यमन्त्री बस्नेतले उतैतर्फ फर्काइदिएका छन् । उनले सबै स्थानीय तहलाई पत्रचार गर्दै अनुगमन गर्न र लक्षित वर्गलाई १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार गराउने व्यवस्था गर्न आग्रह गरेका छन् । निजी अस्पतालका सञ्चालनसँग राम्रो दोस्ती बनाएका स्वास्थ्यमन्त्री बस्नेतले उनीहरुकै सल्लाहमा बालेनको प्रस्ताव छल्न यस्तो रणनीति अंगिकार गरेको स्वास्थ्य मन्त्रालयमा चर्चा छ ।

बालेनको चेतावनीपछि क्रुद्ध बनेका स्वास्थ्यमन्त्री बस्नेतले आफूले काम गरेको उनले हल्ला मात्र गरेको टिप्पणी गरेका थिए । बालेनले सूची बुझाएपछि उनले एक दुईवटा अस्पतालको अनुगमन गरेजस्तो समेत गरेका थिए । अहिले स्वास्थ्यमन्त्री बस्नेतले बालेनलाई छल्न सबै स्थानीय तहलाई पत्रचार गर्न लगाएका छन् ।

अटेरी अस्पताललाई कारबाहीको दायरामा ल्याउँदा त्यसको जस बालेनले पाउने भएपछि उनी त्यो काममा हिच्किचाइरहेको स्वास्थ्य कै अधिकारीहरू सुनाउँछन् । स्वास्थ्यमन्त्री बस्नेतले बालेनको सूचीभित्र परेका ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही नगरी स्थानीय तहलाई परिपत्र गर्नुले त्यसलाई पुष्टि गर्छ । अब बालेनले स्वास्थ्यमन्त्री बस्नेतलाई बुझाएको स्वास्थ्य संस्थाको सूची सार्वजनिक गरेर त्यस्ता स्वास्थ्य संस्थालाई बन्द गर्नेसम्मको रणनीतिका साथ काम गर्नुपर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com