निजी स्वास्थ्य संस्थाको अनुगमनका आक्रामक बन्दै काठमाडौं महानगरपालिका


काठमाडौं । सेवाग्राहीलाई ठग्ने निजी स्वास्थ संस्थामाथि काठमाडौं महानगरपालिकाले अनुगमनकालाई तीव्रता दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि निजी स्वास्थ संस्थामाथि महानगरपालिकाको स्वास्थ्य विभागले अनुगमनलाई तीव्रता दिएको हो ।

सोमबार मात्र काठमाडौं महानगरपालिका बौद्ध र जडीबुटीमा रहेका २ वटा स्वास्थ्य संस्था बन्द गराएको छ । दर्ता बिना सञ्चालनमा रहेको र उपभोक्ताबाट चर्को शुल्क लिएको पाइएपछि महानगरले ती स्वास्थ्य संस्था नै बन्द गराएको हो ।

महानगरपालिकाको टोली चाबहिलस्थित ओमसहितका अस्पतालको अनुगमन गरिसकेको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलको नेतृत्वमा ती अस्पतालको अनुगमन गरिएको हो ।

निजी अस्पतालहरु मापदण्ड अनुसार चले/नचलेको, कुल शय्याको १० प्रतिशत छुट्याएर लक्षित वर्गलाई निःशुल्क उपचार गराए/नगराएको विषयमा केन्द्रित भएर महानगरले अनुगमन थालेको देखिन्छ । पार्किङ शुल्क लिए/नलिएको, नर्सलगायतका स्वास्थ्यकर्मीलाई उचित पारिश्रमिक दिए/नदिएको र फोहोर व्यवस्थापनको पाटोलाई पनि ध्यानमा राखेर महानगरको टोलीले अस्पताल तथा स्वास्थ्य संस्थामाथि आक्रामक अनुगमन थालेको हो ।

काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्थामाथि अनुगमन र कारबाहीलाई एकसाथ अगाडि बढाएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेनले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेकाले स्वास्थ्य विभाग एकाएक सक्रिय भएको हो ।

मेयर बालेनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर मापदण्ड अनुसार र लक्षित वर्गलाई निःशुल्क उपचार नगर्ने स्वास्थ्य संस्थालाई बन्द गर्ने जानकारी गराइसकेका छन् ।स्वास्थ्य मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमन र कारबाही गर्ने दायित्व स्थानीय तहलाई प्रदान गरेको छ । स्वास्थ्य मन्त्रालयको परिपत्रसँगै काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्थामाथिको अनुगमन र कारबाहीलाई तीव्रता दिएको पाइन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य विभाग महानगर, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com