स्वास्थ्यमन्त्रीद्वारा एक महिनामा मन्त्रालयका १० गाडी बेपत्ताः सचिवको गाडी समेत तानेपछि विवाद


काठमाडौं । गत बैशाख २० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा आएका मोहनबहादुर बस्नेतको स्वास्थ्यमा दादागिरी सुरु भएको कर्मचारीहरूले बताउँन थालेका छन् । आफूबाहेक स्वास्थ्यमा कसैले जाने बुझेको छैन भन्ने घमण्डका साथ प्रवेश गरेका उनको कर्मचारीबाटै विरोध सुरु भएको छ । 

स्वास्थ्यमा उल्लेख्य काम गरेको नाटक देखाउन स्वास्थ्य संस्थाको अनुगमनमा हिँडेका उनले एकाएक अहिले दादागिरी शैलीमा अगाडि आएको कर्मचारीहरूको गुनासो छ । पारदर्शिताको कुरा गरेर थोरै अभिव्यक्ति दिएका बस्नेतले एक महिनाको बीचमा स्वास्थ्य मन्त्रालयका १० वटा गाडी गायब बनाएको खुल्न आएको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त जानकारी अनुसार स्वास्थ्य तथा जनसंख्या सचिव डा. रोशन पोखरेल चढ्दै आएको गाडी समेत मन्त्रीले खोसेका छन् । यसले स्वास्थ्य मन्त्रालयमा ठूलो तरंग ल्याएको छ । हामीले पटकपटक मन्त्रीको अनुगमन र त्यस भित्रको खेलकाबारेमा कर्मचारीलाई जानकारी गराउँदै आएका थियौं । तर, मन्त्रीको ‘एस म्यान’ बनेर फाइदा लिन्छु भन्नेहरूको गाडी तानेपछि धोती न टोपी भएको छ । अघिल्लोपटक अधिकार नै नपाएका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले २०७९ असार १७ स्वास्थ्य सचिव डा. रोशन पोखरेलले चढेको गाडी खोसेका थिए । उक्त घटनालाई बस्नेतले पनि दोहोर्याएका छन् । 

मन्त्रीप्रति कर्मचारीले देखाएको घिनलाग्दो ढोँगी प्रवृत्तिले मन्त्रीले गरेको काम ठिकै लाग्छ तर, दादागिरी शैलीमा भएका यस्ता अराजक गतिविधिले मन्त्री निरन्तर ओरालो बाटोमा लाग्ने निश्चित भएको छ । उनी स्वास्थ्य सुधार गर्न आएका हैनन् भन्ने शतप्रतिशत पुष्टि भएको छ । कर्मचारीहरूले मन्त्रीको अभियानमा बिस्तारै असहयोग गर्ने बताउँन थालेका छन् । उनले मन्त्री र राज्यमन्त्रीका ४ वटा गाडी लगेका छन् । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले हाल चढेको गाडी पनि लगेका छन् ।

सचिवले ३१६६ नम्बरको गाडी चढ्दै आएका छन् । यस अगाडि उनले प्रयोग गरेको गाडी २०७९ असार १७ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको छोराले खोसेको थियो । त्यस पछि विश्व स्वास्थ्य सङ्गठनले दिएको एउटा जडौरी गाडी सचिवले चढ्दै आएका थिए । त्यस्तै रातो नम्बर प्लेटका २ वटा र रेन्जर १ गरी १० वटा गाडी बेपत्ता बनाएका छन् । अरुका कुरै नसुन्ने बानीले उनलाई ठूलो घाटा हुने देखिएको छ ।

एक अधिकारीले भने, ‘केही समय अघि मात्रै मन्त्रालयमा बहाली भएका बस्नेत र उनका आसेपासेले मन्त्रालयमा रहेका १० ओटा सरकारी गाडी प्रयोग गरेका छन् । तर, कस कसले प्रयोग गरेको भन्नेबारे हामी पत्ता लगाउँदैछौं ।’, उनले मन्त्रालय रहेको निजी नम्बर प्लेटको २ वटा र सरकारी नम्बर प्लेटका ८ वटा गरी जम्मा १० वटा गाडी प्रयोग गरेका छन् । केही समय अघि मात्रै डब्ल्यूएचओले सचिवलाई चढ्न भनेर दिएको प्राडो समेत उनले नछाडेको एक अधिकारीले सुनाए ।

मन्त्रालयमा उनको मात्रै नभई उनका अंगरक्षकले समेत कर्मचारी थर्काउने र दादागिरी देखाउने गरेको मन्त्रालय भित्रकै कर्मचारीले सुनाएका छन् । मन्त्री र उनको टिममाथि हामीले मसिनोगरि अध्ययन थालेका छौं । विगत  २५ वर्षभन्दा बढी समयदेखि गाडी चलाउँदै आएका सवारी चालकहरू मन्त्रीको शैलीप्रति कति पनि खुसी छैनन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com