स्वास्थ्य सचिव गुरागाईंसहित १९ सचिव एक वर्षभित्र घर जाँदै


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंसहित १९ सचिव आर्थिक वर्ष २०८०/८१ मा घर जाने भएका छन् । चालू आर्थिक वर्षको अन्त्यमा घर जान लागेका पूर्व स्वास्थ्य सचिव रामप्रसाद थपलियाले राजीनामा दिएपछि आगामी आर्थिक वर्षको खेल सुरु भएको हो ।

आगामी आर्थिक वर्षमा प्रशासनका ६ जना, न्याय, कानुन र सरकारी वकीलका ५ जना, प्राविधिक ४ जना महालेखाका २ जना, परराष्ट्र १ जना र संसद सेवाका १ जना विशिष्ट श्रेणी (सचिव) घर जाने सूचीमा छन् ।

स्वास्थ्य सचिव गुरागाईं आगामी फागुन २६ गते ५ वर्षे सेवा अवधिका कारण घर जाने भएकी हुन् । उनी अब ८ महिना नेपाल सरकारको सचिवको रूपमा कार्यरत  रहने छिन् ।

निजामती सेवामा ५८ वर्षे उमेरहद रहिरहने हो भने कानुन मन्त्रालयका सचिव धनराज ज्ञवालीले यही साउन ५ गते अनिवार्य अवकाश पाउनेछन् । उनी निर्वाचन आयुक्त बन्ने दौडधुपमा लागिसकेको चर्चा छ । इश्वरी पौडेल ६ वर्ष पूरा गरेर गोइसकेकाले निर्वाचन आयोगमा १ जना आयुक्तको पद रिक्त रहेको हो । साउन २३ गते नै महालेखा परीक्षकको कार्यालयकी उपमहालेखा परीक्षक राममाया कुँवर पनि घर जाने सूचीमा छिन् ।

निजामती किताबखानाको रेकर्ड अनुसार आगामी भदौ ४ गते कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाल ५८ वर्षे उमेर हदका कारण घर जाँदैछन् । उनी संघीय मन्त्रालयको सचिवको अनुभव नसम्हाली घर जाने सम्भावना बढेको छ ।

शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ असोज ११ गते र संघीय संसद्मा कार्यरत सचिव पदमप्रसाद पाण्डेय असोज २१ गते घर जाने सूचीमा छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी पनि ५८ वर्षे उमेद हदका कारण कात्तिक ११ गते घर जाने छन् । ५८ वर्षे उमेर हदका कारण नै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल मंसिर २० गते अनिवार्य अवकाश पाउने देखिन्छ । तर उनी त्यस अगाडि नै राजदूत भएर जाने प्रवल सम्भावना छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका ऊर्जा सचिव दिनेशकुमार घिमिरे पुस ९ गते ५ वर्षे सेवा अवधिका कारण घर जाँदैछन् । त्यसै दिन नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेल पनि घर जाने भएका हुन् ।

माघ १२ गते महालेखापरीक्षक कार्यालयका उपमहालेखापरीक्षक महेश्वर काफ्ले माघ १२ र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर माघ २९ गते घर जानेछन् । कुँवर न्यायाधीश भएर जाने सम्भावना पनि उत्तिकै छ ।

मुखमा आएको मुख्यसचिव खोसिएका युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम फागुन ६ गते ५ वर्षे सेवा अवधिका कारण घर जाने सूचीमा छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी पनि ५ वर्ष  सेवा हदकै कारण चैत्र ११ गते घर जानेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी २०८१ वैशाख १७ गते घर जानेछन् । त्यसै दिन महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थी  घर जाने सूचीमा छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव रेवतीरमण पौडेल २०८१ वैशाख २८ गते अवकाश हुने सूचीमा रहेका छन् । त्यस्तै जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारी २०८१ असार १३ गते घर जानेमा परेका छन् ।

आगामी आर्थिक वर्षभित्र १९ जना विशिष्ट श्रेणीमा उक्लिने अवसर पाउने छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## सचिव, #देवकुमारी गुरागाईं, #निजामती सेवा, #विशिष्ट श्रेणी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com