बुद्धनगरमा स्वास्थ्य पार्क बनाउने बाटो खुल्यो, भूमाफियाको जग्गा हडप्ने षड्यन्त्र तुहियो


काठमाडौं । बुद्धनगरस्थित युनएन पार्कको जग्गामा स्वास्थ्य पार्क बनाउने बाटो खुलेको छ । काठमाडौं जिल्ला अदालतले भूमाफिया जेएन तण्डुकारले हालेको निषेधाज्ञासहितका मुद्दा खारेज गरेपछि उक्त ठाउँमा स्वास्थ्य पार्क बनाउने बाटो खुलेको हो ।

जिल्ला न्यायाधीश बासुदेव पौडेलको इजलासले साबिक धोबीखोलाको सरकारी जग्गा खाने षड्यन्त्रका साथ हालेको मुद्दा खारेज गरिदिएपछि अब उक्त ठाउँमा स्वास्थ्य पार्क बन्ने निश्चित भएको छ ।

सर्वोच्च अदालतको फैसला बमोजिम काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित सिट नम्बर ११४५–२५ कित्ता नम्बर २९ को २ रोपनी ३ आना १ दाम जग्गा सरकारको नाममा आएको थियो । अहिलेको बजार मूल्यअनुसार यो जग्गालाई ५० करोड रुपैयाँभन्दा बढी पर्ने जग्गामा फेरि भूमाफिया जेएन तण्डुकारले आँखा लगाए । उनलाई स्थानीय केही कानुन व्यवसायीहरूले साथ दिएका थिए । जिल्ला अदालतले सरकारी जग्गा संरक्षणको पक्षमा फैसला गरेको छ ।

उक्त जग्गा जोगाउन बुद्धनगर टोल सुधार समितिका किरण तण्डुकारको तर्फबाट वरिष्ठ अधिवक्ता रामचन्द्र खड्का, देवराज कटवाल, सुनिल सापकोटालगायतले बहस गरेका थिए । उनीहरूको दमदार बहसपछि जिल्ला अदालतले भूमाफिया जेएन तण्डुकारलगायतले हालेको मुद्दा खारेज गरिदिएको हो ।

भूमाफिया जेएन तण्डुकारलगायतले हडपेको बुद्धनगर मेरो हस्पिटलसँगैको २ रोपनी बढी सरकारी जग्गा बागमती प्रदेशका उक्त क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठको सक्रियतामा फिर्ता आइसकेको छ । सांसद श्रेष्ठको निकै लामो प्रयासपछि भूमाफिया पूर्णबहादुर तण्डुकार, दुर्गाबहादुर तण्डुकारलगायतको नामबाट पुनः नेपाल सरकार युएन पार्क विकास समितिको नाममा फिर्ता आएको हो ।

भूमाफिया जेएन तण्डुकारको चलखेलमा उक्त सरकारी जग्गा पूर्णबहादुर तण्डुकार, दुर्गाबहादुर तण्डुकारलगायतको नाममा दर्ता भएको थियो । उक्त क्षेत्रका जनप्रतिनिधि समेत रहेका दिपेन्द्रले आफ्नो खल्तीको पैसा हालेर सर्वोच्च अदालतमा भूमाफियाकोविरुद्धमा मुद्दा समेत लडेर उक्त जग्गा फिर्ता ल्याउन सफल भएका हुन् । सर्वोच्चको फैसलापछि भूमाफिया जेएन तण्डुकार जिल्ला अदालत गए । सांसद श्रेष्ठले बुद्धनगरको उक्त  स्वास्थ्य पार्क बनाउन बजेट हालेपछि जिल्ला अदालतले निषेधाज्ञाको आदेश जारी गर्‍यो । अदालतको आदेशपछि उनले हालेको बजेट पटकपटक फ्रीज भएको छ । अब भने जिल्ला अदालतले भूमाफिया जेएन तण्डुकारको स्वास्थ्य पार्क बनाउन नदिएर सरकारी जग्गा खाने षड्यन्त्र असफल बनाइदिएको छ ।

भूमाफियाहरुले साबिक धोबीखोला बगेको उक्त जग्गा दुषित दर्ता गरेर खाएपछि बुद्धनगर विकास समितिका मानकुमारी श्रेष्ठ, प्रियनाथ खनाल, किरण तण्डुकार, रमेश कुमार श्रेष्ठलगायतले उक्त जग्गा संरक्षणका लागि सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । तर भूमाफिया जेएन तण्डुकारलगायतको धम्कीपछि उनीहरूले उक्त जग्गा भूमाफियाको नामबाट सरकारको नाममा फिर्ता ल्याउन सांसद दिपेन्द्रलाई गुहारे । त्यतिबेला वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने, रामचन्द्र खड्का, देवराज कटुवाललगायतले नि:शुल्क मुद्दामा बहस गरेको दिपेन्द्र बताउँछन् । अहिले पनि उक्त जग्गा जोगाउन ती अधिवक्ताहरूले सांसद श्रेष्ठलाई साथ दिएका छन् । 

सर्वोच्चको फैसलापछि पनि भूमाफियाहरुले उक्त जग्गा कब्जा गरिरहेपछि दिपेन्द्रले मकै भाँचेर सरकारी स्वामित्वमा ल्याउन सफल भएका थिए । युएन पार्कमा अधिकारीलाई पटकपटक उक्त जग्गाको संरक्षण गर्न आग्रह गर्दा नटेरेपछि मुद्दा लड्नेदेखि मकै भाँच्ने र पूर्जा बनाउने काममा समेत निरन्तर लागेको उनी सुनाउँछन् । जिल्ला अदालत पनि सांसद दिपेन्द्रको अभियानको पक्षमा उभिएको छ । अब उक्त ठाउँमा बुद्धनगरवासीका लागि सुन्दर स्वास्थ्य पार्क बनाउने सांसद दिपेन्द्रको योजना छ ।

 

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #दिपेन्द्र श्रेष्ठ प्रदेश सांसद, #बुद्धनगर विकास समिति, #बुद्धनगरस्थित सरकारी जग्गा, #युएन पार्क, #स्वास्थ्य पार्क

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com