स्वास्थ्य लाइभ प्रभाव

अख्तियार तातेपछि कोभिडको १० करोड बढी फर्जी भुक्तानी रोकियो


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तातेपछि कोभिडको १० करोड बढी फर्जी भुक्तानी रोकिएको छ । नक्कली भुटानी शरणार्थी काण्डलाई बिर्साउने गरी अर्थ मन्त्रालयबाट भएको कामलाई स्वास्थ्यले रोकेको हो ।

स्वास्थ्य लाइभले कोभिडको नाममा नक्कली बिरामी देखाएर निजी अस्पताललाई करौडौं रुपैयाँ दिने गरी भएको चलखेल सार्वजनिक भएपछि स्वास्थ्यमा गएर रोकिएको हो । तर, अर्थ मन्त्रालयले स्वास्थ्यलाई ‘बाइपास’ गरेर स्थानीय तहमा सीधै पठाइएको २० करोड बढी रुपैयाँमध्ये धेरै रकम भने निजी अस्पतालको पोल्टामा पुगिसकेको अर्थ कै अधिकारीहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयको प्रतिवेदनविपरीत अर्थ मन्त्रालयले कोभिडको उक्त फर्जी भुक्तानी गर्न बजेट निकासा गरेको थियो । स्थानीय तहका सीधै पठाएको २० करोड बढी बजेटको अवस्था प्रस्ट भइनसके पनि स्वास्थ्यमा आएको १० करोड बढी रकम रोकिएको छ । मेडिकल माफियाहरूले अर्थ मन्त्रालयका उच्च पदस्थहरुलाई प्रभावित पारेर कोभिडका नक्कली बिरामीको नाममा बजेट निकासा गराउन सफल भएका थिए । तर, स्वास्थ्य लाइभको निरन्तर निगरानी र खबरदारीका कारण उक्त बजेट उनीहरूले स्वास्थ्यबाट फुत्काउन सकेका छैनन् ।

नक्कली भुटानी शरणार्थी काण्डको अर्को शृंखला मच्चाउने गरी मेडिकल माफियाहरु निकै सक्रिय बनेको पाइन्छ । उनीहरूलाई अर्थमन्त्री प्रकाशशरण महतले साथ दिएको बताइन्छ । स्वास्थ्य मन्त्रालयको प्रशासनिक नेतृत्वको सुझबुकका कारण अर्थको बदमासी स्वास्थ्यमा आएर रोकिएको छ ।

स्वास्थ्य लाइभले कोभिडको नक्कली बिरामीका नाममा अर्थ मन्त्रालयल करोडौं रकम निकासा गरेको खुलासा गरेपछि अख्तियारले चासो देखाएको थियो । अख्तियारले कर्‍यापझ्याप पार्ने सुइको पाएपछि स्वास्थ्यका अधिकारीहरु रोकिएका छन् । यो विषयमा अख्तियारले विस्तृत छानबिन गरेर संलग्न अधिकारीहरुलाई भ्रष्टाचार मुद्दा दायर गर्नु पर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ##अर्थ मन्त्रालय, #कोभिड नक्कली, #नक्कली भुटानी शरणार्थी काण्ड, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com