भरोसा अस्पताल नजिकै २० करोडको सरकारी जग्गा हडपेर व्यक्तिको रजाइँ

मासिक ५ लाख भाडा खाँदै, के गर्लान् बालेनले ?


काठमाडौं । काठमाडौंको मुटु नयाँ बानेश्वरस्थित भरोसा अस्पताल नजिकै २० करोड पर्ने सार्वजनिक/सरकारी जग्गामा व्यक्ति विशेषले रजाइँ गरिरहेको पाइएको छ । काठमाडौं महानगरपालिकाका अनुसार जनार्दन र सुदर्शन आचार्यले उक्त जग्गामा अनधिकृत संरचना बनाएर भाडा असुल्दै आएको उजुरी परेको छ ।
बलभद्र टोल विकास समितिले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई निवेदन दिएको हो । आचार्य परिवारले विगत १० वर्षदेखि आधा रोपनी सार्वजनिक/सरकारी प्रकृतिको जग्गा हडपेर मासिक ५ लाख बढी भाडा उठाउँदै आएका छन् । यो बदमासी रोक्न स्थानीयहरू एकजुट भएर लागिपरेका हुन् ।


काठमाडौं महानगरपालिका वडा नम्बर ३१ देवकोटा सडकस्थित सोही सडकमा जोडिएको शिवशिखर फार्मेसीको ठीकविपरीत दिशामा रहेको साबिक वडा नम्बर १० सिट नम्बर १०२११४६०९ कित्ता नम्बर ६८,६९ र ३८८ मा रहेको १० आना जग्गामा व्यक्ति विशेषले अनधिकृत संरचना बनाए भाडा खाइरहेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा स्थायी बसोबासी सरिता पौडेललगायतले काठमाडौं महानगरपालिकाका दिएको उजुरीमा उक्त जग्गा हालसम्म कोही कसैको नाउँमा दर्ता स्रेस्ता कायम नभएको सरकारी/सार्वजनिक भएको दाबी छ ।


हालको बजार भाउको हिसाबले झन्डै २० करोड पर्ने उक्त जग्गा आचार्य थरका भूमाफियाले भाडामा लगाएर खाएको उजुरीमा उल्लेख छ । उनीहरूले सम्बन्धित निकायबाट स्वीकृति नलिई, सरकारलाई बुझाउनु पर्ने कर, राजस्व समेत नतिरी, नबुझाइ ६ वटा सटर हाली चस्मा पसल, स्टेशनरी, फर्निचर, शान्दार मःमलगायतलाई भाडामा दिएको पाइएको छ । स्थानीयले महानगरपालिकामा दिएको उजुरीमा आचार्य थरका भूमाफियाले ६ वटा सटरबाट मासिक ५ लाख रुपैयाँ भाडा उठाउँदै आएको दाबी गरिएको छ ।
नयाँ बानेश्वरको पुरानो ह्वाइट हाउस कलेजसँगै बनेको उक्त अनधिकृत संरचना हटाउन सचेत स्थानीयहरू काठमाडौं महानगरपालिकामा पुगेको देखिन्छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ कार्यालयले समेत ध्यान नदिएपछि स्थानीयहरू मेयर बालेनसमक्ष पुगेका छन् ।
भूमाफियाहरुले काठमाडौंको मुटु नयाँ बानेश्वरमा रहेको करोडौंको सरकारी/सार्वजनिक कर्लप्पै खान खोजेपछि स्थानीयहरू एकजुट भएर बचाउन लागिपरेका छन् ।

काठमाडौं महानगरपालिकाका कानुन सहायक निर्देशक देविकुमार तिमिल्सिनाका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर ३१ स्थित भलभद्र टोल विकास समितिले आचार्य दाजुभाइविरूद्ध काठमाडौंमा उजुरी हालेको छ । आचार्यहरूलाई उजुरीका विषयमा पत्र काटेर प्रतिउत्तर समेत आइसकेको उनले जानकारी दिए ।
‘आचार्यहरूले जिल्ला र उच्च अदालतमा मुद्दा हारेर दोहोर्‍याई पाउनका लागि सर्वोच्च अदालतमा निवेदन दिएका रहेछन् त्यही विषय प्रतिउत्तरमा उल्लेख गरेका छन् ।’, सहायक निर्देशक तिमिल्सिनाले भने ।


काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना बनाएर भाडामा खाइरहेको ठाउँमा स्थलगत अनुगमन गर्ने तयारी थालेको छ । एक/दुई दिनभित्रै स्थलगत अनुगमन गर्ने सहायक निर्देशक तिमिल्सिनाले स्वास्थ्य लाइभलाई जानकारी दिए ।
अदालतमा मुद्दा हारेर पनि भूमाफिया आचार्यहरूले सार्वजनिक जग्गामा भाडा खाइरहेको भेटिएको छ । काठमाडौं महानगरपालिकासँग नक्सा पास स्वीकृति बेगर व्यक्ति विशेषकै जग्गामा बनेको संरचना भत्काउने अधिकार हुन्छ । यो त उनीहरूको नाममा नभएको जग्गामा अनधिकृत संरचना बनाएर मासिक लाखौं भाडा खाइरहेको देखिन्छ । न त भूमाफियाहरूले राज्यलाई कुनै कर बुझाएका छन् ।
भूमाफियाहरूले अनधिकृत रूपमा बनाएर भाडा असुली गरिरहेका ती अवैध संरचनाका बालेनले तत्काल डोजर चलाउनुको विकल्प छैन । यहाँ सरासर लुट धन्दा चलिरहेको देखिन्छ ।
त्यस्तै सँगैको श्रेष्ठ तन्दुरी फास्ट फुडले पनि नक्सा पास नगरी संरचना बनाएको पाइएको छ । यो विषयमा पनि काठमाडौं महानगरपालिकाले खोजी गर्न आवश्यक छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #काठमाडौं महानगरपालिका, #भरोसा अस्पताल, #भूमाफिया आचार्य

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com