स्वास्थ्य लाइभ फलोअप

भरोसा अस्पताल नजिकैको अनधिकृत संरचनामा डोजर लगाउने बालेनको तयारी


काठमाडौं । काठमाडौंको मुटु मध्य बानेश्वरस्थित भरोसा अस्पताल नजिकैको अनधिकृत संरचना डोजर लगाउने तयारी भएको छ । आचार्य परिवारले हडपेर दसौं वर्षदेखि भाडा खाइरहेको उक्त अनधिकृत संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाउने तयारी गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को निर्देशनमा शुक्रबार महानगरपालिकाका प्राविधिकले रेखाङ्कन गरिसकेका छन् । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेले एक दुई दिनभत्रै ती अनधिकृत संरचनामा डोजर चलाउने बताए । स्वास्थ्य लाइभले भरोसा अस्पताल नजिकैको उक्त जग्गामा व्यक्ति विशेषले रजाइँ गरिरहेको तथ्य सार्वजनिक गरेपछि बालेनले चासो देखाएका हुन् । त्यसै अनुसार महानगरले शुक्रबार रेखाङ्कन गरेको हो ।

पुरानो ह्वाइट हाउस कलेजसँगैको २० करोड पर्ने सार्वजनिक/सरकारी जग्गामा व्यक्ति विशेषले रजाइँ गरिरहेका छन् । जनार्दन र सुदर्शन आचार्यले उक्त जग्गामा अनधिकृत संरचना बनाएर भाडा असुल्दै आएको काठमाडौं महानगरपालिकामा उजुरी परेको थियो ।

बलभद्र टोल विकास समितिले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसमक्ष निवेदन दिएको हो । आचार्य परिवारले विगत १० वर्षदेखि १० आना सार्वजनिक/सरकारी प्रकृतिको जग्गा हडपेर मासिक ५ लाख बढी भाडा उठाउँदै आएका छन् । यो बदमासी रोक्न स्थानीयहरू एकजुट भएर लागिपरेका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ देवकोटा सडकस्थित सोही सडकमा जोडिएको शिवशिखर फार्मेसीको ठीकविपरीत दिशामा रहेको साबिक वडा नम्बर १० सिट नम्बर १०२११४६०९ कित्ता नम्बर ६८ र ६९ मा रहेको १० आना जग्गामा व्यक्ति विशेषले अनधिकृत संरचना बनाए भाडा खाइरहेका छन् । उक्त विषयमा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का स्थायी बसोबासी सरिता पौडेललगायतले काठमाडौं महानगरपालिकाका उजुरी दिएका हुन् । उजुरीमा उक्त जग्गा हालसम्म कोही कसैको नाउँमा दर्ता स्रेस्ता कायम नभएको सरकारी/सार्वजनिक भएको दाबी छ । त्यो कुरालाई मालपोत कार्यालय डिल्लीबजारले पनि पुष्टि गरेको छ ।

स्थानीयले दिएको उजुरीमा सम्बन्धित निकायबाट स्वीकृति नलिई, सरकारलाई बुझाउनु पर्ने कर, राजस्व समेत नतिरी, नबुझाइ ६ वटा सटर हाली चस्मा पसल, स्टेशनरी, फर्निचर, शान्दार मःमलगायतलाई भाडामा दिएको उल्लेख छ । आचार्य थरका भूमाफियाले ६ वटा सटरबाट मासिक ५ लाख रुपैयाँ भाडा उठाउँदै आएको स्थानीयको आरोप छ । अब भने भूमाफियाले बनाएको उक्त अनधिकृत संरचनामा बालेनको डोजर चल्ने छ ।

काठमाडौं महानगरपालिकाले रेखाङ्कन गर्ने बेलामा अनधिकृत संरचना बनाएर भाडा खाने सुदर्शन आचार्यले स्थानीयमाथि ढुंगा समेत हान्ने प्रयास गरेका थिए । स्थानीयहरू एकजुट भएपछि उनी हच्किएका थिए । अनधिकृत संरचना खडा गरेर भाडा असुल्ने आचार्यको दादागिरी अझै जारी छ । बालेनको डोजरले मात्र उनको दादागिरी ठीक ठाउँमा आउने स्थानीयहरूबीच चर्चा छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #बलभद्र टोल विकास समिति, #भरोसा अस्पताल, #भूमाफिया आचार्य, #मध्यबानेश्वर, #राजु पाण्डे महानगर प्रहरी बल प्रमुख, #ह्वाईट हाउस कलेज

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com