ग्लोबल फण्ड र सेभ द चिल्ड्रेनद्वारा प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनीलाई हस्तान्तरण 


बुटवल । ग्लोबल फण्ड र सेभ द चिल्ड्रेनले प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी प्रदेशलाई हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच उक्त प्रदेश प्रयोगशाला लुम्बिनीलाई हस्तान्तरण गरेको हो ।

एचआइभी एड्स, क्षयरोग र मलेरियाविरुद्ध ग्लोबल फण्डको अनुदान सहयोगमा बुटवलमा नवनिर्मित प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन सेभ द चिल्ड्रेनले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । ८ करोड ७० लाख २० हजार ४ सय २० रुपैयाँको लागतमा निर्मित उक्त प्रयोगशाला ग्लोबल फण्डका वरिष्ठ पोर्टफोलियो व्यवस्थापक स्टेफन स्टोजानोभिक, सेद द चिल्ड्रेन नेपाल र भुटान कन्ट्री अफिसकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले संयुक्तरुपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई सोमबार एक कार्यक्रमबीच विधिवतरुपमा हस्तान्तरण गरे ।

अत्याधुनिक सुविधासम्पन्न उक्त प्रयोगशालाबाट कोभिड–१९ र क्षयरोग लगायत अन्य विविध खालका सरुवा रोगहरुको उच्चस्तरीय माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षण देखि प्याथोलोजिकल र विशिष्टकृत मलिक्युलर विश्लेषण सम्मका सेवा प्रदान गरिनेछन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रयोगशालामा उपलब्ध हुने सेवाहरुको गुणस्तर तथा विश्वसनीयता कायम गर्नु मात्र नभइ लुम्बिनी प्रदेश र अन्य प्रदेशहरुमा समेत स्वास्थ्य सेवासम्बन्धी आवश्यकता परिपूर्ति गर्ने तर्फ अघि बढ्न प्रदेश सरकार र स्थानीय सरकार सबैको साझा दायित्व भएको बताए । प्रयोगशालाले प्रदान गर्ने गुणस्तरीय सेवाको दिगोपनको लागि प्रदेश सरकारले रकम विनियोजन गर्ने प्रतिवद्धता मुख्यमन्त्री चौधरीले गरे ।

सोही कार्यक्रममा बोल्दै सेद द चिल्ड्रेन नेपाल र भुटान कन्ट्री अफिसकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै, सेवा दिने र काम गर्ने समुदायहरुको लागि स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तर बनाई स्वास्थ्य सेवामा असमानता घटाउन आफ्नो तर्फबाट निरन्तर सहयोग रहने स्पष्ट पारे । उनले नेपाल सरकारसँग सहकार्य गर्ने प्रविबद्धतामा पुनः जोड दिए ।

ग्लोबल फण्डका वरिष्ठ पोर्टफोलियो व्यवस्थापक स्टेफन स्टोयानोभिकले प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा एक महत्त्वपूर्ण भूमिका खेल्ने बताए । नेपालको स्वास्थ्य सेवा क्षेत्रलाई थप सुधार गर्न संघीय, प्रदेश र जिल्ला स्वास्थ्य निकायहरुसँग थप सहकार्य गर्ने आशा व्यक्त गर्दछु उनले थपे ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य सेवा पूर्वाधारको सुदृढीकरण गर्ने र स्वास्थ्य समस्याको समयमै सही परीक्षण र उपचार सुनिश्चित गर्नेे लक्ष्य राखेको छ । यस्तै यस प्रयोगशालाले लुम्बनी प्रदेशमा सञ्चालनमा रहेका अन्य स्वास्थ्य प्रयोगशालाहरुको नियमन गर्न प्रदेश र स्थानीय सरकारहरुलाई सकृयरुपमा सहयोग गर्ने उदेश्य रहेको छ ।

यसका साथै, क्षमता सुदृढीकरण कार्यक्रमहरुमार्फत यस प्रयोगशालालले लुम्बिनी प्रदेशका प्रयोगशालाहरुमा कार्यरत जनशक्तिको क्षमता अभिबृद्धि गर्ने, प्रयोगशालाहरुलार्ई प्राविधिक सहायता प्रदान गर्ने, प्रयोगशालाहरुको उच्च गुणस्तर कायम राख्ने र सर्वसाधारणलाई न्यून मूल्यमा प्रयोगशालासम्बन्धी सेवा दिनको लागि समेत सहयोग गर्नेछ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com