के होला डा. अप्रेती दाजुभाइले हडपेर पाठशाल स्कुललाई भाडामा लगाएको पर्ती जग्गा ?


काठमाडौं । डा. प्रेमरमण उप्रेती र दिपकरमण उप्रेतीले किर्ते दर्ता गराएको नयाँ बानेश्वर थापागाउँस्थित झन्डै एक रोपनी पर्ती जग्गामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । स्वास्थ्य लाइभले डा. उप्रेती दाजुभाइले हडपेको उक्त पर्ती जग्गाको विषयमा समाचार प्रकाशित गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गरिरहेको छ । यो विषयमा चाँडै टुंगोमा पुगिने अख्तियार उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

पाठशाला स्कुलले डा. उप्रेती दाजुभाइसँग विवादित उक्त जग्गा भाडामा लिएर पार्किङ बनाएको छ । स्थानीयहरुले पाठशाला स्कुलको कदमको विरोध गरेपनि ‘किर्ते’ जग्गाधनीलाई स्कुलले भाडा बुझाएर सार्वजनिक प्रयोजनमा प्रयोग भइरहेको जग्गा कब्जा गरेको छ । यसले उक्त स्कुलको समाजिक प्रतिष्ठामाथि नै आँच पुग्ने देखिन्छ ।

तत्कालीन महादेवस्थान गा.वि.स. छ (ख) कित्ता नम्बर ७९ को को करिब २ रोपनी जग्गा पाटनका व्यापारी कुल नरसिंहले नून छरेर छाडेपछि पर्ती भनेर दर्ता भएको थियो । तर उक्त नून छरेर छाडेको पर्ती जग्गा डा. उप्रेती दाजुभाइले दुषित र किर्ते दर्ता गराएको देखिन्छ । सरकारी प्रकृतिको उक्त जग्गा मिलेमतोमा डा. उप्रेती दाजुभाइको नाममा पुगेको हो । न लगत मिल्छ, न कसैसँग खरिद गरेको प्रमाण छ न त दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गरेको छ । यी कुनै प्रक्रिया पूरा नगरी सार्वजनिक प्रयोजनका लागि प्रयोग हुँदै आएको उक्त जग्गा डा. उप्रेती दाजुभाइको नाममा पुगेको देखिन्छ ।

छोरा हुने आशामा शाक्यले नून छरेर छाडेको पर्ती जग्गा किर्ते गरेर डा. उप्रेती दाजुभाइले रजाइँ गरिरहेको पाइन्छ । अहिले पाठशाला स्कूललाई पार्किङका लागि भाडामा दिइएको उक्त जग्गा किनबेचको तयारी हुँदैछ ।

स्थानीयको भावनलाई चोट पुर्‍याउँदै पर्ती जग्गामा उप्रेती परिवारसँग मिलेर पार्किङ बनाएको छ । यसमा पाठशालाको पनि मिलेमतो रहेको स्थानीयको आरोप छ । सार्वजनिक धारा समेत गायब बनाएर पाठशालाले जस्ताको कम्पाउन्ड बनाएको छ ।

उक्त नून छरेर सार्वजनिक प्रयोजनका लागि छाडेको जग्गामा फिल्डबुकमा प्र. बनाएर निलो र कालो मसीले लेखेको प्रस्ट छ । गलत ठाउँमा वडा सदस्य सुभद्राको हस्ताक्षर छ । आफ्नै परिवारको मान्छे वडा सदस्य हुँदा उप्रेती दाजुभाइले दुरुपयोग गरेको देखिन्छ ।

नापी नक्सामा ७ नम्बर उल्लेख भएको उक्त जग्गा हरियो रङले लेखिएको छ । नापी कार्यालय मैतीदेवीमा झुत्रो अवस्थामा रहेको नापी हुँदाको नक्सामै हरियो रङ देखेपछि तत्कालीन नापी अधिकृत बानेश्वर निवासी राजेन्द्र मरठ्ठाले बदमासी भएको सुनाए । स्वास्थ्य लाइभका प्रतिनिधिसँगै नापी कार्यालय पुगेका उनले यसमा बदमासी भएको दाबी गरे ।

डा. प्रेमरमण अहिले ललितपुरको बालकुमारीमा बस्दै आएका छन् । उनलाई तत्काल पत्र काटेर अख्तियारले बयान लिनुपर्ने स्थानीयको माग छ । उनका भाइ दिपकरमण क्यानडा पुगेका छन् । पर्ती जग्गा किर्ते गरेर खाने उनलाई पनि प्रक्रिया पुर्‍याएर नेपाल झिकाउन पर्ने अधिकांश स्थानीयको आवाज छ । नून छरेको जग्गा खाने डा. उप्रेती दाजुभाइमाथि हदैसम्मको कानुनी कारबाही हुनुपर्ने कुरामा स्थानीयहरु  एकजुट छन् ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #डा. उप्रेती परिवार, #थापागाउँ पर्ती जग्गा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com