समान्य प्रशासनसचिव डा. पुष्कर र मन्त्री देवीबीच खटपट, हटाउन डा. राउतको पर्खाइमा


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्री र सचिवबीच खटपट सुरू भएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेकी अनिता देवी र सचिव डा. कृष्णहरि पुष्कर कर्णबीच खटपट सुरु भएको हो । सचिव डा. पुष्करले मन्त्रीको सहमतिबिनै खुसुखुसु कर्मचारी सरूवा गरेपछि मन्त्री र सचिवबीचको द्वन्द्व सतहमा आएको छ ।

मन्त्री अनिताले केही समयका लागि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न आग्रह गर्दा पनि सामान्य प्रशासन सचिव डा. पुष्करले पुरानो मिति राखेर भटाभट सरुवाको पत्र दिएको फेला परेपछि विवाद सुरु भएको हो । चितवनको खैरहनी नगरपालिकालगायतका झन्डै दुईदर्जन स्थानीय तहमा पुरानो मिति (ब्याक डेट) राखेर प्रमुख प्रशासकीय अधिकृत पठाएपछि लफडा सुरू भएको हो । मेयर शशी खनियाँले ४ दिन अगाडि दिएको नाम अस्वीकार गरेर सचिव डा. पुष्करले अर्के मान्छेलाई प्रमुख प्रशासकीय अधिकृत पठाएपछि मन्त्रालयमै लफडा परेको हो । मेयर खनियाँले सचिव डा. पुष्करलाई ‘नगरपालिका तपाईं चलाइने की मैले’ भनेर झपारेपछि उनी कालोनिलो बनेको चर्चा छ ।

मन्त्रीले केही दिनलाई सरुवाको काम रोकौं सल्लाह गरेर गरौला भन्दाभन्दै सचिवले फास्ट ट्रयाकमा सरुवा गर्न थालेपछि विवाद सचिव सरुवासम्मको तहमा पुगेको हो । आर्थिक चलखेलमा उक्त सरुवा भएको मन्त्रीको सचिवालयले आशंका गरेको छ ।

मन्त्रीको निजी सचिव भनेर सचिव डा. पुष्करले पुष्पा झालाई खटाए पाइएपछि त्यो कुरा पनि विवादमा परेको छ । सचिव डा. पुष्करले मन्त्रीले आइफोन मागिन् भनेर गलत प्रचार गराएको मन्त्रीको सचिवालयको बुझाइ देखिन्छ । डा. सिके राउत काठमाडौंबाहिर रहेकाले सचिव पुष्करलाई हटाउने विषय बिलम्व भएको मन्त्री निकट एक व्यक्तिले स्वास्थ्य लाइभलाई बताए ।

 स्रोतका अनुसार सामान्य प्रशासन सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायलाई ल्याएर उनको ठाउँमा डा. पुष्करलाई पठाउने तयारी भइरहेको छ । डा. राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि सम्भवतः मंगलबार (भोलि)को मन्त्रिपरिषद्को बैठकबाट सचिव सरुवा गराउने तयारी भइरहेको हो । डा. राउत सचिव पुष्करबाट पार लाग्दैन भन्ने निष्कर्षमा पुगिसकेका छन् ।

अमनलाल मोदीसँग टक्कर लिएका सचिव डा. पुष्करले अनिता देवीलाई पनि गुमराहमा राख्न खोजेको मन्त्रालय कै उच्च अधिकारीहरू टिप्पणी गर्छन् । जनमत पार्टीका अध्यक्ष डा. राउतले मन्त्रालयको सचिवदेखि निजी र स्वकीय सचिवसम्म मधेशी समुदायको नराख्न खोजेको मन्त्रालयभित्र चर्चा छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. सिके राउतको जनमत, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, #सामान्य प्रशासन सचिव डा. कृष्णहरि पुष्कर, #सामान्य प्रशासनमन्त्री अनिता देवी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com