भुइँ मान्छेका लागि खुसीको कुरा, सप्लायर्सको बदमासी पछि वीरमा नयाँ टोमोथेरापी जडान भयो  


काठमाडौं ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर गणेश गुरुङ र अस्पताल निर्देशक प्राध्यापक डाक्टर भुपेन्द्र बस्नेतको कार्यकालमा खरिद गरिएको टोमोथेरापी मेसिन हाल सञ्चालनको तयारीमा छ ।

लाइफलाईन इन्टरनेशनल नामक एक सप्लायर्सले खरिद गरेको उक्त मेसिन प्राविधिक समस्याका कारण लामो समय शसस्त्र प्रहरी बल बलम्बुमा राखिएको थियो । जडान सम्मको काम सप्लायर्सको हुने भएकाले पुन कम्पनीले नयाँ मेसिन उपलब्ध गराएको छ ।

बिग्रिएको उपकरण भिराएर जनताको स्वास्थ्यमाथि गर्न लागेको खेलवाडलाई डा बस्नेत र उनको टिमले विफल बनाएका छन् । जसका कारण कम्पनीले नयाँ मेसिन पठाउन बाध्य भएको छ । अब, वीर अस्पतालमा क्यान्सरका बिरामीले अन्तराष्ट्रिय स्तरको सेवा पाउने छन् । तर, यस उपकरण जडान हुन नदिन अहिले सम्म केही सञ्चार माध्यम र वीरकै चिकित्सक मरिहत्ते गरेर लागि परेका छन् ।

निजी अस्पतालमा काम गर्ने वीरका चिकित्सकहरू यसलाई सफल हुन नदिने पक्षमा भित्रभित्रै लागेका छन् । उनीहरूले केही  मिडियामा निरन्तर आफू अनुकुल नेतृत्वको विरोधमा समाचारहरू लेखाएको विज्ञहरू बताउँछन् । .

२३ वर्ष पुरानो ‘कोबाल्ट–६० मेसिन बिग्रिएर पाँच वर्षदेखि रेडियोथेरापी अवरुद्ध हुँदा वीर अस्पतालमा आउने विपन्न बिरामी मर्कामा परेका थिए । बिरामीको समस्यालाई मध्यनजर गर्दै नेतृत्वले तत्कालीन समयमा विश्वमा निस्किएको अत्याधुनिक मेसिन टोमोथेरापी खरिद गरेको थियो । वीर अस्पतालमा टोमोथेरापी मेसिन जडान गर्नु आफैमा ऐतिहासिक काम हो ।

टोमोथेरापी मेसिन खरिद गर्न अर्थ मन्त्रालयले ०७४ सालमा ४७ करोड निकासा गरेको थियो । उपकरण समयमा नेपाल आएपनि कम्पनीका कारण टोमोथेरापीमा समस्या देखिएको थियो । बाटोमै समस्या देखिए पछि खुला स्थान भएकाले सप्लायर्सले बलम्बुको चौरमा राखेका थिए ।

बिग्रीएको उपकरण लिन अस्वीकार गरेपनि सप्लायर्स लाइफलाईनलाई पुन नयाँ उपलब्ध गराउँनु पर्ने बाध्यता भएको थियो । कम्पनीलाई टोमोथेरापी तत्काल फिर्ता लैजान पनि सहज थिएन । तर, अस्पतालका तत्कालीन निर्देशक डा भुपेन्द्र बस्नेतले नयाँ ल्याउन भनेपछि कम्पनी दवावमा परेको थियो ।

०७४ मा अत्याधुनिक टोमोथेरापी ल्याए पनि बाटोमा बिग्रेकाले कम्पनीले जडान नै नगरी सशस्त्र प्रहरीको बलम्बु अस्पतालको चौरमा राख्दा थप कन्टेनर चुहिएर मेसिनमा धेरै क्षति भएको थियो ।

चार लाख भन्दा बढीको आर्थिक अधिकार नभएका तत्कालीन अस्पतालका निर्देशक बस्नेतले सरकारको इच्छा अनुसार सहजिकरण गरेका थिए । उनको सहजिकरणले आज क्यान्सरको उपचार गर्न नसक्ने अति गरिब बिरामीहरूका लागि यो सेवा एउटा कोशेढुङगा भएको छ ।

विगतमा यही टोमोथेरापी मेसिन ल्याउन अवरुद्ध गर्ने देखि अदालतमा मुद्दा हाल्नेहरू छ्यापछ्याप्ती थिए । गलत भए सजाय भोगौँला तर, गरिबले सस्तो र गुणस्तरीय सेवा पाउनु पर्छ भनेर गुरुङ र बस्नेतले खरिदको काम अगाडि बढाएका थिए । पछि अदालतले पनि काम गर्न सहजिकरण गरेको थियो ।

उपकरण आएपछि अहिले फेरी वीर अस्पतालका केही चिकित्सक, कर्मचारी र केही मिडिया हातै धोएर सेवा असफल बनाउँन लागेको देखिन्छ । एक लाख भन्दा बढी तिरेर निजीमा सेवा लिनुपर्ने क्यान्सरका बिरामीलाई वीर अस्पतालले १५ हजारमा टोमोथेरापी मेसिनबाट दिने बताएको छ । हो, यती सस्तोमा त्यो पनि टोमोथेरापी मेसिनबाट सेवा दिदा निजी अस्पतालमा क्यान्सरको सेवा ठप्प हुने निश्चित छ । यही भयले केही मिडिया र स्वास्थ्यकर्मी वीरको नेतृत्वको बदनाम गर्ने र त्यहाँ टोमोथेरापी चल्न नदिने मनसायमा अगाडि बढेका छन् । यसको असर वीर अस्पतालका उपकुलपति, निर्देशक, डिन, रेक्टर, रजिस्ट्रारलाई पर्ने हैन । नितान्त गरिब र क्यान्सर भएर पैसाको अभावमा सेवा लिन नसकेकाहरुलाई पर्ने छ ।

वीर अस्पतालले ०७४ सालमा लाइफलाईन ट्रेड इन्टरनेसनल प्रालिसँग मेसिन किनेको थियो । एकुरे मेडिकल अमेरिकाबाट उत्पादन भएको सो मेसिन ४० करोड ३३ लाख ३८ हजार चार सय रुपैयाँमा भ्याटबाहेक खरिद सम्झौता भएको थियो । त्यस्तै, कम्पनीले सार्वजनिक निर्माणका लागि भन्दै थप ६ करोड ६६ लाख ६६ हजार चार सय ३० रुपैयाँ गरी ४७ करोड लिएको महालेखाको प्रतिवेदनमा समेत उल्लेख छ ।

पुरानो कोबाल्ट– ६० मेसिन बिग्रिएदेखि रेडियोथेरापी गर्नुपर्ने क्यान्सरका बिरामी समस्यामा पर्दै आएका छन । नेपालमा बर्सेनि करिब ३० हजार क्यान्सरका नयाँ बिरामी, वीरमा आउने तीन हजार बिरामीले रेडियोथेरापी पाउँदैनन् ।

वीर अस्पतालका अनुसार प्रत्येक वर्ष क्यान्सरका चार हजारभन्दा बढी बिरामी अस्पतालमा आउँछन् । उपचार गर्न आउने सबैजसो गरिब तथा विपन्न नागरिक हुन । रेडियोथेरापी दिनुपर्ने बिरामीलाई अस्पतालले ‘सरी’ भनेर पठाउने गरेको छ ।

सरकारी तथ्याङ्कअनुसार नेपालमा बर्सेनि २६ देखि ३० हजार क्यान्सरका नयाँ बिरामी थपिन्छन् । हरेक वर्ष १५ देखि २० हजारको मृत्यु हुने गरेको छ । चिकित्सकका अनुसार क्यान्सर संसारकै मृत्युको दोस्रो ठूलो कारण हो । पुरुषमा धेरैजसो फोक्सो, प्रोस्टेट, आन्द्रा, पेट, कलेजोको क्यान्सर देखिन्छ भने महिलामा स्तन, आन्द्रा, फोक्सो, पाठेघरको मुख र थाइराइडको क्यान्सर प्रमुख रूपमा देखिन्छ ।

पाँच लाख जनसंख्याबराबर एउटा रेडियोथेरापी मेसिन चाहिने विश्वव्यापी मान्यता छ । तर, नेपालमा हाल विभिन्न स्वास्थ्य संस्थामा पाँचवटा लिन्याक र दुई कोवाल्ट गरी जम्मा सात मेसिन छन । नेपालमा ४२ लाख जनसंख्याबराबर एक मेसिनको व्यवस्था छ ।

लाइफलाईन हुनु पर्नेमा अर्काे कम्पनीको नाम पर्नगएकाेमा सच्याइएकाे छ

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com