शिक्षामन्त्री राईले दिए बालेनलाई चुनौती

बस्ने घरमा शिक्षामन्त्री राईले निजी स्कुल चलाएको खुलासा


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बस्ने घरमा निजी स्कुल चलाएको खुलासा भएको छ । स्वास्थ्य लाइभको विशेष खोजीमा शिक्षामन्त्री राईले आवासीय प्रयोजनका लागि बनाएको घरमा स्वप्न बाटिका स्कुल (एसभी एकेडेमी) चलाएको फेला परेको हो ।

राष्ट्रिय भवन निर्माण संहिता र भवन मापदण्ड अनुसार स्कुल चलाउन संस्थागत शैक्षिक भवन हुन अनिवार्य हुन्छ । तर, कानुनको धज्जी उडाउँदै शिक्षामन्त्री राईले आवसीय प्रयोजनका लागि बनेको भवनमा निजी स्कुल चलाएको पाइएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० शंखमुल, बुद्धनगर क्षेत्रमामा मापदण्डविपरीतको भवनमा शिक्षामन्त्री राईको निजी स्कुल अहिलेसम्म निर्वाध चलिरहेको देखिन्छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरबाट जुन प्रयोजनका लागि भवन निर्माण स्वीकृति लिएको हो त्यहिँ प्रयोजनका लागि प्रयोग गर्नुपर्छ । एउटा प्रयोजनका लागि भवन निर्माण स्वीकृति र निर्माण सम्पन्नको प्रमाणपत्र लिएर अर्को प्रयोजनका प्रयोग गर्न पाइँदैन । तर, शिक्षामन्त्री राईले काठमाडौं महानगरपालिकालाई चुनौती दिँदै आवासीय प्रयोजनका लागि महानगरबाट अनुमति लिएको घरमा निजी स्कुल चलाएको देखिँदा समेत महानगर बेखबर छ ।

शिक्षामन्त्री राईकी श्रीमती एवं प्रतिनिधिसभा सदस्य शुशिला श्रेष्ठको नाममा लिइएको भवन निर्माण सम्पन्न प्रमाणपत्रमा प्रस्ट रुपमा आवासीय प्रयोजन लेखिएको छ । अहिले उक्त भवनमा एसभी एकेडेमी खुलेआम चलिरहेको छ ।

शिक्षामन्त्री कै स्कुल कानुनविपरीत चलिरहेको छ भने अन्य स्कुलको अवस्था के होला भन्ने गम्भीर प्रश्न उठेको छ । आफैं कानुनविपरीत चलेका शिक्षामन्त्री राईले अन्यलाई कानुनको दायरामा ल्याउन कुन नैतिकताले काम गर्लान् भन्ने सवाल उठेको छ । आवासीय प्रयोजनका लागि बनेको भवनमा स्कुल सञ्चालन गरेको विषयमा बुझ्न खोज्दा एसभी एकेडेमीको सीईओ शुशिला श्रेष्ठले हेरेर मात्र भन्न सकिने प्रतिक्रिया दिइन् ।

४ तलाको नक्सा पास, ६ तले भवन

काठमाडौं महानगरपालिकाले २०५८ सालमा सुशिला श्रेष्ठको नाममा आवसीय प्रयोजनका लागि ४ तले भवन निर्माण सम्पन्न प्रमाणपत्र दिएको छ । तर, उक्त भवन ६ तलाको छ । ४ तले आवसीय प्रयोजनका लागि भवन निर्माण सम्पन्न प्रमाणपत्र लिएको राई परिवारले ६ तले भव्य महल बनाएर निजी स्कुल चलाएको फेला परेको छ । आवसीय भवनमा मापदण्डविपरीत चलेको शिक्षामन्त्री राईको निजी स्कुललाई काठमाडौं महानगरपालिका कानुनको कठघरामा उभ्याउन सक्छ कि सक्दैन हेर्न बाँकी छ ।

शिक्षामन्त्री राईको परिवार र काठमाडौं महानगरपालिकाका तत्कालीन कर्मचारीको मिलेमतोमा सरकारी जग्गा घोटाला भएको पनि प्रमाण फेला परेको छ ।

मालपोत कार्यालय डिल्लीबजारबाट स्वास्थ्य लाइभलाई प्राप्त कागजातमा काठमाडौं महानगरपालिका वडा नम्बर १० को कित्ता नम्बर १५५,१८८ र ४९० मा करिब १४ आना जग्गा मात्र रहेको छ । यो कुरालाई शिक्षामन्त्री राईकी श्रीमती शुशिला श्रेष्ठले पनि स्वीकार गरेकी छिन् । उनले काठमाडौं महानगरपालिका वडा नम्बर १० मा १४ आना जग्गाको मात्रै तिरो तिरेको देखिन्छ । तर, जनप्रतिनिधि र कर्मचारीसँग भवन निर्माण सम्पन्न प्रमाणपत्र लिँदा १ रोपनी ५ आना १ दाम जग्गा उल्लेख गरिएको छ । त्यर्हिं आधारामा शिक्षामन्त्री राईको निजी स्कुलले झन्डै आधा रोपनी सरकारी जग्गा हडपेर रजाइँ गरिरहेको छ ।

जग्गाधनी प्रमाणपत्रमा उल्लेखित क्षेत्रफलभन्दा बढी देखाएर भवन निर्माण सम्पन्न प्रमाणपत्र दिने तत्कालीन कर्मचारीलाई भ्रष्टाचार मुद्दा लाग्ने निश्चित छ ।

अख्तियारको दुरुपयोग गर्दै तत्कालीन कर्मचारीले कित्ता र लालपूर्जमा भएको भन्दा बढी क्षेत्रफल जग्गा उल्लेख गरेर शिक्षामन्त्री राई परिवारलाई भोगचल गर्न सजिलो पारिदिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती कर्मचारीलाई तत्काल छानबिनको दायरामा ल्याएर भ्रष्टाचार मुद्दा चलाउन जरुरी छ ।

शिक्षामन्त्री राईले चलाएको निजी स्कुल मापदण्डविपरीत मात्रै छैन सरकारी जग्गा नै कर्लप्प पार्न सफल भएको छ । यो विषयमा स्वास्थ्य लाइभले थप खोजबिन गरिरहेको छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #शिक्षामन्त्री अशोककुमार राई, #सांसद सुशिला श्रेष्ठ, #स्वप्न बाटिका स्कुल (एसभी एकेडेमी)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com