स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको अनुचित कदम


समाचार टिप्पणी

काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गराएको छ । गत भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको घटनालाई लिएर संघले आइतबार देशभरका आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गराएको हो ।

सभ्य समाजमा जिम्मेवारी निर्वाह गरिरहेको र व्यवसायिक दुष्कृतिको विषयलाई लिएर भौतिक आक्रमण हुनु उचित मनिँदैन । जसरी उपचारको विषयलाई लिएर चिकित्सकमाथि हातपात हुनु अनुचित र अशोभनीय कार्य हो त्यसैगरी प्राथमिकता स्वास्थ्य सेवा पाउने नागरिकको मौलिक हक हनन गर्नु उत्तिकै अनुचित हो । यो कुरा नेपाल चिकित्सक संघले बुझोस् ।

लोकतान्त्रिक समाजमा विरोधको रचनात्मक शैली अपनाउनु पर्छ । कालोपट्टी बाँधेर बिरामी हेरेर समेत नेपाल चिकित्सक संघले रचनात्मक विरोधको शैली अपनाउन सक्थ्यो । तर, नेपाल चिकित्सक संघको नयाँ नेतृत्व यो ठाउँमा गम्भीर रुपमा चुक्यो । संघको नेतृत्व अपरिपक्व र गैरजिम्मेवार तरिकाले प्रस्तुत भयो ।

नेपाल चिकित्सक संघले जारी गरेको प्रेस विज्ञप्तिमा २०८० भाद्र २९ आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकका आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण बन्द रहने उल्लेख छ । सरकारले चिकित्सक संघको मागलाई गम्भीरतापूर्वक लिएर एक्सनमा जाँदा समेत संघले स्वास्थ्य सेवा बन्द गर्ने अनुचित निर्णय लिएको देखिन्छ ।

नेपाल चिकित्सक संघले ‘हेटौंडामा घटेको घटनाको विषयलाई लिएर माननीय गृहमन्त्रीज्यूसँग गम्भीर छलफल भयो र मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई घटना घटाउने सम्पूर्ण दोषीहरुलाई अविलम्ब कानुन बमोजिम सजाय दिन निर्देशन गर्नुभयो ।’, भन्ने समाजिक सञ्जालमा जानकारी गराएको छ । नेपाल चिकित्सक संघको चासो बमोजिम हेटौंडा घटनामा संलग्नमाथि कारबाहीका लागि गृह प्रशासनले असल नियतका साथ तत्काल कदम चाल्दा समेत संघले स्वास्थ्य सेवा बन्द गर्ने अनुचित रबैया देखाएको हो । गृहमन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई घटना घटाउने सम्पूर्ण दोषीहरुलाई अविलम्ब कानुन बमोजिम सजाय दिन निर्देशन दिँदादिँदै नेपाल चिकित्सक संघले स्वास्थ्य सेवा बन्द गराएर के भन्न र के गर्न खोजेको हो बुझ्न सकिएको छैन ।

बन्दको औचित्य सकियो भनेर ‘रुटिन अफ नेपाल बन्द’ समेत बन्द भइसकेको अवस्थामा नेपाल चिकित्सक संघ पुरानै ढर्रामा अगाडि बढेको छ । गृह प्रशासन अहिले सहज पहुँचमा रहेको र चिकित्सकहरुको मागमा गम्भीरतापूर्वक लिएर अगाडि बढिरहेको अवस्थामा बिरामीको स्वास्थ्य सेवा पाउने हकलाई बन्चित गर्ने काममा नेपाल चिकित्सक संघ लागेको देखिन्छ ।

गृह प्रशासनले हेटौंडा घटनामा संलग्नलाई समातेर कारबाही अगाडि बढाइसकेको छ । गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वले त्यसका लागि निरन्तर रुपमा इमान्दार प्रयास गरिरहेको छ । तर, नेपाल चिकित्सक संघ आफ्नोे जबरजस्त उपस्थिति देखाउन देशभर स्वास्थ्य सेवा ठप्प पार्न लागिपरेको छ ।

अहिलेको सूचना प्रविधि र स्मार्ट फोनको जमानामा नेपाल चिकित्सक संघको नयाँ नेतृत्व भने नोकियाको जमानामै रहेको पुष्टि हुन्छ । संघले स्मार्ट तरिकाले विरोधका कार्यक्रम सार्वजनिक गर्न नसकेर नोकियाको जमानामै चलेको छ । त्यसैले अहिलेको चिकित्सक संघको नेतृत्व अहिले पुस्ता सुहाउँदो छैन भन्ने प्रस्ट हुन्छ ।

गृह प्रशासनले उचित तरिकाले काम गर्दा गर्दै आफ्नो उपस्थिति देखाउने नाममा जनता र बिरामीलाई दुःख दिने गरी नेपाल चिकित्सक संघले गरेको स्वास्थ्य सेवा बन्दलाई कुनै हालतमा उचित मान्न सकिँदैन । कान्तिको घटनमामा चुइँक्क नबोलेको चिकित्सक संघ, मापदण्डविपरीत चलेका स्वास्थ्य संस्थामा अनदेखा गरिरहेको चिकित्सक संघ आफ्नो स्वार्थमा मात्र केन्द्रित रहेको छ ।

मापदण्डविपरीतका स्वास्थ्य संस्था नियमन गर्न सरकारी संयन्त्र पनि चुकेको छ । काठमाडौं महानगरपालिकाबाहेक अन्य सरकारले मापदण्डविपरीत र अवैध रुपमा चलेका अस्पतालमा छापा मार्ने हिम्मत गरेको छैन । यसमा पनि सरकारी संयन्त्रले ध्यान दिओस् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com