सरकारी जग्गा हडप्ने शिक्षामन्त्री राईको निजी स्कुलमा अखिल (क्रान्तिकारी)को कालोब्यानर


काठमाडौं । सरकारी जग्गा हडपेर सञ्चालनमा रहेको शिक्षामन्त्री अशोककुमार राईको निजी स्कुल स्वपन्न बाटिका(एसभी) एकेडेमीमा अखिल (क्रान्तिकारी)ले कालोब्यानर टाँगेको छ । अखिल (क्रान्तिकारी)ले शिक्षामन्त्री राई र जसपा, नेपालकी समानुपातिक सांसद शुशिला श्रेष्ठले सरकारी जग्गा हडपेर सञ्चालन गरेको एसभी एकेडेमीको गेटमा कालोब्यानर टाँगेको हो ।

स्वास्थ्य लाइभले शिक्षामन्त्री राईद्वारा सरकारी जग्गा हडपेर निजी स्कुल सञ्चालन गरेको खुलासा गरेपछि अखिल (क्रान्तिकारी) तातेको छ । शिक्षामा मन्त्री र जनप्रतिनिधिले लगानी गर्न नपाउने व्यवस्था गर्न तथा शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर भन्ने अखिल (क्रान्तिकारी)ले टाँसेको कालोब्यानरमा नारा लेखिएको छ ।

काठमाडौंको बुद्धनगरमा रहेको शिक्षामन्त्री राईको निजी स्कुल एसभी एकेडेमीमा पुगेर अखिल (क्रान्तिकारी) सम्बद्ध विद्यार्थीहरुले उनीविरुद्ध नाराबाजी समेत गरेका छन् । शिक्षामन्त्री राईको निजी स्कुल एसभी एकेडेमीले आधा रोपनी बढी सरकारी जग्गा हडपेको स्वास्थ्य लाइभको खोजीमा पत्ता लागेको थियो । त्यसपछि अखिल (क्रान्तिकारी) जुर्मुराएको हो ।

त्यस्तै अखिल (क्रान्तिकारी)ले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको युलेन्स स्कुल, सांसद बिनोद चौधरीको क्याम्पियन र प्रिमिएर स्कुल, पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लिटिल एन्जल्स स्कुल, युनाइटेड स्कुल ललितपुरलगायतमा कालोब्यार टाँसेर विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंस्थित पूर्वमन्त्री डा. मिनेन्द्र रिजालको एपेक्स कलेज, पूर्वसांसद गिता राणाको ग्यालेक्सी स्कुल, राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव डा. रमेश सिलवालको गोल्डेनगेट स्कुल, बाँकेको नेपालगन्जस्थित सांसद एवं राप्रपाका महामन्त्री डा. धवल समशेर राणाको मोर्डन पब्लिक स्कुललगायतमा पनि अखिल (क्रान्तिकारी)ले कालोब्यानर टाँसेको हो ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #अखिल क्रान्तिकारी, #दिपेन्द्र श्रेष्ठ प्रदेश सांसद, #शिक्षामन्त्री अशोककुमार राई, #सांसद शुशिला श्रेष्ठ, #स्वप्न बाटिका स्कुल (एसभी एकेडेमी)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ