धोबीखोलाको जग्गामा फेरि दिपक मल्होत्राको गिद्दे नजर


काठमाडौं । बबरमहलस्थित किङ्स कलेजसँगै रहेको धोबीखोलाको सरकारी जग्गा फेरि दिपक मल्होत्राको कब्जामा पुगेको छ । साबिक धोबीखोलाको झन्डै ३ रोपनी जग्गामा अनधिकृत संरचना बनाइ २० औं वर्षदेखि ओलम्पिया स्कुलसँग भाडा खाइरहेका मल्होत्रा फेरि सक्रिय भएका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ सिट नम्बर १०२-११४५-२० कित्ता नम्बर १२४ को धोबीखोला बग्ने सरकारी जग्गा हो ।

नापी नक्सा र फिल्डबुकमा उक्त कुरा प्रस्ट छ । तर, व्यापारी दिपक मल्होत्राले उक्त जग्गामा शिक्षा व्यापारीसँग मिलेर दसकौं रजाइँ गरिरहे । अहिले फेरि केही सरकारी जग्गा कब्जामा लिन सफल भएका छन् ।

ओलम्पिया स्कुलसँग सरकारी जग्गामा मासिक लाखौं भाडा उठाउँदै आएका व्यापारी अझै सरकारी जग्गामा गिद्दे नजर लगाएर बसेका छन् । उनले सरकारी जग्गामा फेरि पर्खाल लगाएर रजाइँ गर्न सुरू गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार र त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले डोजर लगाएर मल्होत्राले बनाएको अनधिकृत संरचना हटाएका थिए । कित्ता नम्बर १८४ को २ रोपनी १४ आना जग्गा मल्होत्राबाट फिर्ता ल्याएपनि अहिले ३ आना बढी जग्गा उनको कम्पाउण्डभित्र छिरेको छ ।

व्यापारी मल्होत्राले हडपेको धोबीखोलाको २ रोपनी १४ आना जग्गा पूर्ण रूपमा फिर्ता ल्याएपनि उनले फेरि ३ आना बढी जग्गा कम्पाउण्ड वालभित्र हालेर कब्जा गर्न सफल भएका छन् । आनाको झन्डै करोड पर्ने धोबीखोला करिडोरको सरकारी जग्गा व्यापारी मल्होत्राले कर्लप्पै खाएका हुन् ।

मल्होत्राको सेतो घरको संरचनाबाहेक अरु सबै साबिक धोबीखोलाको सरकारी जग्गा हो । तर, उनले त्योबाहेक सरकारी जग्गाबाट बाटो लगेका छन् । गेट हालेका छन् ।

कम्पाउन्डभित्र सरकारी जग्गा घुसाएर रजाइँ गरिरहेका छन् । सरकारी जग्गा हडप्ने मल्होत्रालाई युवराज श्रेष्ठले साथ दिइरहेका छन् । उनले पनि कालो गेट र कम्पाउण्ड वालभित्र सरकारी जग्गा घुसाएको नापी नक्साले देखाउँछ ।

नापी कार्यालय डिल्लीबजार (मैतीदेवी)बाट खटिएको प्राविधिकि टोलीले मल्होत्राको सेतो घरको चोसोले समेत १८४ नम्बर कित्ताको जग्गा छोएको थियो । उक्त नापी हुँदा मल्होत्रा आफैं फिल्डमा थिए । सरकारी जग्गामा रजाइँ गर्न पल्किएका उनी फेरि केही जग्गा कब्जा गर्न सफल भएका छन् ।

साबिक धोबीखोलाको सरकारी जग्गा खान सजिलो हुन्छ भनेर व्यापारी मल्होत्रा कै डिजाइनमा कित्ता नम्बर १८४ केदारेश्वर महादेव गुठीमा पुर्‍याइएको छ ।

उनले सरकारी जग्गा कब्जा गरेर अनधिकृत संरचना बनाएपछि धोबीखोलाको उक्त जग्गा गुठीमा पुर्‍याइएको हो । मालपोत कार्यालयको रेकर्ड अनुसार २०६१ जेठ २२ गते उक्त जग्गा केदारेश्वर महादेव गुठीमा गएको देखिन्छ ।

२०२१ सालमा धोबीखोला जनिएको सरकारी जग्गा गुठीमा पुर्‍याउन भूमिका खेल्ने व्यापारी मल्होत्रा, मालपोत र गुठीका कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक छानबिन तथा कारबाही गरेर पुनः धोबीखोला कै नाममा फिर्ता ल्याउन जरुरी छ । 

अहिले ३ आना बढी धोबीखोलाको सरकारी जग्गा कब्जा गरेर कम्पाउण्डवाल लगाउने र बाटो तथा गेट लगाउने व्यापारी मल्होत्रा र युवराज श्रेष्ठले गरेको अतिक्रमण काठमाडौं महानगरपालिकाले तत्काल हटाउनु पर्छ । ‘नत्र सानालाई ऐन ठूलालाई चैन’ भन्ने पुरानै अवस्था दोहोरिन्छ ।

व्यापारी मलहोत्राको घर जानका लागि सरकारी जग्गा हडपेर बनाइएको बाटो र पर्खाल काठमाडौं महानगरपालिकाका प्रमुख बालेनको डोजरको पर्खाइमा देखिन्छ । सरकारी जग्गा हडप्ने यस्ता शक्तिशाली व्यापारीको अनधिकृत संरचना र पर्खालमा बोलेनको डोजर चल्नै पर्छ । अख्तियारको आँखा पर्नै पर्छ ।

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ## सरकारी जग्गा, #ओलम्पिया, #धोबीखोला, #व्यापारी दिपक मल्होत्रा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com