नेपाल एयरलाइन्सभित्र उडुस आतंक !


काठमाडौं । नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडानमा उडुस आतंक मच्चिएको आरोप लागेको छ । नेपाल एयरलाइन्सको बिमानमार्फत अन्तर्राष्ट्रिय उडान भरिरहेका एक यात्रुमाथि उडुसले रगत चुसेर आतंक मच्चाएको चर्चा चलेको हो ।

पत्रकार राजेश राईले समाजिक सञ्जाल फेसबुकमा हालेको तस्विर हेर्दा ती यात्रुमाथि उडुसले टोकेर हैरानी खेप्नुपरेको अनुमान गर्न सकिन्छ । नेपाल एयरलाइन्सका जहाज नियमित रूपमा सफा नगर्दा र उडुस फैलिँदा यात्रुले हैरानी खेप्नुपरेको छ । यसका लागि नेपाल एयरलाइन्सका कर्मचारी बढी जिम्मेवार देखिन्छन् । नेपाल एयरलाइन्स सुधार्छु भन्दै गफ दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई उडुसले गतिलो जवाफ दिएको पाइन्छ । उडुस आतंकले राष्ट्रिय ध्वजाबाहकको धज्जी उडेको छ ।

नेपालको राष्ट्रिय ध्वजावाहकलाई अन्तराष्ट्रिय लज्जाबाट जोगाउन उडुस आतंक रोख्नु पर्ने पत्रकार राईको सुझाव छ । उनले प्रश्न गरेका छन् ‘ उडुसले यात्रुको रगत चुस्ने, नेतृत्वकर्ता र एयरलाइन्सका कर्मचारीहरुले कोममा जान लागेका एयरलाइन्सको रगत कहिलेसम्म चुसिरहने हँ ?’, नेपाल एयरलाइन्सलाई उडुस आतंकबाट नजोगाउने हो भने यात्रु घट्ने अवस्था आउन सक्छ । उडुस आतंक रोक्न तत्काल कदम नचाले नेपाल एयरलाइन्स नै धराशायी नबन्ला भन्न सकिन्न ।

पत्रकार राजेश राईको फेसबुक स्टाटस जस्ताको त्यस्तै

उडुसको नियन्त्रण गरौं !

राष्ट्रिय ध्वजावाहकलाई अन्तराष्ट्रिय लज्जाबाट जोगाऔं !!

भाका र भाषा मिलाएर गरिएका सुशासन र सुधारको कणप्रिय मन्तव्यमाथि ताली बजाउन छोडेर एकैछिन यो तस्बिर हेर्नुहोस् । यो तस्बिर राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) यात्रुको हो । एक यात्रु जसलाई अन्तराष्ट्रिय उडानको क्रममा उडुसले टोकेर यो हालत बनाइदिएको रहेछ । यात्रुहरुका अनुसार अहिले नेपाल एयरलाइन्समा उडुस आतंक चलिरहेको छ । नेपाल एयरलाइन्सको अहिले चारवटा विमानले अन्तराष्ट्रिय र २ वटा विमानले ‘डोमेस्टिक’ उडान भरिरहेको छ । त्यसका लागि करिब एक हजार कर्मचारी छन् । तर, ठुला विमानको सफाइ नगरिदा उडुस फैलिएको छ । उडुसले यात्रुको रगत चुस्ने, नेतृत्वकर्ता र एयरलाइन्सका कर्मचारीहरुले कोममा जान लागेका एयरलाइन्सको रगत कहिलेसम्म चुसिरहने हँ ?

क्याटेगोरी : समाचार
ट्याग : #उडुस आतंक, #नेपाल एयरलाइन्स, #पर्यटनमन्त्री सुदन किराँती, #राष्ट्रिय ध्वजाबाहक

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ