सेभ द चिल्ड्रेनले भूकम्प प्रभावित घरपरिवारलाई ८०० थान विन्टर टेन्ट वितरण गर्ने


काठमाण्डौ । सेभ द चिल्ड्रेनले भूकम्प प्रभावित घरपरिवारलाई ८०० थान विन्टर टेन्ट वितरण गर्ने भएको छ । यसका लागि यूरोपेली संघ अन्तर्गतको युरोपेली नागरिक सुरक्षा र मानवीय कार्यहरूको सहयोगमा सेद द चिल्ड्रेनलाई ८०० थान विन्टर टेन्ट प्राप्त भएको छ । यी टेन्टहरु जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित घरपरिवारलाई वितरण गरिनेछ ।

नेपालका लागि यूरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले उक्त टेन्टहरु सेभ द चिल्ड्रेनलाई हस्तान्तरण गरेका छन् । जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा विनासकारी भूकम्प गए पश्चात् बढ्दो चिसोका कारण हालसम्म ३ बालबाललिकासहित कूल ३२ जनाको मृत्यु भइसकेको छ । ५० भन्दा बढी गर्भवतीहरु चिसोमा रात बिताइरहेका छन् ।

यूरोपेली संघबाट प्रदान गरिएका टेन्टहरु राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा ढुवानी गरिनेछ । २३ वर्ग मिटर क्षेत्रफलको बास स्थल प्रदान गर्ने यी टेन्टहरु अग्निरोधक, जलरोधक र स्टोभयुक्त पनि भएकाले यसले प्रयोगकर्तालाई बढ्दै गरेको चिसो छल्न सहयोग पुग्नेछ ।

“जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि टेन्ट र अन्य सरसामन सहयोग गर्न पाउँदा यूरोपेली संघलाई खुशी लागेको राजदूत लोरेन्जोले बताए । यस सहयोगले भूकम्प प्रभावित क्षेत्रका महिला, शिशु, तथा ज्येष्ठ नागरिकको जीवन रक्षा गर्नेछ,” राजदूत लोरेन्जोले भने ।

“गत नोभेम्बर ३ मा जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा गएको ६.४ म्यागनिट्युटको विनासकारी भूकम्पका कारण विशेषगरी बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति अन्य व्यक्तिहरुभन्दा बढी प्रभावित भएका छन् ।

नेपालका लागि सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले “भूकम्प प्रभावित क्षेत्रमा अत्याधिक चिसोका कारण धेरै व्यक्तिको मृत्यु भइसकेको छ । त्यहाँका अति प्रभावित घरपरिवार र सीमान्तीकृत समुदायको संरक्षण सुनिश्चित गर्न अत्यावश्यक छ । यूरोपेली संघद्वारा प्रदान गरिएका टेन्टले प्रभावित घरपरिवारलाई अस्थाई बासस्थान र संरक्षण प्रदान गर्नेछ, साथै उनीहरुको जीवन रक्षा गर्न सहयोग गर्नेछ ।”

यी सामाग्री सहयोगको अलावा, स्थानीय संस्थाहरुसँगको साझेदारीमा र सम्बन्धित सरकारी निकायहरुसँगको समन्वयमा सेभ द चिल्ड्रेनले अति जोखिममा रहेका समुदायमा तत्कालको आवश्यकता सम्बोधन गर्न निरन्तर कार्य गर्नेछ । सेभ द चिल्ड्रेनले यूरोपेली संघबाट मानवीय सहायता स्वरुप यूरो ८६ करोड ५५ लाख नेपाली रुपैँया प्राप्त गरेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com