स्वास्थ्यमन्त्रीसँगै टेरामक्स काण्डमा मुछिएका एनटीएका अध्यक्ष खनालले दिए राजीनामा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँगै टेरामक्स घोटालामा मुछिएका नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)का अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।

एनटिएका अध्यक्ष खनालले राजीनामा बुझाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले स्वास्थ्य लाइभसँग पुष्टि गर्‍यो । टेरामक्स घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गरिरहेका बेला उनले एक्कासी राजीनामा दिएका छन् । अध्यक्ष खनाल टेरामक्स, एमडीएमएस, विद्यालयमा आईटी ल्याब जस्ता खरिद घोटालामा मुछिएका व्यक्ति हुन् ।

तत्कालीन सञ्चारमन्त्री रहेका हालका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, मुख्यसचिव बैकुण्ठप्रसाद अर्याल, सामान्य प्रशासन सचिव विनोदप्रकाश सिंहसहित खनाल पनि टेरामक्स काण्डमा मुछिएका थिए । टेरामक्स खरिदमा भ्रष्टाचार भएको संसदको सार्वजनिक लेखा समितिले निष्कर्ष निकालिसकेको छ ।

एनटीएभित्र टेरामक्ससहित एकपछि अर्को भ्रष्टाचारका काण्ड उजागर भइरहँदा अध्यक्ष खनालले ६ महिना बढी कार्यकाल बाँकी छदै एक्कासी राजीनामा दिएर टाप ठोकेका हुन् ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #पुरुषोत्तम खनाल, #मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com