स्वार्थको द्वन्द्वले तहसनहस हुने अवस्थामा वीपी प्रतिष्ठान


काठमाडौं । कर्मचारी, पदाधिकारी र कार्यकारिणी सदस्यहरूबीचको स्वार्थको द्वन्द्वले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तहसनहस हुने अवस्थामा पुगेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यबाहक उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेपछि वीपी प्रतिष्ठानको विवाद सतहमा आएको हो ।

वीपीका कार्यबाहक उपकुलपति डा. कार्कीले कार्यकारिणी समितिको बैठक बोलाएर छलफल नगरेको भन्दै मेयर साम्पाङ क्रुद्ध बनेका छन् । उनी डा. कार्कीमाथि जाइलागेका छन् । ‘बि.पि. अस्पतालको VC नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है !’, मेयर साम्पाङले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन् । मेयरले भिसीलाई नै घिसार्ने चेतावनी दिएपछि प्रतिष्ठानभित्र तरंग आएको छ ।

मेयर साम्पाङ यतिमा मात्र रोकिएका छैनन् उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई समेत पत्र लेखेर उपकुलपति डा. कार्कीलाई तुरुन्तै उपस्थित गराउन अनुरोध गरेका छन् ।

न्यायोचित माग राखेर आन्दोलन गरिरहेका डा. शिक्षक र कर्मचारीहरुको माग तत्काल पूरा गरी स्थिति सुधारमा नगए अवस्था झन बिग्रने मेयर साङपाङको तर्क छ । सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ । यो विषयले वीपी प्रतिष्ठानभित्र ठूलै हलचल आउँदैछ भन्ने प्रस्ट अनुमान लगाउन सकिन्छ ।

यता उपकुलपति डा. कार्कीले रजिष्ट्रार सूर्य संग्रौलालाई आर्थिक र प्रशासनिक अधिकार प्रयोग गर्न रोक लगाएका छन् । यसले वीपी प्रतिष्ठानभित्र नै चरम द्वन्द्व छ भन्ने पुष्टि हुन्छ । वीपी प्रतिष्ठानको विषयमा यतिका कुरा बाहिर आइसक्दा पनि प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र सहकुलपति एवं स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत वेखबर देखिन्छन् । हरेक कुरामा जस लिन खोज्ने स्वास्थ्यमन्त्री बस्नेत वीपी प्रतिष्ठानभित्रको लफडा मिलाएर जस लिन किन पछाडि परिरहेका छन् भन्ने प्रश्न समेत उठ्न थालेको छ ।

पूर्वकै प्रतिष्ठित संस्था वीपी प्रतिष्ठान तहसनहस हुने अवस्थामा पुग्दा पनि उक्त क्षेत्रका संघीय सांसद समेत रहेका शिक्षामन्त्री अशोककुमार राई पनि चकमन्न छन् । वीपीमा के भइरहेको छ भन्ने कुरा उनले पनि खासै चासो दिएको देखिँदैन । आ-आफ्नो स्वार्थ द्वन्द्वका कारण वीपी प्रतिष्ठान दिनप्रतिदिन झन् थिलथिलो बन्दै गएको छ । वीपी प्रतिष्ठानभित्र निकट भविष्यमै ठूलो वितण्डा मच्चिने सम्भावना बढ्दै गएको देखिन्छ । त्यसैले  सबै पक्ष र सरोकारवालाहरु जिम्मेवार बनेर समयमै निकास खोज्न जरूरी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ राई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com