आईटी माफिया पौडेलबन्धु, जसलाई जबरजस्ती गर्भपतनको पनि आरोप छ


काठमाडौं । विदेशी बैंकमा शंकास्पद रकम जम्मा गरेको प्रमाण भेटिएपछि आईटी माफिया विकल पौडेल र सुनिल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन् । उनीहरुमाथि अहिले विशेष अदालतमा पनि भ्रष्टाचार चलिरहेको छ ।

सूचना प्रविधि (आईटी) क्षेत्रमा एकछत्र राज गरिरहेका पौडेलबन्धु अहिले अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियारको हिरासतमा पुगेका हुन् । कुनै जमानामा सरकार, संसद, अख्तियार र अदालत पकेटमा छन् भन्दै हिँड्ने विकल अहिले अख्तियारको फेला परेका छन् । हुन पनि उनी राष्ट्रिय सूचना प्रविधि केन्द्रको उपनिर्देशक हुँदा सर्वोच्च अदालतको आईटी सिस्टम, अख्तियारको सोलार सिस्टम, सरकारी निकाय र संसदमा हुने आईटीका खरिदको लागत अनुमान तयार र सेटिङ गर्ने भूमिकामा थिए ।

एमआरपी, स्मार्ट लाइसेन्स, इम्बोस्ड नम्बर प्लेटलगायतका आईटीका खरिद विकलकै डिजाइनमा भएका हुन् । राज्यकोष लुट्ने डिजाइनका साथ ल्याइएको इम्बोस्ड नम्बर प्लेट अहिले विभागका रामचन्द्रहरु रजाईं गर्नेबाहेक कुनै औचित्य पुष्टि गर्न सकेको छैन । कागजी नोटदेखि अन्तशुल्क स्टिकर छाप्नेसम्मको योजना बुनेर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ‘जम्प’ गरेका विकल अहिले रातो घरको पाहुना बनेका छन् । ती माफियालाई संरक्षण गर्ने मतियार भने खुलेआम हिँडिरहेका छन् ।

नेसनल पेमेन्ट गेटवेको कमिसन बुझाएर राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक बनेका सुनिलको पनि उहीँ हालत छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी हुन ५ करोडमाथिको ‘डिल’ भएको चर्चाकाबीच आकर्षक निकाय नेपाल टेलिकम प्रबन्ध निर्देशक बन्न सुनिलले कुन हदसम्म गरे होला भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

सिंगापुर र दुबईको बैंकमा खाता खोलेर आईटीका ठेक्का कमिसन जम्मा गर्ने गरेको आरोप लागेका पौडेलबन्धुले आईटी क्षेत्रमा माफियाराज नै चलाएका थिए भन्दा फरक पर्दैन । उनीहरु कै आडमा केही उच्च राजनितिज्ञ र उच्च प्रशासकले दुबईमा भिल्ला जोडेको ‘ओपन सेक्रेट’ जस्तै भइसकेको छ । सरकारलाई चलाउने हैसियत राख्ने पौडेलबन्धुको एउटा खाता खुल्दा यतिको तरंग आयो भने अन्य खाता फेला पर्दा त्यसले ल्याउने परिणामको अहिले आंकलन गर्न सकिने खालको छैन ।

कुनै बेला अख्तियार प्रमुख लोकमानसिंह कार्कीको भित्रिया भएर काम गरेका विकल जबरजस्ती गर्भपतनको गम्भीर आरोपमा पनि जोगिए । सुनिलको ‘रिमोट कन्ट्रोलर’का रूपमा परिचित विकल उक्त जबरजस्ती गर्भपतन काण्डमा समेत सुनिललाई प्रयोग गर्न सफल भएको तथ्य स्वास्थ्य लाइभले सार्वजनिक गरिसकेको छ ।

सुनिल आफैंमा केही होइनन् तर विकल सुनिलका सबथोक हुन् भन्ने कुरा नेपाल टेलिकमदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रको कामले पनि देखाउँछ । नेपाल टेलिकमको ठेक्काको काम विकल र सुनिलले पाँच तारे होटलमा बसेर गर्ने गरेको चर्चा पनि नचलेको हैन । विकल र सुनिलको पालामा भएका राष्ट्रिय सूचना प्रविधि केन्द्रका खरिद मिहिन ढंगले केलाउने हो भने भ्रष्टाचारका सयौं मुद्दा जाने निश्चित छ । सुनिल नेतृत्वको नेपाल टेलिकमको बिलिङ सिस्टम खरिदमा पनि उस्तै प्रवृत्ति दोहोरिएको बुझ्नमा आएको छ । यो विषयमा अख्तियारको ध्यान पुग्न सकेको देखिँदैन ।

क्यान्सर रोग विशेषज्ञ श्रीमतीलाई अमेरिका राखेर नेपालमा मस्ती मारिरहेका विकल ठूल्ठूला काण्डबाट जोगिँदै आएका छन् । उनको पक्राउसँगै विकलसँग घाँटी जोडिएका धेरैको सातो उडेको पाइएको छ । अख्तियारले दह्रोसँग खुट्टा टेकेर अनुसन्धान अगाडि बढाउने हो भने दहरो तान्दा पहरो खस्ने निश्चित छ । सबैको कमिसन नओकलिएला भन्न सकिन्न ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #नेपाल टेलिकमका एमडी सुनिल पौडेल, #नेसनल पेमेन्ट गेटवे, #विकल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com