बालेनकाे एक्सन: स्वास्थ्यपछि शिक्षाको हाकिम कारबाहीमा

स्वास्थ्यका रामप्रसाद कै हालतमा शिक्षाका सीताराम


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले स्वास्थ्यपछि शिक्षाको हाकिम निलम्बन गर्ने तयारी गरेका छन् । स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलको निलम्बन सेलाउन नपाउँदै शिक्षा विभाग प्रमुख सीताराम कोइराला निलम्बनमा पर्ने निश्चित जस्तै भएको छ ।

काठमाडौं महानगरपालिका स्रोतका अनुसार निलम्बनको प्रक्रिया पुरा गर्न कोइरालालाई स्पष्टीकरण पत्र बुझाइसकिएको छ । प्रक्रिया पुरा भएसँगै शिक्षा विभाग प्रमुख कोइरालालाई निलम्बन गर्न मेयर बालेनको तयारी छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १०  मध्य बानेश्वरस्थित रत्नराज्य विज्ञान संकाय तर्फको +२ पढाउन अनुमति दिँदा कोइरालाले बदमासी गरेको भेटिएपछि उनलाई निलम्बन गर्न लागिएको हो । मेयरको नेतृत्वमा रहेको नगर शिक्षा समितिलाई भएको अधिकार शिक्षा विभाग प्रमुख कोइरालाले प्रयोग गरेको तथ्य भेटिएपछि उनी निलम्बनमा पर्ने जस्तै निश्चित देखिन्छ ।

‘विज्ञान संकाय सञ्चालनको अनुमति दिने अधिकार नगर शिक्षा समितिलाई हुन्छ । त्यसको अध्यक्ष मेयर हुने व्यवस्था छ तर शिक्षा विभाग प्रमुख कोइरालाले शिक्षा समितिबाट निर्णय नभई रत्नराज्य माध्यमिक विधालयलाई +२ मा विज्ञान संकाय सञ्चालनको अनुमति दिने निर्णय गरेको फेला परेपछि निलम्बनको प्रक्रिया अघि बढेको हो ।’, मेयर निकट स्रोतले स्वास्थ्य लाइभसँग भन्यो । स्पष्टीकरणसँगै शिक्षा विभाग प्रमुख कोइरालालाई एक साता बिदामा बस्न समेत निर्देशन दिइएको छ ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ति गर्दा कार्यपालिकाको निर्णय किर्ते गरेको फेला परेपछि स्वास्थ्य विभाग प्रमुख पौडेल निलम्बनमा परेका थिए । उनको निलम्बन अझै फुकुवा भइसकेको छैन । स्वास्थ्यको काण्ड सेलाउन नपाउँदै शिक्षामा त्यस्तै काण्ड घट्ने भएको छ । रत्नराज्यको +२ काण्डले काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख कोइरालाको जागिर धरापमा परेको हो । निलम्बन लगत्तै छानबिन समिति बनाउने तयारीमा बालेन रहेका छन् ।स्वास्थ्यको किर्ते काण्डमा मुछिएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी बिदामा बसेपछि निमित्तको जिम्मेवारी सीतारामले सम्हालेका थिए । उनीसहित केही व्यक्ति निलम्बनमा पर्न लागेका हुन् ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #निलम्बन, #रामप्रसाद पौडेल, #शिक्षा विभाग प्रमुख सीताराम कोइराला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com