यातायातका कुन डिजीको पालामा कति अवैध लाइसेन्स जारी हुने तयारी अवस्थामा राखिए ?


काठमाडौं । अवैध लाइसेन्स जारी धन्दाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गरिरहेको छ । यातायात व्यवस्था विभागबाट जारी भएको अवैध लाइसेन्स जारी धन्दाको अख्तियारले छानबिन थालेको हो । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अवैध धन्दामा अहिले अख्तियारले विस्तृत छानबिन गरिरहेको छ ।

अख्तियार स्रोतबाट स्वास्थ्य लाइभलाई प्राप्त विवरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमसहित यातायात व्यवस्था विभागका १० जना महानिर्देशक (डिजी)को पालामा अवैध लाइसेन्स जारी धन्दा फस्टाएको देखिन्छ ।

विगत ८ वर्षको अवधिमा हेर्दा सबैभन्दा बढी जारी हुने तयारी अवस्थामा राखिएको लाइलेन्स नमराज घिमिरेको पालामा पाइएको छ । उनको पालामा ५ हजार ५ सय ५९ थान अवैध लाइसेन्स जारी हुने तयारी अवस्थामा पाइएको छ । अख्तियार उच्च स्रोतका अनुसार घिमिरेपछि हाल स्वास्थ्य मन्त्रालयमा कार्यरत तुलसीनाथ गौतमको पालामा १ हजार ९ सय १६ थान शंकास्पद लाइसेन्स जारी गर्ने तयारीमा राखिएको पाइएको हो ।

हाल स्वास्थ्यमा कार्यरत सहसचिव गौतमपछि हाल त्रिवि भन्सार कार्यालयमा कार्यरत डा . टोकराज पाण्डेको पालामा अवैध लाइसेन्स धन्दा फस्टाएको पाइन्छ । डा. पाण्डे यातायातको डिजी हुँदा १ हजार ९ सय ५ थान शंकास्पद लाइसेन्स जारी गर्ने तयारी अवस्थामा राखिएको पाइएको हो । पाण्डेपछि गोगनबहादुर हमाल आएका छन् । हमाल यातायातको डिजी हुँदा १ हजार २ सय ५४ थान अवैध लाइसेन्स जारी गर्ने तयारी अवस्थामा राखेको खुल्न आएको हो ।

नाम, थर ठेगना उल्लेख भएको तर नम्बर मात्रै उल्लेख गरेर जारी गर्ने तयारी हालतमा सिष्टममा राखिएको त्यस्तो लाइसेन्स रूपनारायण भट्टराईको पालामा ६ सय ५९ थान रहेको अख्तियारले जनाएको छ । लावण्यकुमार ढकालका पालामा ४ सय ९ थान, कुमार प्रसाद दाहालका पालामा ३ सय ५५ थान जारी हुने तयारीमा राखिएका अवैध लाइसेन्सको डाटा रहेको यातायातले अख्तियारलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै यातायातका तत्कालीन डिजी नारायणप्रसाद भट्टराईको पालामा १ सय ५३ थान, सुरेश राउतमा पालामा १ सय ४३ थान र चन्द्रमान श्रेष्ठका पालामा १० थान त्यस्तो लाइसेन्स फेला परेको अख्तियार स्रोतको दाबी छ । यो विषयमा अख्तियारले अहिले विशेष रुपमा छानबिन गरिरहेको हो । अख्तियारको छानबिनपछि यातायातका तत्कालीन डिजीहरूको बदमासी पत्ता लाग्नेछ ।

 

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com