बालेनलाई छल्दा चिकित्सा शिक्षा आयोगबाट आएका सीताराम चिप्लिए

जसलाई बालेनले विश्वास गरे उसैले धोका दिए


काठमाडौं । चिकित्सा शिक्षा आयोगबाट काज फिर्ता भएर आएका काठमाडौं महानगरपालिकाका शिक्षा विभागप्रमुख सीताराम कोइराला अहिले एकाएक चर्चामा छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १० मध्य बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा विज्ञान संकायतर्फ ‘प्लस टू’ सञ्चालनको अनुमति दिँदा नगर शिक्षा समितिको निर्णयबेगर पत्र दिएको फेला परेपछि मेयर बालेन शाहले उनीमाथि एक्सन लिएका हुन् ।

काठमाडौं महानगरपालिका स्रोतका अनुसार रत्नराज्य स्कुलको ‘प्लस टू’ लाइसेन्स काण्डमा कोइरालालाई मेयर बालेनले बिदामा बस्न निर्देशन दिएका छन् । उनलाई ७ दिने स्पष्टीकरण सोध्दै बालेनले कामकाज नगर्न निर्देशन दिएका हुन् । शिक्षा विभागप्रमुख कोइराला हाल निलम्बनमा परेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित र प्रमुख प्रशासकीय अधिकृतमा बसन्त अधिकारी सरुवा भएर आएपछि कोइराला महानगर प्रवेश गरेका थिए । चिकित्सा शिक्षा आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आचार संहिता लागू भएपछि कोइरालालाई काज फिर्ता गर्ने निर्णय गरेको थियो । आयोगले निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर कोइरालाको काज फिर्ता गर्न अनुरोध गरेको थियो । त्यसको केही समयपछि उनी काठमाडौं महानगरपालिका पुगेका थिए ।

शिक्षा समूहका उपसचिव कोइराला समायोजन भएर काठमाडौं महानगरपालिका पुगेका थिए । नेकपा एमाले निकट कर्मचारी संखुवासभाका कोइराला विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको मेयर हुँदा महानगर समायोजन भएर पुगेका हुन् । महानगरमा पुगेपछि उनले शिक्षा विभागको जिम्मेवारी पाउन सफल भए । तर, अख्तियारको दुरुपयोग गर्दै निजी स्कुलको शुल्क बढाएपछि विद्यासुन्दरले कोइरालालाई भरतपुर महानगरपालिका लखेटेका थिए ।  काठमाडौं महानगरले विद्यालय शिक्षा व्यवस्थापनका लागि जारी गरेको ‘शिक्षा ऐन- २०७५’ र ‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली-२०७४’ बमोजिम शुल्क निर्धारण गर्ने अधिकार नगर कार्यपालिकामा मात्र छ । तर, कोइरालाले आफूखुसी निजी स्कुलको शुल्क (फी) बढाएपछि महानगरपालिका नै विवादमा पऱ्यो । त्यसपछि मेयर विद्यासुन्दरले नगर शिक्षा समितिको बैठक राखेर बढेको शुल्क खारेज गर्ने निर्णय गराएका थिए भने शिक्षाका कोइरालालाई भरतपुर लखेटेका थिए ।

निजी विद्यालयको पक्षपोषण गर्न अख्तियारको दुरुपयोग गर्दै विद्यार्थीको ढाँड सेक्ने गरी शुल्क बढाएका कोइराला भरतपुरबाट बर्दिवास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गए । त्यहाँबाट उनी फेरि काठमाडौं महानगरपालिकामै आए । तर, मेयर विद्यासुन्दर शाक्यले हाजिर हुन नदिएपछि कोइराला सामान्य प्रशासन मन्त्रालयको साहारा लिएर शिक्षा मन्त्रालय हुँदै चिकित्सा शिक्षा आयोग पुगे । चिकित्सा शिक्षा आयोगबाट पनि श्रीकृष्ण गिरीको निर्देशनमा उनी लखेटिए । उपसचिव कोइरालालाई काज फिर्ता नै गर्ने गरी आयोगले निर्णय गऱ्यो । उनी त्यहाँबाट हट्न बाध्य भए ।

बसन्त अधिकारीको जोडबलमा तेस्रो पटक काठमाडौं महानगरपालिका पुगेर शिक्षा विभागप्रमुख बनेका कोइराला विद्यासुन्दरकै पालामा जस्तो आफूखुसी निर्णय गरेपछि निलम्बनमै परेका छन् । मेयरको नेतृत्वमा रहेको नगर शिक्षा समितिले निर्णय नै नगरी रत्नराज्य स्कुललाई विज्ञान संकाय तर्फ प्लस टू सञ्चालन गर्न पत्र दिएको भेटिएपछि उनी बालेनको एक्सनमा परेका हुन् ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ति गर्दा कार्यापालिकाको निर्णय किर्ते गरेको अभियोगमा स्वास्थ्य विभागप्रमुख रामप्रसाद पौडेल निलम्बनमा परे । मेयरको सचिवालयमा कार्यरत नुरनिधि न्यौपाने र भगवती बिडारी पनि उक्त काण्डमा निलम्बित भए । प्रमुख प्रशासकीय अधिकृत बसन्तलाई बालेनले बिदामा बस्न निर्देशन दिए । त्यो बेला कोइरालाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने मौका पाए । बसन्त बलजफ्ती कार्यालय आउन खोजेपछि उनको कार्यकक्षमा बालेनको निर्देशनमा ताला नै लगाउनु पर्ने अवस्था आयो । अहिले बसन्त मधेशी आयोग पुगेका छन् ।  काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भने राष्ट्रिय योजना आयोगबाट सहसचिव प्रदिप परियार आएका छन् ।

बसन्त बिदामा बसेको र प्रदिप आइनसकेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने मौका पाएका कोइरालाले आखिर बालेनलाई धोका दिइ छाडे । विश्वास गरेका बसन्त, नुरनिधि, भगवती र रामप्रसादबाट धोका खाइसकेका बालेनलाई सीतारामले पनि डुबाएको टिप्पणी हुन थालेको छ । कतिसम्म भने पछिल्लो समय बालेनले शिक्षा विभागप्रमुख सीताराम कोइरालालाई आर्थिक अधिकार समेत सुम्पने तयारी गरेका थिए । तर, उनले हराम काम गरेर बालेनलाई डुबाएपछि उनी सीतारामलाई निलम्बन गर्न बाध्य भए । थप छानबिनपछि आवश्यक कारबाही गर्ने बालेनको तयारी छ ।

बालेनको विश्वास जितेर विश्वासघात गर्नेको सूचीमा बसन्त, नुरनिधि, भगवती र रामप्रसादसँगै सीताराम थपिएका छन् । उनले विद्यासुन्दरमाथि छल गर्दा सरुवा भेटेका थिए । बालेनमाथि छलकपट गर्दा निलम्बन नै भेटेका छन् । ‘पल्केको तिल्के घरिघरि मिल्के’ कै शैलीमा सीतारामले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर रत्नराज्यलाई ‘१०+प्लस टू’ सञ्चालनको अनुमति दिएका हुन् । आर्थिक अधिकार र प्रमुख प्रशासकीय अधिकृतको केही अधिकार समेत सीतारामलाई सुम्पने तयारीमा रहेका बालेन रत्नराज्य काण्डपछि उनीसँग बिच्किएका छन् । उस्तै परे सीतारामको जागिर खाइदिने अवस्थामा बालेन पुगेका छन् ।

त्यसो त महानगरभित्रका विद्यालयमा हुने शिक्षक सरूवामा आर्थिक चलखेल गाईगुँई हल्ला मिलेको हैन । बालेनले यसको प्रमाण भने भेटेका छैनन् । कोइरालाविरुद्ध प्रमाण भेट्नेवित्तिकै बालेनले एक्सन लिइहालेका हुन् ।

बालेनले विश्वास गर्दा पनि सीतारामले महानगरको जहाज डुबाइदिएका छन् । बालेनको नजरमा गिरेका छन् । किर्तेको अभियोगमा सीताराममाथि थप एक्सन लिने तयारीमा बालेन रहेको बुझिएको छ । सुशासन कायम र भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति अख्तियार गरेका मेयर बालेनले धोका दिने विश्वास गरेकैहरूमाथि एकपछि अर्काे एक्सन लिएर बदमासी गर्नेलाई काठमाडौं महानगरपालिकामा छुट छैन र ठाउँ छैन भन्ने ‘म्यासेज’ दिएका छन् । बालेनले सुशासनको डण्डा चलाएर आम मानिसको मन जित्न सफल भएका छन् ।

महानगरमा बदमासी गर्ने कर्मचारीको मुटुमा ढ्याङ्ग्रो ठोक्न थालेको चर्चा छ । उनीहरु आफूले गरेको गलत काम र निर्णयको प्रमाण लोप गर्न लागिपरेको चर्चा चल्न थालेको हो ।

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #प्रदिप परियार, #प्रमुख प्रशासकीय अधिकृत, #बसन्त अधिकारी, #बालेन, #रामप्रसाद पौडेल, #सीताराम कोइराला, #स्वास्थ्य तथा शिक्षा विभाग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com