बालेनविरुद्ध किन खनिए निलम्बित स्वास्थ्य विभाग प्रमुख पौडेल ?


काठमाडौं । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा किर्ते कर्मचारी भर्तीको विषयलाई लिएर निलम्बनमा परेका काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल मेयर बालेन शाहविरुद्ध खनिन थालेका छन् । उनले बालेनलाई समाजिक सञ्जालमार्फत सार्वजनिक रुपमै चुनौती दिन थालेका हुन् ।

निलम्बित स्वास्थ्य विभाग प्रमुख पौडेलले मेयर बालेनतर्फ इंगित गर्दै गैरकानुनी कामको सशक्त प्रतिकार के हुन्छ विस्तारै हेरौला भन्ने चेतावनीको भाषा समेत प्रयोग गरेका छन् । निलम्बनविरुद्ध पौडेल उच्च अदालत पाटन पुगेका थिए । तर अदालतले उनको पक्षमा स्टे अर्डर जारी गरेन । त्यसपछि पौडेल समाजिक सञ्जालबाटै बालेनविरुद्ध खनिन थालेको आरोप लागेको छ ।

‘कर्मचारीलाई कम्तिमा तलब दिनुपर्‍यो भन्दै कुन प्रमुख प्रशासकीय अधिकृत ल्याएर आफ्नो कामदारलाई काम लगाउने पारिश्रमिक दिने कुरा हो, उहाँको जिम्मा हो’, भनेर उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका हुन् । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी बिदामा बस्दा सफाइलगायतका कर्मचारीले तलब पाउन सकेका छैनन् । उनको ठाउँमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने चर्चा छ । पौडेललाई आडभरोसा दिने अधिकारी सरुवा हुने अवस्था आएपछि र आफ्नो निलम्बन फुकुवा नभएपछि उनी आक्रोश हुन थालेको मेयरको सचिवालयको बुझाई छ ।

मेयर बालेन निकट स्रोतका अनुसार सफाइ कर्मचारीलाई पारिश्रमिकको छिटो प्रबन्ध मिलाउन खोज्दा कुनै समूहले खेल्न खोजेको छ । निलम्बनमा परेका मान्छेहरू पनि खुसुखुसु कार्यालय गएर माहोल भाड्न खोजेको सूचनाहरू आएको स्रोतको दाबी छ ।

यता निलम्बित स्वास्थ्य विभाग प्रमुख पौडेलको लेखाइले त्यसलाई थप पुष्टि गरेको देखिन्छ । ‘सफाइलगायत साथीहरुको कुरा आयो । बिषय रहेछ, मेयरले आजसम्म तलब दिएन् । तलब समयमा दिने काम अविभावकको हो । कुन प्रमुख प्रशासकीय अधिकृत ल्याएर आफ्ना कामदारलाई काम लगाउने, पारिश्रमिक दिने कुराको जिम्मा हो ।’, पौडेलले लेखेका छन्, ‘हामीलाई निलम्बन वा अरु जेसुकै गैरकानुनी कामको सशक्त प्रतिकार के हुन्छ बिस्तारै हेरौंला । अहिले सबै कर्मचारीले कम्तिमा तलब दिनु पर्यो नि ?’,

निलम्बित स्वास्थ्य विभाग प्रमुख पौडेल यतिमा मात्र रोकिएका छैनन् उनले मेयर बालेनले करको दुरुपयोग गरेको समेत आरोप लगाएका छन् । उनले महिनाको ६७ लाख त सचिवालयका १५ जनालाई खाजा खर्च हुने गरेको टिप्पणी गरेका छन् । पौडेलले फेसबुकको कमेन्टमा निजी सचिवालय कर्मचारी २ सय जनालाई औसत महिनाको २ करोडमाथि खर्च हुने उल्लेख गरेका छन् ।  लैनचौरको निजी निवासमा दैनिक १ लाख र अरु कति भनेर मेयरले जनताको कर दुरुपयोग गरेको संकेत गरेका हुन् ।

‘महिनाको ६७ लाख खाजा जुन १५ जनालाई , निजी सचिवालय कर्मचारी २ सय जना औसत महिनाको २ करोडमाथि, लैनचौर निजी निवास दैनिक एक लाख अरु कति कति, अनि कर तिर्ने तपााईं हामी ।’, पौडेलले लेखेका छन् । यो कुराबाट उनी बालेनसँग असन्तुष्ट रहेको संकेत गर्छ ।

निलम्बनका कारण बढुवाको लाइनमा रहेका स्वास्थ्य विभाग प्रमुख पौडेलको करियरमै धक्का लाग्ने भएपछि उनी बालेनसँग रुष्ट भएको हुन सक्ने चर्चा छ । जे होस् पछिल्लो फेसबुक स्टाट्सले बालेनविरुद्ध पौडेल खुलेरै लागेको देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #बसन्त अधिकारी, #रामप्रसाद पौडेल, #स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com