विश्वास गरेका कर्मचारीबाट धोका पाएपछि कुडिएको बालेनको मन


समाचार टिप्पणी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी अझै केही समय आफूसँगै रहुन् भन्ने चाहन्थे । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उच्च अधिकारीलाई त्यहिँ ‘म्यासेज रिलिज’ समेत गरेका थिए । तर, एक्कासी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेर बालेनले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई प्रहरी लगाएर जहाँ छन् त्यहीँबाट उठाउनूस् भन्न बाध्य भए ।

त्यति मात्र होइन प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी नै गर्न लगाएर बालेनले महानगरबाट फिर्ता हुन अधिकारीलाई कुटनीतिक सन्देश दिएका छन् । यत्रा घटना घटिसकेपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीसँग नैतिकता हुन्थ्यो भने तुरुन्तै त्यहाँबाट सरुवा भएर हिँडिसक्थे भन्ने कर्मचारी वृत्तमा चर्चा सुरु भएको छ । तर, उनी महानगरमै निर्लज्ज तरिकाले बसिरहेको टिप्पणी समेत हुन थालेको हो ।

बालेनले स्रोत साधन र बजेट आवश्यकता अनुसार निकासा गर्दै आएका थिए । कतिसम्म भने कर्मचारीले राम्रोसँग काम गरे आफू कार्यालय समेत नआउने बताउने गरेका थिए । तर, उनले विश्वास गरेकै प्रमुख प्रशासकीय अधिकृत र सचिवालयमा कार्यरत कर्मचारीबाट धोका पाएपछि अहिले बालेनको मन कुडिएको छ ।

आफूले विश्वास गरेका मान्छेबाट यस्तो धोका होला भनेर बालेनले कल्पना समेत गरेका थिएनन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारी तथा सचिवालयमा कार्यरत १० औं तहका कर्मचारी नूरनिधि न्यौपाने र भगवती बिडारीलाई उनले पूर्ण रूपमा विश्वास गरेका थिए । स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलसँग पनि उनको त्यहीँ किसिमको अपेक्षा थियो । तर, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी नियुक्ति गर्दा आफ्नै सचिवालयमा कार्यरत बिडारीको छोरीलाई जागिर खुवाउन कार्यपालिकाको निर्णय नै किर्ते गरेर प्रमाणीकरण गरेको फेला परेपछि बालनको मन कुडिनु स्वभाविक हो । उक्त प्रकरणमा शहरी योजना आयोगका उपाध्यक्ष सुमन नरसिंह राजभण्डारी नेतृत्वको छानबिन समितिले जे रिपोर्ट दिन्छ त्यसलाई अक्षरस पालना गर्ने उनको तयारी रहेको बुझिन्छ ।

आर्थिक मामिलामा एकदमै ‘क्लिन’ मेयर बालेन काम गर्ने जनप्रतिनिधि र कर्मचारीप्रति जति अत्यन्तै उदार र सकारात्मक छन् बदमासी गर्नेप्रति त्यति नै कठोर देखिन्छन् । यो कुरा उनले बदमासी गर्ने आफ्नै सचिवालय रहेका विश्वासपात्र कर्मचारीलाई निलम्बन गरेर प्रमाणित गरेका छन् ।

बालेनलाई अहिले एक इमानदार प्रमुख प्रशासकीय अधिकृतको खाँचो देखिन्छ । सायद उनले त्यस्तै कार्यकारी खोजिरहनेको भान हुन्छ । केही गरौं भनेर हुटहुटी लिएर काठमाडौं महानगरपालिकाका मेयर बनेका बालेनले भने जस्तो प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी भेट्न नसकेको देखिन्छ । सुशासनमा कुनै सम्झौता नगर्ने बालेन राम्रो टिम होस् भन्ने चाहन्छन् ।

काठमाडौं महानगरपालिका कार्यकारी पठाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि यो कुरा बुझ्न जरुरी छ । लोभ, लालच भएको र आफ्नो स्वार्थपूर्ति गर्ने स्वभावका सहसचिवभन्दा पनि कुनै लोभ, लालच र स्वार्थ नभएको, पारदर्शी र काठमाडौंको हितमा काम गर्न सक्ने इमानदार र क्षमतावान सहसचिवको काठमाडौं महानगरपालिकामा खाँचो देखिन्छ । जस्तो पायो त्यस्तो सहसचिव काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर चलाउन र टिक्न सक्ने देखिँदैन । बालेनको पछिल्ला एक्सनले त्यो कुराको स्पष्ट सन्देश दिएको छ ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, #सहसचिव बसन्त अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com