सरकारी जग्गामा चौधरी दाजुभाइको गिद्धे नजर : गंगालालतिर सीआईबीको हतारो, नर्भिकमा अदालत तगारो

बालेनको 'डोजर'लाई छले, किरणको 'रोजर'सँग गले !


समाचार टिप्पणी
काठमाडौं । बसन्त चौधरी नेतृत्वको नर्भिक अस्पतालले सरकारी जग्गामा अनधिकृत संरचना बनाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह डोजर लिएर पुगे । स्वास्थ्य लाइभले बसन्त चौधरी र नर्भिकको कर्तृत पर्दाफास गरेपछि बालेन एक्सनमा उत्रिएका थिए ।
बागमती प्रदेशका तत्कालीन पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको साथमा गएका बालेनले नर्भिकको अवैध संरचना २४ घण्टाभित्र खाली गराउन लिखित निर्देशन दिए । २४ घण्टा वितेपछि डोजर लिएर पुगेका बालेनलाई उक्त संरचना भत्काउन दिइएन । नर्भिक र महानगरको संयुक्त प्रविधिक टोली गठन गर्ने र उक्त टोलीले दिएको रिपोर्ट अनुसार भत्काउने सहमति भयो । उक्त सहमतिपछि बालेन डोजर लिएर ‘ब्याक’ भए । तर, नर्भिकले बालेनलाई छल्यो । सहमति अनुसार काम नगरी बसन्त चौधरीको टिम अदालत पुगेर अवैध संरचना नभत्काउन बालेनविरुद्ध आदेश लिएर आयो । बालेनलाई बसन्तको टिमले छल्नु र झुक्याउनुसम्म झुक्यायो ।

नर्भिकले सरकारी जग्गा कौडीको भाउमा हत्याएको र त्यहाँ अवैध धन्दा चलाइरहेको कुरा त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले उठाएका थिए । त्यसपछि उनको अभियानमा बोलेन जोडिन पुगे । तर, नर्भिकले बालेनसँग पनि बेइमानी देखायो । आफ्नो अवैध धन्दा जारी राख्यो ।
अदालत तगारो बन्दा अहिलेसम्म नर्भिकको अवैध संरचनामा बालेनको डोजर चल्न सकेको छैन । कौडीको भाउमा सरकारी जग्गा हत्याएर बसन्त चौधरीहरू रजाइँ गरिरहेका छन् । बालेन र दिपेन्द्र अदालको आदेश कुरेर बसिरहेका छन् ।

यता शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र सँगैको सरकारी जग्गा हडपेको विषयमा अरूण चौधरी समातिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको दशौं रोपनी जग्गा किर्ते गरेर हडपेपछि बसन्तका भाइ अरूण समातिएका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की निर्देशक किरण बज्रचार्यको कडा निर्देशन र निगरानीमा अरूण समातिन बाध्य भए । संघीय सांसद समेत रहेका विनोद चौधरी पनि समातिने उत्तिकै सम्भावना छ । अरूणसहितलाई जिल्ला अदालतबाट म्याद थपेर किर्ते र ठगीमा सीआईबीले अनुसन्धान थालेको छ ।

अरूण पक्राउ परेपछि उद्योगी व्यवसायीहरूको संगठनले भने उनी प्रतिष्ठित व्यापारी हुन् धरपकड नगरी बोलाएको भए आउने दाबी गरेका छन् । प्रतिष्ठित स्वास्थ्य संस्था नर्भिकका मालिक बसन्तले जस्तै अरूणले पनि अदालतबाट नपक्रनू भनेर निषेधाज्ञा लिएर आउँदैनन् भन्ने के ग्यारेन्टी थियो र ? बसन्तको नर्भिकले जस्तो एउटा सहमति गरेर अदालत जाने र रोक्ने काम सीआईबीको हतारोले अरूणले गर्न पाएनन् । बालेनको डोजर रोक्न र छल्न सक्ने बसन्तको ‘थ्योरी’ अरूणले प्रयोग गर्न पाएनन् । उनी किरणको ‘रोजर’सँग गलेरै छाडे ।

बाँसबासीको जग्गा हडप्नेमा तत्कालीन चौधरी ग्रुपका विनोद बसन्त र अरूण तिनै जना संलग्न रहेको तथ्यहरु बाहिर आउन थालेका छन् । यसले के देखाउँछ भने चौधरी दाजुभाइहरू सरकारी जग्गा विभिन्न तरिकाले हत्याउन सफल भएका रहेछन् । विभिन्न सञ्चार माध्यमले समेत उक्त कुरालाई उजागर गरेको छ । अब भने चौधरी दाजुभाइले सरकारी जग्गामा विभिन्न तरिकाले गरेको रजाइँलाई राज्यसंयन्त्रले मिहिन ढंगले केलाएर एक्सन लिनै पर्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सार्वजनिक सरोकार
ट्याग : #अरुण चौधरी, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #दिपेन्द्र श्रेष्ठ प्रदेश सांसद, #नर्भिक इन्टननेशनल हस्पिटल, #बसन्त चौधरी, #बाँसबारी छाला जुत्ता कारखाना

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com