सिंहदरबारको आँखैमा जनस्वास्थ्यमाथि गम्भीर खेलबाड, दसैँदेखिनै धूलो खान महानगरबासी बाध्य


काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूल गेटमै जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको छ । काठमाडौं महानगरपालिकाबाट बाटो कालोपत्रे (पिच) गर्ने ठेक्का पाएको कम्पनीले समयमै काम नगर्दा जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भएको हो ।

सिंहदरबारको पूर्व गेट बाजेको सेकुवा हुँदै धोबीखोला करिडोर जोडिने बाटो दसैँदेखि डोजर लगाएर धूलाम्य पारिएको छ । दैनिक हजारौं मान्छे हिँड्ने बाटो खनेर त्यत्तिकै छाड्दा जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।

सिंहदरबारको आडमै र बन्दै गरेको संघीय संसद भवन अगाडि नै जनस्वास्थ्यमाथि गम्भीर खेलबाड हुँदा जिम्मेवार सरोकारवाला निकाय हरू बेखबर देखिन्छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २९ अनामनगरस्थित दन्तकाली मार्ग र सहयोग मार्ग अहिले मास्क नलगाई हिँड्न सक्ने अवस्थामा छैन । ठेकेदार कम्पनी एक्टिभ मोर्डन कन्ट्रक्सन प्रालिले कालोपत्रे नगरी बाटो अलपत्र पार्दा लाखौं महानगरबासीको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

दैनिक मन्त्री र सांसदको ताँती लागेर हिँड्ने बाटो कालोपत्रे नहुँदा समेत कसैले चासो दिएको छैन । आफू चिल्ला गाडीमा हिँड्ने उनीहरुलाई जनताको स्वास्थ्यमाथि कुनै चासो र सरोकार रहेको पाइँदैन ।

गत असारमा उक्त सडक कालोपत्रे गर्ने ठेक्का एक्टिभले पाएको थियो । ठेक्का सम्झौता अनुसार माघ २९ गते (आजसम्म) उक्त बाटो कालोपत्र भइसक्नु पर्ने हो । तर, उक्त बाटो कालोपत्रे हुने कुनै सुरसार छैन । काम नगर्ने ठेकेदार कम्पनीलाई कसैले केही गर्न सकेको छैन । ठेकेदार कम्पनी एक्टिभसँग काठमाडौं महानगरपालिकाको गत असार १९ गते भ्याटबाहेक   १ करोड ३ लाख ५७ हजार ८ सय ५९ रुपैयाँमा उक्त बाटो कालोपत्रे गर्ने सक्झौता भएको थियो । तर, कालोपत्रे गर्ने ठेक्काको म्याद सकिने दिन पनि कालोपत्रेको कुनै तयारी देखिँदैन ।

दैनिक हजारौंको संख्यामा पैदलयात्री आवतजावत गर्ने बाटो कालोपत्रे नहुँदा काठमाडौं महानगरपालिकाको आलोचना हुन थालेको छ ।  स्थानीय वडाध्यक्ष लगायत कसैको प्राथमिकतामा उक्त बाटोको कालोपत्रे गर्ने काम परेको छैन । यो विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको ध्यानाकर्षण हुन जरूरी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com