स्वास्थ्यमन्त्री कै कारण कांग्रेससँग ‘ब्रेकअप’ गर्ने मुडमा प्रधानमन्त्री प्रचण्ड


समाचार टिप्पणी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन (सहकार्य) लाभदायक नभएको अभिव्यक्ति दिएका छन् । राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशबाट माओवादी केन्द्रले अघि सारेको उम्मेदवार हारेपछि नेकपा माओवादी केन्द्र कांग्रेससँग चिढिदै आएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने पक्षमा खुलेर अघि सरेका प्रचण्ड एकाएक ‘व्याक’ भएका छन् । उनले राष्ट्रिय सभाको अध्यक्षमा माओवादीको दाबी रहने स्पष्ट पारेका छन् । माओवादीले झक्कुप्रसाद सुवेदीलाई राष्ट्रिय सभाको अध्यक्षको रूपमा अघि सार्ने भित्रभित्रै तयारी थालेको छ ।

मन्त्रीहरु फेर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डको योजनामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘बाधक’ बनेपछि उनी कांग्रेससँग सशंकित बनेका छन् । प्रचण्ड स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, अर्थमन्त्री प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजालको कामकारबाही प्रति सन्तुष्ट छैनन् । उनी बहुचर्चित टेरामक्स घोटालामा मुछिएका स्वास्थ्यमन्त्री बस्नेतलाई जसरी पनि हटाउन चाहन्छन् । आईतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसको निम्तो मान्न पुगेका प्रचण्डले अख्तियारले ठूला माछा समात्दा सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । उनले टेरामक्स घोटालामा संलग्न स्वास्थ्यमन्त्री बस्नेतलगायतलाई भ्रष्टाचार मुद्दा दायर गर्न ‘ग्रिन सिग्नल’ दिएको धेरैले संकेत गरेका छन् ।

टेरामक्स प्रविधि खरिदको सूत्रधार तथा निर्णयकर्ता स्वास्थ्यमन्त्री बस्नेतले अख्तियार पुगेर बयान दिइसकेका छन् । अख्तियारले उक्त घोटालाको अनुसन्धान अन्तिम चरणमा पुऱ्याएको छ । टेरामक्समा जोडिएका स्वास्थ्यमन्त्री बस्नेतलाई जसरी पनि हटाउन प्रचण्डको रणनीति देखिन्छ । तर, कांग्रेस सभापति देउवा प्रचण्डको रणनीतिमा च्याखे थापी रहेका छन् । माओवादीले भित्रभित्रै एमालेसँग मिलेर सारथि फेर्ने तयारीलाई तीव्रता दिएको खुल्न आएको छ । माओवादीका धेरै नेताहरु एमालेसँग मिल्नु पर्ने पक्षमा लबिइङ गर्न थालेका छन् । यसले प्रचण्डलाई पनि दबाब महसुस हुन् थालेको छ ।

प्रधानमन्त्री प्रचण्ड घोटालामा अख्तियारको अनुसन्धानमा तानिएका मन्त्रीलाई साथमा लिएर हिँड्न चाहँदैनन् । उनी टेरामक्स घोटालामा भ्रष्टाचार मुद्दा दायर गरेर अख्तियारले आफ्नो क्षमता प्रदर्शन गरोस् भन्ने चाहन्छन् । यो संकेत प्रचण्डले अख्तियार दिवसकै दिन दिइसकेका छन् । परिस्थिति यसरी नै असहज बन्दै गए प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग ‘ब्रेकअप’ गर्ने दिन धेरै टाढा छैन भन्ने सहजै अनुमान लगाउन सकिन्छ । राष्ट्रिय सभा अध्यक्षको चुनावसम्म कांग्रेस-माओवादीको सहकार्य कायम रहनु ठूलो कुरा हो भन्ने राजनीतिक वृत्तमा टिप्पणी हुन थालेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस सभापति शेर बहादुर देउवा, #टेरामक्स प्रविधि, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com