स्वास्थ्य र शिक्षापछि सहकारीका हाकिम बालेनको निशानामा


काठमाडौं । स्वास्थ्य र शिक्षा विभागका हाकिममाथि एक्सन लिएका काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको ध्यान अहिले सहकारीतर्फ देखिएको छ । सहकारी विभागमा सेवाग्राहीसँग आर्थिक लाभ लिइरहेको सूचना बालेनलाई पुगेको छ । उक्त विषयमा उनले मिहिन ढंगले हेरिरहेको उनी निकट स्रोतले बतायो ।

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र शिक्षा विभाग प्रमुख सीताराम कोइरालामाथि एक्सन लिएका बालेनले सहकारी विभागका प्रमुखमाथि एक्सन लिए आश्चर्य नहुने स्रोतको दाबी छ ।

पछिल्लो समय सहकारी क्षेत्रमा व्यापक समस्या देखिएको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागमा यस्ता समस्या पुग्ने गरेका छन् । उक्त समस्यामा खेलेर विभागका कर्मचारीले आर्थिक लाभ लिइरहेको व्यापक चर्चा र गुनासो छ । स्वास्थ्य विभागका प्रमुख र शिक्षा विभागका प्रमुख जस्तै प्रमाण भेटे सहकारी विभागका प्रमुख कारबाहीमा पर्न सक्ने विश्वस्त स्रोतको भनाइ छ ।

काठमाडौं महानगरपालिकाको सहकारी विभाग प्रमुख बलराम त्रिपाठी रहेका छन् । उनको विभागले सहकारी संस्थालाई राम्रैसँग कज्याइरहेको सेवाग्राहीहरुबाट गुनासो आउन थालेको हो । यो विषयमा मेयर बालेनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

कर्मचारी भर्तिमा कार्यापालिका निर्णय किर्ते गरेको आरोपमा स्वास्थ्य विभाग प्रमुख पौडेल अहिले निलम्बनमा छन् । शिक्षा समितिको निर्णय आफैं गरेर रत्नराज्य स्कुललाई विज्ञान संकाय पढाउन अनुमति दिएको आरोपमा शिक्षाका प्रमुख कोइराला पनि कारबाहीमा परेका छन् । अब पालो सहकारी र राजस्वको हुन सक्ने महानगरभित्रै चर्चा चल्न थालेको छ ।

स्रोतका अनुसार सहकारी र राजस्वमा अहिले व्यापक घोटाला र चलखेल भइरहेको गुनासो आउने गरेको छ । तथ्य र प्रमाण भेटे उनीहरुको हालत पनि स्वास्थ्य र शिक्षाका हाकिमको जस्तै हुने देखिन्छ । सहकारी विभागमा दाम नभइ काम अगाडि नबढ्ने चर्चा छ । राजस्वको पनि बदमासी मिलाउन कर्मचारी सक्रिय छन् । राजस्वका कतिपय कर्मचारी त अब गोइयो भन्दै पुराना बदमासीको प्रमाण लोप गर्न सक्रिय रहेको महानगरभित्र चर्चा छ । झन्डै ४/५ जना कर्मचारीमाथि अहिले निगरानी भइरहेको स्रोतले बतायो ।

यता शिक्षा र स्वास्थ्यको हाकिममाथि कारबाही भएपछि उनीहरूको पक्षमा वडाध्यक्षहरू खुलेआम लागेका छन् । वडाध्यक्षहरु कर्मचारीलाई कारबाही गर्न नहुने पक्षमा खुलेर लागेपछि मेयर बालेन आक्रोशित बनेका छन् । उनले जनप्रतिनिधि भन्दा पनि दलको प्रतिनिधि भएर आफ्नो दल निकट कर्मचारी जोगाउन लागेको आरोप लगाएका हुन् ।

मेयर बालेनको भनाइ जस्ताको त्यस्तै

कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ ।कर्मचारी स्वयमले ‘मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्विकारेको पनि थाहा छ । यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो, वडाअध्यक्षज्युहरुको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल । यसलाई कर्मचारीको मनोबल के हुन्छ, मेयरले एकलौटी गर्न पाइदैन भन्ने जस्ता प्रश्नले छोप्न खोजिन्छ । साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनु होला । चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ । चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ । प्रस्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने । स्वच्छ कर्मचारीहरूको मनोबल झन् उँचो हुन्छ । गलत काम गर्ने जो कोहीलाई पनि कारबाही गरिनु पर्छ भन्ने उच्च मनोबलका कर्मचारीहरूको काठमाण्डौ महानगरमा कमि छैन ।

आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन जुन हदसम्म पनि जान सक्ने जनप्रतिनिधिहरूले साँच्चै स्थानीय सरकारको मर्म आत्मसाथ गर्न सकेको कसरी मान्ने ? जनप्रतिनिधिको आवरणमा कांग्रेस, एमाले र माओवादीका पार्टी प्रतिनिधि रहेको किन नभन्ने ? यस्तो गलत प्रवृतिले बन्छ त काठमाण्डौ ?

जनप्रतिनिधीहरुले जनताबाट म्यान्डेट लिएर आउँछन् । कर्मचारीहरू संविधान, ऐनकानुनको सीमामा बसेर जनप्रतिनिधीहरूलाई सहयोग गर्छन् । यो सम्बन्धलाई विश्वास र कानुनको पालनाले बलियो बनाउँछ, न कि जति भ्रष्ट भए पनि कर्मचारीले फाइल मिलाएर बचाइदिन्छन्, नेताले ढाकछोप गरिदिन्छन् भन्ने विचलनले ।

स्विकारी स्विकारी गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिंगो पार्टी लाग्छ भने यो भन्दा बिडम्बना अर्को के हुन्छ ? आशा गर्छु, कार्यपालिकामा छलफलका लागि ल्याइएको प्रस्ताव नै देखाएर एकलौटी निर्णय हो भन्दा लाज मान्ने जनप्रतिनिधीहरु देशभर आउन् । गलत गरिहालेछ, आफ्नै पार्टीको पर्यो, छोडिदिनुहोस् भन्ने खालका जनप्रतिनिधीहरू कहिँकतै नदेखिउन् ।

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #बलराम त्रिपाठी, #रामप्रसाद पौडेल, #शिक्षा विभाग प्रमुख सीताराम कोइराला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com