स्वास्थ्यमन्त्री बस्नेतको निहुँमा सदनमा दिनहुँ रडाको


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको निहुँमा सदनमा दिनहुँ रडाको मच्चिन थालेको छ । टेरामक्स प्रविधि घोटाला काण्डमा झण्डावाल गाडी लिएर बाहलवाला मन्त्री बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएपछि संसद्मा रडाको मच्चिएको हो ।

इतिहासमै पहिलोपल्ट बहालवाला मन्त्रीले झण्डावाल गाडीमा गएर अख्तियारमा बयान गरिएको भन्दै विशेषतः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा मागिरहेको छ । स्वास्थ्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने एमालेको अडान रहेको छ । उनैका कारण सदनमा दिनहुँ रडाको मच्चिन थालेको हो ।

स्वास्थ्यमन्त्री बस्नेतसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि प्रतिपक्षको टार्गेटमा छन् । उनीहरुको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सदनमा एक ठाउँमा उभिएका छन् ।

बालकुमारी घटनामा संलग्न भएको आरोपमा प्रतिपक्षी दलहरुले गृहमन्त्री र भौतिकमन्त्रीको राजीनामा मागेका हुन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले त गृहमन्त्री र भौतिकमन्त्रीलाई समातेर ज्यान मुद्दा लगाउनु पर्ने माग राखेका छन् । प्रधानमन्त्रीले बालकुमारी घटना हत्या भएको भनेकाले गृहमन्त्री, भौतिकमन्त्री र प्रहरीको डीएसपीमाथि ज्यान मुद्दा लाग्नु पर्ने उनको भनाइ छ ।

लुम्बिनीको रामग्राम क्षेत्र ९९ वर्षमा निजी कम्पनीलाई लिजमा दिएको घटनालाई लिएर पर्यटनमन्त्री सुदन किराँतीको प्रतिपक्षी दलहरुले राजीनामा मागेका छन् । स्वास्थ्यमन्त्री बस्नेत, भौतिकमन्त्री ज्वाला, गृहमन्त्री श्रेष्ठ र पर्यटनमन्त्री किराँती प्रतिपक्षी दलको तारोमा परेका छन् । उनीहरुको निहुँमा दिनहुँ जस्तो सदनमा रडाको मच्चिन थालेको हो । यो विषय अझै चर्किने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com