स्वास्थ्यमन्त्री फेर्न प्रधानमन्त्री प्रचण्डलाई देउवाको ‘ग्रीन सिग्नल’


काठमाडौं । टेरामक्स प्रविधि घोटाला काण्डमा मुछिएका विवादित स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘ग्रीन सिग्नल’ पाएका छन् । प्रधानमन्त्री दाहाल निकट स्रोतमा अनुसार स्वास्थ्यमन्त्री बस्नेत र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई हटाउन कांग्रेस सभापति देउवाले ‘ग्रीन सिग्नल’ दिएका हुन् । अर्थमन्त्री प्रकाशशरण महतलाई हटाउने विषयमा भने उनी मौन रहेको प्रधानमन्त्री निकट स्रोतले दाबी गऱ्यो ।

टेरामक्स प्रविधि घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर बयान दिएपछि स्वास्थ्यमन्त्री बस्नेत विवादित बनेका छन् । झण्डावाला गाडीमा बयान दिन अख्तियारमा पुगेपछि उनीमाथि नैतिक प्रश्न उठेको हो ।

संसद्‌मा स्वास्थ्यमन्त्री बस्नेतसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने काम भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले विवादित मन्त्रीको राजीनामा मागेर दिनहुँ संसदमा विरोध जनाइरहेका छन् । त्यसैले प्रधानमन्त्री प्रचण्डलाई विवादित मन्त्री हटाउन चर्को दबाब परिरहेको छ ।

टेरामक्स  घोटालामा मुछिएका स्वास्थ्यमन्त्री बस्नेत, बालकुमारी घटनामा मुछिएका भौतिकमन्त्री ज्वाला र गृहमन्त्री श्रेष्ठ तथा लुम्बिनीको रामग्राम ठेक्कामा मुछिएका पर्यटनमन्त्री किराँती अहिले सदनमा विपक्षीको तारो बनेका छन् । नेकपा एमालेले विवादित मन्त्रीले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भन्दै सदनमा अडान राखेको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले समेत अख्तियारले डामेका र आयोगले पोलेका मन्त्रीहरुलाई झण्डा छोपेर घर पठाइदिऊ भन्ने अभिव्यक्ति दिएका छन् । यसले प्रधानमन्त्री प्रचण्डमाथि थप दबाब सिर्जना भएको देखिन्छ ।

स्वास्थ्यमन्त्री बस्नेत र पर्यटनमन्त्री किराँती पछिल्ला अभिव्यक्तिले झन् विवादित बनेका छन् । पदीय मर्यादाविपरीत बोल्न थालेपछि उनीहरू विवादमा परेका हुन् । यसले ती मन्त्री हटाउन प्रधानमन्त्री प्रचण्डमाथि थप दबाब सुरु भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीचको भेटमा स्वास्थ्यमन्त्री बस्नेतलाई हटाउने विषयमा ‘ग्रीन सिग्नल’ मिलेको स्रोतको दाबी छ । जेठ १५ गते सदनमा बजेट प्रस्तुत गर्नुपर्ने भएकाले अहिले अर्थमन्त्री फेर्न नहुने कांग्रेसको अडान छ । फेरि गृहमन्त्री फेर्न भने उसैको दबाब छ । कांग्रेस महासमिति बैठकको निष्कर्ष सुनाउन प्रधानमन्त्री प्रचण्ड भेट्न पुगेका देउवाले मन्त्री फेर्न कांग्रेसले नरोक्ने संकेत गरेका छन् । यसले प्रधानमन्त्री प्रचण्ड उत्साहित रहेको स्रोतको भनाइ छ ।

फागुन १८ गते विवादित मन्त्रीको विषयमा संसद्‌मा जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् । बालुकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर सिफारिस गर्न कानुनमन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जिम्मा दिएको छ । त्यसपछि मात्र मन्त्री फेर्ने प्रधानमन्त्री प्रचण्डको तयारी बुझिन्छ । फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुने मिति तय भएकाले त्यस अगाडि नै प्रधानमन्त्री प्रचण्डले विवादित मन्त्रीहरू हटाउन सक्ने उच्च सम्भावना छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस सभापति शेर बहादुर देउवा, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com