स्वास्थ्यमन्त्री बस्नेत जोडिएको टेरामक्स घोटालामा मुद्दा लाने अख्तियार प्रमुख राईको संकेत


काठमाडौं । बहुचर्चित टेरामक्स प्रविधि घोटालामा भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकमार राईले संकेत गरेका छन् । संसदको सार्वजनिक लेखा समितिको बैठकमा मंगलबार उपस्थित भएका अख्तियार प्रमुख राईले टेरामक्समा भ्रष्टाचार मुद्दा दायर गर्ने संकेत गरेका हुन् ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल, सामान्य प्रशासन सचिव विनोदप्रकाश सिंह, प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङ, प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्की, गोकुल बाँस्कोटालगायतका उच्च अधिकारी जोडिएको टेरामक्स प्रविधि खरिदक  अनुसन्धान प्रक्रिया अख्तियारले अन्तिम चरणमा पऱ्याएको हो । संसदको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधिमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संलग्नमाथि भ्रष्टाचारमा मुद्दा दायर गर्न अख्तियारलाई निर्देशन दिएको थियो । लेखा समितिले टेरामक्स प्रविधि घोटाला अनुसन्धानको प्रगति विवरण हरेक महिना उपलब्ध गराउन समेत गत पुस ११ मा अख्तियारलाई निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार मंगलबार लेखा समितिमा उपस्थित भएर अख्तियार प्रमुख राईले टेरामक्स घोटालाको अनुसन्धान अन्तिम चरणमा पुगेकाे प्रस्ट पारेका हुन् ।

अख्तियार प्रमुख राईले टेरामक्स घोटालामा संलग्न सबै व्यक्तिहरुको बयान लिइसकेको समेत बताए । टेरामक्स प्रविधि खरिदको प्रमाण केलाउने काम भइरहेकाले छिट्टै टुंगोमा पुग्ने उनको भनाइ छ । टेरामक्स प्रविधि घोटालालाई स्वास्थ्य लाइभले निरन्तर फलोअप गरिरहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #टेरामक्स, #टेरामक्स प्रविधि, #मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ