स्वास्थ्यसहित बालेनको नगरका ७ महत्त्वपूर्ण विभाग महिलाको कमाण्डमा


काठमाडौं । स्वास्थ्यसहित काठमाडौं महानगरपालिकाका ७ महत्त्वपूर्ण विभाग महिलाको कमाण्डमा रहेका छन् । बालेनको नगर भनेर परिचित काठमाडौं महानगरपालिकाको स्वास्थ्य र शिक्षा विभाग नै महिलाको कमाण्डमा रहेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहित २९ वटा विभाग रहेका छन् । तीमध्ये मेयरको सचिवालयसहित ७ वडा विभागको नेतृत्व महिला सम्हाले मौका पाएका छन् । महिलाले नेतृत्व गरेका काठमाडौं महानगरपालिकाका विभागहरू अझ् सक्रिय र प्रभावकारी बनेकाे देखिन्छ । विभाग मात्र होइन बालेनको नगरका अधिकांश महाशाखा प्रमुख पनि महिला कै नेतृत्वमा रहेका छन् ।

देशैभरिका स्थानीय तहका उपप्रमुख (उपमेयर)मध्ये काठमाडौं महानगरपालिकाकी सुनिता डंगोल निकै चर्चामा छिन् । उनी हरेक हिसाबले देशभरका स्थानीय तहका उपप्रमुखमध्ये सबैभन्दा अगाडि देखिन्छन् । उपमेयर डंगोलभन्दा काठमाडौं महानगरपालिकाका विभागीय प्रमुखको जिम्मेवारी रहेका महिलाहरू कम देखिँदैनन् ।

पछिल्लो समय निकै चर्चामा रहेको स्वास्थ्य विभागको नेतृत्व सजिना महर्जनले गरिरहेकी छिन् । उनको नेतृत्वमा लक्षित वर्गलाई निःशुल्क उपचार गर्नेदेखि प्रविधिमैत्री बनाउनेसम्म काम भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि अहिले स्वास्थ्य क्षेत्रमा ‘फोकस’ गरिरहेका छन् । बालेनको ‘स्पिरिट’अनुसार सजिनाले सहजै काम गरेको देखिन्छ । साँच्चै भन्नुपर्दा स्वास्थ्य मन्त्रालयले गर्न नसकेको काम अहिले काठमाडौं महानगरपालिकाले गरिरहेको छ ।

काठमाडौं महानगरको सक्रियताले बदमासी गर्ने अस्पतालहरू हायलकायल भएका छन् । घरमै बसेरर लक्षित वर्गले महानगरभित्रका अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा लिन सक्ने अनलाइन व्यवस्था मिलाइएको छ । यसको अगुवाई सजिनाले गरिरहेकी छिन् ।

स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल विवादमा परेर हटाइएसँगै निमित्त प्रमुखको जिम्मेवारी सजिनाले पाएकी हुन् । महिलाले अवसर पाए भने गरेर देखाउँछन् भन्ने कुरा उनले प्रमाणित गरेकी छिन् । अहिले महानगरको स्वास्थ्य विभाग निकै चलायमान र चर्चामा छ । त्यसको श्रेय सजिनालाई नै जान्छ ।

काठमाडौं महानगरपालिकाको शिक्षा विभागको नेतृत्व पनि स्वास्थ्यमा जस्तै महिला कै काँधमा रहेको छ । बानेश्वरको रत्नराज्य स्कुलमा विज्ञान संकायमा ‘१०+प्लस टू’ चलाउने अनुमति दिँदा शिक्षा समितिको निर्णय आफैं गरेपछि विभागीय प्रमुख सीताराम कोइराला हटाइएसँगै सरस्वती पोखरेलले निमित्त प्रमुखको जिम्मेवारी सम्हालेकी छिन् । उनले पनि शिक्षा विभाग राम्रैसँग चलाइरहेको पाइन्छ ।

स्वास्थ्य र शिक्षालाई बालेनले विशेष प्राथमिकता राखेको देखिन्छ । त्यसै अनुसार यी क्षेत्रमा काम भइरहेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहको सचिवालयको कमाण्ड नै महिलाले सम्हालिरहेकी छिन् । शान्ता पहाडीले अहिले बालेनको ‘दाहिने हात’को भूमिकामा काम गरिरहेकी हुन् । स्वास्थ्य विभाग प्रमुख पौडेलसँगै एउटै काण्ड लागेर मेयरको सचिवालय प्रमुख नूरनिधि न्यौपानेलाई हटाइएपछि पहाडीको काँधमा मेयरको सचिवालय निमित्त प्रमुखको जिम्मेवारी आएको हो । उनले मेयरको सचिवालय राम्रैसँग व्यवस्थापन गरिरहेको देखिन्छ ।

काठमाडौं महानगरपालिकाको महत्त्वपूर्ण मानिने सहरी व्यवस्थापन विभागको प्रमुख पनि महिलाको कमाण्डमा पुगेको छ । सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यको सार्वजनिक निर्माण विभागमा सरूवा भएसँगै त्यो ठाउँमा अर्चना श्रेष्ठ (शाक्य) आएकी छिन् । नक्सापास र घरको मापदण्ड हेर्ने समेत उक्त विभागको काम हो । नर्भिक अस्पतालदेखि अल्फबिटाको रेकर्ड हेर्नेसम्मको जिम्मेवारी अर्चनाको काँधमा छ । स्वास्थ्य मन्त्रालयको अवैध संरचना भत्काउनु पऱ्यो भने काठमाडौं महानगरपालिकाका मेयर बालेनले अर्चनाको साथ लिनुपर्छ । उनले पनि सहरी व्यवस्थापन विभाग राम्रैसँग व्यवस्थापन गरिरहेको पाइन्छ ।

काठमाडौं महानगरपालिकाको अर्को महत्त्वपूर्ण विभाग हो समाजिक विकास विभाग । उक्त विभागका प्रमुख गोपाल पोखरेल बढुवा भएर हेटौंडा उपमहानगरपालिका पुगेपछि विमला कोइरालाले निमित्त प्रमुखको जिम्मेवारी पाएकी छिन् । सामाजिक क्षेत्रमा निकै खर्च गरिरहेको काठमाडौं महानगरपालिकाले त्यो विभागको जिम्मेवारी महिलालाई दिएको छ । सामाजिक क्षेत्रमा भइरहेको महानगरको बजेट दुरुपयोग रोक्न र त्यसलाई सही ठाउँमा उपयोग गर्न विमलाको महत्त्वपूर्ण भूमिका हुन्छ । उनले आफ्नो जिम्मेवारीलाई सदुपयोग गर्ने विश्वास लिइएको छ ।

कला, संस्कृति, सम्पदाले धनी काठमाडौं महानगरपालिकाको सम्बन्धित विभाग हेर्ने प्रमुख नै महिला छिन् । काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग निमित्त प्रमुखको जिम्मेवारी अहिले इरू श्रेष्ठले पाएकी छिन् । ऐतिहासिक सम्पदा, परम्परालाई निरन्तरता दिँदै आएको काठमाडौं महानगरपालिकाले त्यो ठाउँमा पनि महिलालाई जिम्मेवारी दिएको छ । बालेनले फाल्चा (पाटी-पौवा), ढुंगेधारा (हिटी), पोखरीलगायतका ऐतिहासिक सम्पदा संरक्षणमा विशेष जोड दिँदै आएका छन् । काठमाडौं महानगरले सम्पदा क्षेत्रलाई पनि प्राथमिकता राखेको छ ।

हरेक निकायको सबैभन्दा महत्त्वपूर्ण ठाउँ वा क्षेत्र हो योजना, अनुगमन तथा मूल्यांकन । काठमाडौं महानगरपालिकाको योजना, अनुगमन तथा मूल्यांकन एकाई पनि महिलाको कमाण्डमा रहेको छ । सुमित्रा लामिछाने सुवेदी अहिले महानगरको योजना, अनुगमन तथा मूल्यांकन एकाई प्रमुखको भूमिकामा रहेकी छिन् । महिलाको नेतृत्वमा सवार काठमाडौं महानगरपालिकाको योजना, अनुगमन तथा मूल्यांकन एकाईले पनि राम्रै काम गरेको चर्चा छ ।

महिलाको कमाण्डमा रहेका काठमाडौं महानगरपालिकाका ७ विभागहरू

🔴सजिना महर्जन-निमित्त स्वास्थ्य प्रमुख,

🟠सरस्वती पोखरेल-निमित्त शिक्षा विभाग प्रमुख,

🟡शान्ता पहाडी-मेयरको सचिवालय निमित्त प्रमुख,

🔵अर्चना श्रेष्ठ (शाक्य)-सहरी व्यवस्थापन विभाग प्रमुख,

🟣विमला कोइराला-समाजिक विकास विभाग निमित्त प्रमुख,

🟢इरू श्रेष्ठ-सम्पदा तथा पर्यटन विभाग निमित्त प्रमुख,

🟤सुमित्रा लामिछाने सुवेदी-योजना, अनुगमन तथा मूल्यांकन एकाई प्रमुख,

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #अर्चना श्रेष्ठ, #इरु श्रेष्ठ, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग, #विमला कोइराला, #शान्ता पहाडी, #सजिना महर्जन, #सरस्वती पोखरेल, #सुमित्रा लामिछाने सुवेदी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com