स्वास्थ्यको भत्तादेखि साइकल खरिदसम्म जोगिएका हरि मैनाली


काठमाडौं । नेपाल सरकारका सचिव हरिप्रसाद मैनाली स्वास्थ्यको भत्तादेखि साइकल खरिदसम्मको अनियमिततामा जोगिएको पाइएको छ । उनलाई अख्तियार दुरूपयोग आयोगले ती प्रकरणमा उन्मुक्ति दिएको खुल्न आएको हो ।

पाल्पाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुँदा उपस्थिति नै नभई भत्ता बुझेको आरोपमा अख्तियारको छानबिन दायरामा आएर जोगाइएका मैनाली मधेश प्रदेशको प्रमुख सचिव हुँदा पनि साइकल घोटालामा जोगिएको पाइएको छ । यो विषयमा अख्तियारका अनुसन्धान अधिकारीहरु नै छक्क पर्दै आएका छन् ।

सचिव हरिप्रसाद मैनाली

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयबाट गुणस्तरहीन साइकल खरिदको अनियमिततामा संलग्नमध्ये कारबाही गर्नुपर्नेमा तत्कालीन प्रमुख सचिव हरिप्रसाद मैनालीलगायत पनि रहेको अख्तियारका अनुसन्धान अधिकारीहरू सुनाउँछन् ।  उक्त प्रकरणमा मैनालीसहित अर्जुन पोखरेल, गोकर्णमणी दवाडी र दीपक सुवेदीले पनि अख्तियारबाट उन्मुक्ति पाएको बुझिन्छ । मैनाली हाल महालेखा नियन्त्रण कार्यालयमा सचिव (महालेखा नियन्त्रक)का रुपमा कार्यरत रहेका छन् ।

सचिव भएको एक वर्षमै मधेश प्रदेश, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, उपराष्ट्रपतिको कार्यलय र महालेखा नियन्त्रण कार्यालय चाहारेका मैनालीलाई ‘तिहुन चखुवा’ सचिव भनेर सिंहदरबार वृत्तमा चर्चा हुने गरेको छ । मधेश प्रदेशमा साइकल खरिद काण्डमा अख्तियारले अनुसन्धानको तीर सोझ्याउने निश्चित भएपछि उनीलगायत संलग्नहरू अख्तियार मिलाउने भन्दै गठबन्धन बनाएर तल्लिन भएकाे चर्चा थियो । नभन्दै अख्तियारमा राजनैतिक प्रभाव हावी हुन पुग्यो । मुख्यमन्त्रीविरुद्ध मुद्दा लग्नुपर्ने लगभग निश्चित भएपछि मैनाली, पोखरेल, दुवाडी र सुवेदीले समेतलाई अख्तियारले जोगाएको आरोप लाग्ने गरेको छ । १० करोड ३३ लाख रुपैयाँ बिगो कायम भएको गुणस्तरहीन साइकल खरिद निर्णय एवं भुक्तानीमा जोडिएकाहरुलाई अख्तियारले उन्मुक्ति दिएको आरोप लाग्दै आएको हो । तर, हालसम्म पनि राज्यको यत्रो रकम खर्च भएका ती साइकलहरु खिया लागेर बसेका छन्   त्यसमा संलग्नहरु पुरस्कृत भईरहेका छन् ।

आफूलाई हालका राष्ट्रपतिका ज्वाईं भनेर धाक लगाउने मैनाली एक वर्ष पनि मधेश प्रदेशमा नबसी महिला मन्त्रालय सरुवा भएर आए । त्यहाँ पनि उनले केही आर्थिक गडबडी गर्न लागेको कुरा तत्कालीन मन्त्री उमा रेग्मीलाई कसैले सुनाईदिएपछि मन्त्रीले उनलाई कारबाही गर्ने भन्ने अवस्थामा उनी मन्त्रीसँग भनाभन गरेर उपराष्ट्रपतिको कार्यालय सरुवा भए । अधिकृत हुँदा र सहसचिव हुँदा महिला मन्त्रालयमा लामो समय बसेर खाईखेली हुर्किएका मैनालीले त्यहाँ मन्त्रीलाई नटेरी आफूखुशी गर्ने छाँट देखाएपछि करिब ३ महिनामै सरुवा भएको महिला मन्त्रालय उच्च स्रोत बताउँछ ।

उपराष्ट्रपति कार्यालयमा सचिव मैनाली ३ महिना पनि टिक्न सकेनन् । धेरै नबोली भित्रभित्र गोटी चाल्ने र सोर्सफोर्स लगाउने कार्यमा सिपालु सचिव मैनाली सो पश्चात महालेखा नियन्त्रक कार्यालयमा जमेर बसेका छन् । गृहसचिव हुन अहिलेका सचिवहरुमध्ये सबैभन्दा आफूलाई योग्य भनेर गफ दिने गरेको उनका सहकर्मीहरु बताउँछन् । गृह मन्त्रालय, लोक सेवा आयोग वा अख्तियारमध्ये कुनै एक निकायमा मात्र सरुवा भएर जाने भनी जेहाद छेडेका मैनाली सरकार परिवर्तन भएसँगै पुनः शक्तिकेन्द्र धाउने कार्यलाई केही समय रोकेर पर्ख र हेरको अवस्थामा रहेको महालेखाका अधिकारीहरु सुनाउँछन् ।

निर्णय क्षमता कमजोर, काममा संधै अप्ठारो पार्ने स्वभाब र स्वच्छ छवि नभएका मैनालीलाई खासै कुनै मन्त्रीले पनि रुचाउँदैनन् । काम नगर्ने सचिवको परिचय बनाएका ऊनी ‘जागिर खाने र ज्यान पाल्ने’ कर्मचारीको रुपमा चर्चित छन् । लेखाको सरुवामा एउटा सानो समूहलाई परिचालन गरेर सरुवा सेटिङमा निकै विवादित भई वेलावेलामा विभिन्न मिडियामा समाचारहरु छताछुल्ल भईरहेको अवस्था छ । पछिल्ला दिनमा महालेखाको‌ सरुवामा ठूलो रकमको चलखेल हुने गरेको अवस्था छ । यसमा उनले लेखापाललाई परिचालन गर्ने गरेको स्रोतले बतायो ‌‌। यसमा मैनालीले मौन समर्थन गरेर ब्यापक फाइदा लिईरहेको महालेखाका अधिकारीहरु बताउँछन् ।

मैनाली पाल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदा कार्यक्षेत्रमा नगई स्वास्थ्य कार्यालयबाट दैनिक भ्रमण भत्ता बुझेको र कार्यालयमा नै बसेको देखिएको भनी अख्तियारमा उजुरी पऱ्यो । उनलाई बयानको लागि समेत बोलाईयो । सबै प्रमाण एवं कागजातहरुले उनी कार्यालयमा हुँदा स्वास्थ्यलगायत अन्य कार्यालयबाट समेत दैनिक भ्रमण भत्ता बुझेको देखिए पश्चात उनलाई अख्तियारले भ्रष्टाचार मुद्दा लगाउने निश्चित थियो । तर तत्कालीन प्रमुख आयुक्त नविन घिमिरे गृह कै ‘क्याडर’ भएको हुँदा उनले मैनालीलाई कारबाही हैन संरक्षण गरेको आरोप लाग्दै आएको छ । दैनिक भ्रमण भत्ताको रकम फिर्ता गर्न लगाएर उनको उजुरीलाई त्यसै डिसमिस पारिएको थियो । यसरी पटकपटक अख्तियार दुरुपयोगको फन्दामा पर्दै जोगिदै आएका मैनाली एक मात्र भाग्यमानी सचिवको रुपमा अहिलेसम्म ढुक्कले जागिर खाईरहेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## सचिव, #महालेखा परीक्षकको कार्यालय, #हरिप्रसाद मैनाली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com