यूएसएडको दादागिरीः सरकारी अधिकारीको सम्बोधनमा अपमान, प्रस्तुतीमा सरकारी सिस्टम नै बाइपास

विवाद चर्किएपछि सचिव डा. रोशन पोखरेलद्वारा यूएसएडका कार्यक्रममा प्रतिबन्ध


काठमाण्डौ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरूले पहिलोपटक एक आईएनजीओ (यूएसएड) प्रति कठोर कदम चालेका छन् । उनीहरूले यूएसएडले गरेका कार्यक्रमको कुनै औचित्य नभएको बताएका छन् । हालै गरिएको एन्टिबायोटिक रेसिस्टेन्स अवेयरनेसबाहेक कुनै काम जनतामुखी नभएको औँल्याएका छन् ।

बुधबार राजधानीको एक लक्जरी होटलमा गरिएको कार्यक्रममा उपस्थित सरकारी अधिकारीहरूले यूएसएडको कार्यक्रम बहिष्कार गर्नेदेखि उसले एक वर्षमा गरेका कामबारे मुखभरिको जवाफ दिएर हिँडेका छन् ।

युएसएआइडीको याक एण्ड यति होटलमा बुधबारदेखि पोट फुलियो रिभ्यु मिटिङ  सुरु भएको छ । यसको अर्थ भनेको युएसएआइडीले एक वर्षमा सरकारसँग गरेका काम कारबाहीको समीक्षा हो । यस वर्षको समीक्षामा राम्रो मन माझामाझ भएको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् । उक्त कार्यक्रममा यूएसएडको दादागिरी यति सम्म भयोकी, सरकारी अधिकारीको सम्बोधनमा अपमान गरियो भने, उनीहरूले गरेको प्रस्तुतीमा सरकारी सिस्टममै बाइपास गराइयो । आईएनजीओहरूले सबै सरकारी सूचकहरू आफूले बनाएको दाबी गरे ।

अधिकारीहरूले बताए अनुसार युएसएआइडीको काम गर्ने मोडालिटी दुई किसिमबाट हुन्छ । पहिलो सरकारको रातो किताबमा बजेट आउँछ । दोस्रो बजेट युएसएआइडीकै खातामा रहन्छ स्वास्थ्य मन्त्रालयसँग अनुमति मात्रै लिने काम हुन्छ । अनुमति मात्रै लिएको कार्यक्रमको सञ्चालन र खर्च आफैले गर्ने गर्छन् ।

युएसएआइडी आफैले सञ्चालन गर्ने बजेटका लागि कार्यक्रम गर्ने विभिन्न एनजिओ खडा गरिएको हुन्छ । ससाना एजेन्सीबाट कार्यक्रम हुने गरेका छन् । जस्तै एफ एच आई तीन सय ६०, सुहारा, हेल्दिक्याप इन्टरनेशन जस्ता थुप्रै संस्थाहरू खडा गरिएको छ । उनीहरूले युएसएआइडीको पैसा ल्याएर खर्च गर्छन् ।

भएको घटना के हो ?

यी नै विभिन्न संस्थाहरूबाट एक वर्षमा सरकारसँग मिलेर गरेका कामका बारेमा जानकारी दिने र समीक्षा गर्ने कार्यक्रम थियो । यसका लागि सबै सरकारी अधिकारीहरूलाई बोलाइएको थियो । सङ्घबाट मात्रै थिएन र प्रदेशबाट समेत उच्च अधिकारीहरूलाई याक एण्ड यती होटलमा बोलाइएको थियो । औपचारिक कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलको बाहेक युएसएआइडीले कसैको नाम लिएन । तर, युएसएआइडीका चरा, मुसा सबैको सम्बोधन थियो ।

आफ्नो स्वार्थका लागि अतिरिक्त सचिव, महानिर्देशकहरू महाशाखा, शाखाका अधिकारीको पाउ मोल्न पुगेका युएसएआइडीका कर्मचारीले आफ्नो एक वर्षे कामको समीक्षामा सरकारी उच्च अधिकारीको पाउ परेर काम गरेको इतिहासलाई सहजै तिलाञ्जलि दिए ।

सकेको पनि कसरी हरे ! म भए, लाजले थचक्कै बस्थे तर, युएसएआइडीका पदाधिकारी त्यै पनि गर्वका साथ एक अर्कामा हातेमालो गर्दै अगाडि बढे । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र प्रसाद मरासिनीले सचिव बाहेक सबैको अपमान गरेको भन्दै उक्त कार्यक्रम प्रति आपत्ति जनाए । यति मात्र हैन निर्देशक मरासिनीले एक वर्षमा युएसएआइडीले गरेका काम कारबाही प्रति समेत प्रश्न उठाए र हलबाट बाहिरिए ।

युएसएआइडीको उक्त कार्यक्रमले अतिरिक्त सचिवको समेत अवमूल्यन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव तथा पूर्व महानिर्देशकहरूले युएसएआइडीको निशुल्क चिया मात्रै खाने काम गरे । सचिवसँगै दौरा सुरुवाल लगाएर रिभ्यु मिटिङमा पुगेका डा दिपेन्द्रलाई कुनै सम्बोधन नभएपछि चिया मात्रै खाएर फर्किएका थिए । कार्यक्रममा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्रा भने सहभागी भएकी थिएनन् ।

“डा रुद्र मरासिनी भन्छन्, “अतिरिक्त सचिव, महानिर्देशक, महाशाखा प्रमुख कसैको नाम कार्यक्रममा युएसएआइडीले नलिए पछि मैले अपमानित भएको महसुस गरे ।” एक छाक भतेरमै कर्मचारी किन्न पाइन्छ भन्ने गलत मनसाय राखेर कार्यक्रम अगाडि बढाएपछि अहिले युएसएआइडी समस्यामा परेको छ ।

युएसएआइडीले गरेको कार्यक्रममा सचिव बाहेक अतिरिक्त सचिव, महानिर्देशक र महाशाखा प्रमुखले कहाँ बस्ने भन्ने सम्म टुंगो लगाउन सकेनन् । कर्मचारीले आसन ग्रहण खोजेका हैनन् तर, उनै सरकारी कर्मचारीको पाउ परेर पेट पालिन्छ भने उनीहरूको सम्मान गर्न सक्नु पर्छ ।

प्रदेशका सचिव, स्वास्थ्य निर्देशनालय प्रमुखहरू सबै आएका थिए । उनीहरूको पनि कुनै सम्बोधन नभएपछि बहिष्कार गरेर हिँडेका थिए । केही फाइदा लिएकाहरू भने यति गर्दा पनि जुका टासिएको जसरी दिनभरी बसेका थिए ।

सम्बोधनमा अपमानीत , प्रस्तुतीमा बाइपास

सम्बोधनमा सरकारी उच्च अधिकारीलाई अपमानित बनाएको युएसएआइडीले प्रस्तुतीकरणमा झन सरकारलाई बाइपास गरेको छ । हेन्डिक्याप इन्टरनेशनलले डिजाबिलिटीमा गरेको काम, सुहाराले पोषणमा गरेको काम, कर्णालीमा काम गर्ने एस एस बि एचले तथ्यांक प्रस्तुत गरेका थिए । उक्त तथ्यांक सबै आफैले मात्रै गरेको देखाएका थिए ।

कर्णालीमा मातृ मृत्युदर घटेको छ । यो मातृ मृत्युदर युएसएआइडीको एस एस बि एचले घटाएको हो ? त्यस्तै पोषण कार्यक्रमले कुपोषणमा उल्लेख्य सुधार आएको छ । तर, त्यो उपलब्धि युएसएआइडीका कारणले गरेको हो ? अधिकारीहरूले प्रश्न गरेका छन् । विगतमा जस्तो एउटा जहाज टिकट र मासु भातमा बिक्ने कर्मचारीहरूको स्वास्थ्यमा खडेरी पर्दै गएको छ । त्यसैले मासु भात खुवाएर सरकार निकम्मा भएको विदेशीलाई देखाएर आफ्नो भुँडी भर्ने काम एनजीओका साथिहरुले गर्नु आफैमा लज्जाको विषय हो ।

कुपोषणमा उल्लेख्य सुधार आएको छ । यसमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, साथै विदेशबाट रेमिट्यान्स आएको छ । यसले विगतमा भुँडीभरि खान नपाएकाहरू खान पाएका छन् । आवश्यक सामान किन्न सक्ने क्षमता बढेको छ । यी कुराहरू पक्कै पनि युएसएआइडीको कार्यक्रमले भएको हैन ।

डा रुद्र मरासिनी
निर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

स्वास्थ्यमा लगानी गर्ने एउटा कोष छ । त्यसमा सरकार, दातृनिकाय, विभिन्न क्षेत्रका सघ सस्था, प्रदेश र स्थानीय सरकारले समेत रकम जम्मा गरेको छ । उक्त बास्केटबाट निस्केका उपलब्धि केही मापन गर्न सकिने हुन्छ भने केही मापन गर्न नसक्ने हुन्छ । नाप्न सक्ने मुख्य सूचकांक छन् ती मेरा कारणले भएको हो, भन्ने परिपाटीको विकास सबैमा भएको छ । यो कुनै युएसएआइडी प्रतिको मात्रै लक्षित भनाई हैन । मेरो कारणले भयो भन्ने भ्रम सबैले बाहिर निकाल्नु पर्छ ।

कुनै सहयोगी संस्थाले कार्यक्रममा प्रस्तुती गर्छ भने, त्यहाँ प्रस्तुत गरेका तथ्याङ्कहरू सरकारी गर्नुपर्छ । उक्त तथ्यांकमा हाम्रो पनि सहयोग रहेको छ भन्न पाइन्छ तर, सबै हामीले गरेको भनेर देखाउन पाइदैन । युएसएआइडीले गरेका कामहरू जनतामुखी हुनुपर्छ । सेवासँग सम्बन्धित कार्यक्रम देखिएको छैन । जहाँ कर्मचारी छैन त्यहाँ क्षमता वृद्धिका कार्यक्रम राखेर कुनै अर्थ छैन । अब समय सापेक्ष काम कारबाही हुनुपर्छ । हामीले कार्यक्रम स्वीकृत गर्ने हो । हामीले छाडा छोडेका कारण पनि आइएनजिओको मनोपली बढेको हो । यसलाई अब सुधार गर्नुपर्ने छ ।

डा रोशन पोखरेल, सचिव 

युएसएआइडी र मन्त्रालय मिलेर काम गर्नुपर्छ । सबैले गर्ने भनेको नेपालको स्वास्थ्य सुधारका लागि हो । तर, केही समन्वयको अभावले गर्दा युएसएआइडीका कार्यक्रममा प्रश्न उठेको छ ।

युएसएआइडी र स्वास्थ्य मन्त्रालयको बीचमा समन्वय देखिएन ।  युएसएआइडीको रकम राज्यलाई ट्याक्स तिरेको हुन्छ । हाम्रो पैसा हो । आफ्नै पैसाको सही प्रयोग युएसएआइडीबाट भएन ।

युएसएआइडी जति जिम्मेवार छ, हामी पनि त्यतिनै जिम्मेवार छौं । काम गर्ने तौल तरिकालाई तत्काल सुधार गर्नुपर्ने छ । सुधार देखिने गरि काम हुनुपर्छ ।  आगामी दिनमा शाखा, महाशाखाका प्रमुखहरूसँग अनुमति नलिईकन कुनै पनि काम युएसएआइडीले अगाडि बढाउन पाउँदैन ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com