सुन तस्कारी काण्डमा कारबाही सिफारिस भएका झलकराम अधिकारी चीनमा रमाउँदै


काठमाडौं । सुन तस्करीका नाइके दाबा छिरिङसँग कनेक्सन देखिएर कारबाही सिफारिस भएका झलकराम अधिकारी अहिले चीनमा रमाइरहेका छन् । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्य नेतृत्वको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले अधिकारीमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । गृहमन्त्री रवि लामिछाने नै अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारी सुन तस्करीका नाइके दाबासँग कनेक्सनमा रहेको प्रमाण बोकेर बसेका छन् । तर उनी सचिव बढुवाको तालिम लिएर अवलोकन भ्रमणका लागि चीन पुगेका हुन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ निर्देशक विनोदकुमार विष्टको नेतृत्वमा शुक्रबार नै २६ को टोली बेइजिङ प्रस्थान गरेको हो । अधिकारीसहित २३ जना सहसचिवको टोली चीनको सार्वजनिक प्रशासनबारे जानकारी लिने उद्देश्यले बेइजिङ पुगेको हो । उक्त टोली एकसाता बेइजिङमै अल्मलिने छ ।

सचिवमा बढुवा हुनका लागि चाहिने एसइडिपी (सिनियर एक्जुकेटिभ डेभलपमेन्ट प्रोग्राम) तालिममा लिएका सहसचिवहरू बेइजिङ पुगेका छन् । भारतलगायत मुलुकमा उक्त तालिममा सहभागी हुने सहसचिवहरूलाई अवलोकन भ्रमण गराइए पनि चीनमा भने पहिलोपटक लगिएको हो ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन दिनेवित्तिकै गायब भएका सहसचिव अधिकारी चीन जाने अन्तिम दिन भिसा प्रोसेसिङका लागि झुल्किएका थिए । सुन आयोगको प्रतिवेदन कार्यान्वयन गर्छु भनेर गृहमन्त्री लामिछाने तातेपछि अधिकारी एक्कासी हराएका थिए । तर, प्रतिवेदन अनुसार समातिएका कृष्णबहादुर महरा छुटेपछि अधिकारी पनि चीनतर्फ  लागेका हुन् ।

दाबाको अधिकारीसँग कनेक्सन रहेको प्रमाण तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई रविले नै दिएका थिए । तर, उनलाई ‘सुनपानी छर्किएर’ सर्लक्क जोगाइयो । प्रमाण लिएर बसेका रवि गृहमन्त्री भएपछि अधिकारीमाथि छानबिन हुने आम विश्वास थियो । तर, नारायणकाजी चीनमा रहेकै बेला अधिकारी पनि चीनमै पुगे रवि हेरेको हेरै भए । डराएका अधिकारी महरा छुटेसँगै ढुक्क हुनुले कतै प्रतिवेदन फासफूस पारेर कुरा त मिलाइए न भन्ने आशंका पैदा भएको छ । गृहमन्त्री रविले सुन आयोगको प्रतिवेदन कार्यान्वयनमा थप चासो देखाएकाले उक्त आशंकामा बल पुगेको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #एसईडिपी, #गृहमन्त्री रवि लामिछाने, #चीन, #झलकराम अधिकारी सहसचिव, #सुन तस्करी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com