आईटी र औषधि माफियाको जालो तोड्दै अख्तियार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईटी र औषधि माफियाको जालो तोड्न थालेको छ । आईटी माफिया विकल पौडेल, सुनिल पौडलदेखि औषधि माफिया विशाल पण्डित, भीमकान्त भण्डारीलगायत अख्तियारको फन्दामा परेका छन् । तर, आईटी र औषधि माफियाका नाइके नवीन तुलाधार भने फुक्काफाल देखिन्छन् ।

स्वास्थ्य लाइभले आईटी र औषधिमा माफियाराज चलाउने व्यक्तिहरुको नेक्सस खुलासा गरेको थियो । त्यसमा नवीन तुलाधर, विकल पौडेल, सुनिल पौडेल, विशाल पण्डित, तुलहरि भुसाल, अकबर हुसेन, दीपक भट्ट, भीमकान्त भण्डारी, रामचन्द्र भट्टलगायतको नाम रहेको छ ।

आईटी माफिया विकल र सुनिल अहिले अख्तियारको हिरासतमा छन् । विशाललाई हालै कोभिडको बेलामा कोशीमा स्वास्थ्य सामग्री खरिद घोटालामा ३ करोडको मुद्दा अख्तियारले हालेको छ । भीमकान्त पनि अकुतको भन्दामा परिसकेका छन् । विध ल्याबका मालिक उनी सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको फन्दामा समेत परेका छन् । कोभिडको बेला स्वास्थ्य सामग्री खरिदका विषयमा समेत विध ल्याबका मालिक भीमकान्तमाथि थप छानबिन भइरहेको छ ।

अर्का आईटी माफिया हुसेन पनि टेरामक्स प्रविधि  खरिदमा जोडिएका छन् । टेरामक्समा उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा जाने सम्भावना देखिन्छ । ओम्नीका तुलहरि पनि निर्वाचन आयोगको प्रिन्टर र स्वास्थ्य सामग्री खरिद घोटालामा अख्तियारको छानबिन दायरामा रहेको पाइन्छ । अर्का माफिया दीपक भट्ट पनि भ्रष्टाचारमा डामिएका व्यक्ति हुन् । दूरसञ्चारका अर्का माफिया रामचन्द्र भने अहिलेसम्म जोगिरहेका छन् ।

विध ल्याबमा समेत लगानी भएका र भियतनाममा बस्दै आएका कुपण्डोलस्थित होटल हिमालयनका मालिक नवीन भने फुक्काफाल छन् । आईटी र औषधि माफियाका नाइके उनी सबैतिर मिलाउन खप्पिस देखिन्छन् । भीमकान्तका विजनेस पार्टनर र ओम्नीका तुलहरिसँग जोडिएका नवीनसँग भने अख्तियार पनि मौन छ । हरेक कुरामा विशाल, तुलहरि भीमकान्तहरुलाई संरक्षण गर्दै आएका आईटी र औषधि माफियाका नाइके नै हुन भन्दा फरक पर्दैन । नवीन छानबिन तथा कारबाहीको दायरामा आएमात्र आईटी र औषधिमाथिको जालो तोड्न अख्तियार सफल हुने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##विशाल पण्डित, #अकबर हुसेन, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #आईटी र औषधि माफिया, #ओम्नी समूह तुलहरि, #दीपक भट्ट, #नवीन तुलाधर, #भीमकान्त भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com