नवीनको डिजाइनमा आईटीदेखि औषधिसम्म माफियाराज

देश लुट्न नवीन तुलाधार, विशाल पण्डित, तुलहरि, भीमकान्त, विकल पौडेल एउटै गिरोहमा सक्रिय


समाचार टिपण्णी

काठमाडौं । नवीन तुलाधरको डिजाइनमा नेपालमा सूचना प्रविधि (आईटी)देखि स्वास्थ्य क्षेत्र (औषधि)सम्म माफियाराज रहेको छ ।

कुनै बेला हवाई माफिया र दबाई माफियाले देश चलाएको चर्चा चल्ने गरेको थियो । अहिले आईटी र औषधि माफियाले देश र सरकार चलाउने गरेको चर्चा छ ।

हतियार खरिदका बिचौलिया दिपक भट्टको ‘टेप’ सार्वजनिक भएसँगै आईटी र औषधि माफियाको गिरोह चलाउन सक्रिय नवीन तुलाधर लण्डनतिर लागेका छन् । मेडिकल सामग्री खरिद घोटालामा मुछिएको ओम्नी इन्टरनेसनलका अध्यक्ष समेत रहेका नवीन दिपक भट्टको ‘केस’ सार्वजनिक भएसँगै लण्डनतिर लागेका हुन् । उनीहरूबीच नियमित उठ्बस रहँदै आएको छ ।

ललितपुरको पुल्चोकस्थित होटल हिमालयनका मालिक नवीन सिंगापुर र भियतनाम बस्दै आएका थिए । उनीमाथि सिंगापुरका कर छलीको ‘केस’ लागेपछि भियतनाम बसेर नेपालमा ‘दलाली’ व्यवसाय गरिरहेका थिए । कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिन थालेपछि नवीन नेपाल फर्किए । ‘मास्टर माइन्ड’को रुपमा परिचित नवीन नेपालमा आएलगत्तै ओम्नीका तुलहरिसँग मिलेर चीनबाट मेडिकल सामग्री खरिद गर्ने योजना बनाए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतसँग सेटिङ गरेर नवीन र तुलहरिले उक्त विवादित ठेक्का हत्याएका थिए ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग सेटिङ गरेर नवीन-तुलहरि- अकबर हुसेनको ओम्नी-म्याक्स जेभीले विद्यालयमा सूचना प्रविधि (आईटी) ल्याब निर्माण गर्ने ठेक्का पाएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले डेढ अर्ब पर्ने उक्त आईटी ल्याबको ठेक्का लागत बढाएर ३ अर्ब पुर्‍याई सेटिङमा उक्त बिचौलियाको गिरोहलाई ठेक्का दिएको थियो । आईटी ल्याबको ठेक्का सेटिङमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी प्रमुख विकल पौडेल र तत्कालीन राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सुनिल पौडेलको समेत संलग्नता रहेकाे थिए । अहिले त्यहिँ बिचौलिया गिरोहले सुनिललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउन सफल भएको छ ।

माफियाका नाईके नवीन तुलाधार

मेडिकल सामग्री खरिदको असफल प्रयासपछि नवीनले चीनबाट भेरोसेल खोप खरिद गर्ने योजना बनाए ।  भीमकान्त भण्डारीको विथ ल्याबमा उनको अदृश्य लगानी रहेको छ । भेरोसेल खोप खरिदका लागि मेडिकल क्षेत्रका माफियाका रुपमा परिचित विशाल पण्डितको हस्पिटेक प्रालिसँग मिलेर अगाडि बढेका थिए । अनामनगरस्थित बसेरा बुटिक होटलका मालिक विशाल र पुल्चोकस्थित हिमालयन होटलका मालिक नवीनबीच भेरोसेल खोप खरिदको सेटिङले घनिष्ठ सम्बन्ध स्थापित गरिएको हो । यो सम्बन्ध बनाउन भीमकान्तको ठूलो भूमिका छ ।

नवीन, विशाल र भिमकान्तले भेरोसेल खोप खरिद गर्न तत्कालीन प्रधानमन्त्री ओलीसँग सेटिङ मिलाइसकेका थिए । तर सरकार परिवर्तन भएकाले उनीहरूको सेटिङ र योजनामा तुषारापात भयो ।

नवीन तुलाधरका दुई भाइहरू राजेश तुलाधर र दिनेश तुलाधर हुन् । तर नवीनले राजेश र दिनेशलाईभन्दा भीमकान्तलाई बढी विश्वास गर्ने गरेको जानकारहरु बताउँछन् । कतिसम्म भने परिवारिक छलफलमा समेत नवीनले भीमकान्तलाई साथमा राख्ने गरेका छन् । भीमकान्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएपछि नवीनकै डिजाइनमा त्यो मुद्दा निष्क्रिय पार्न सर्वोच्च अदालतमा रिट दर्ता गरिएको थियो । यद्यपि उक्त रिट जारी हुन सकेन । तर त्यो रिट सर्वोच्चमा दर्ता हुनु नै आश्चर्यको विषय रहेको न्याय क्षेत्रका जानकारहरू बताउँछन् ।

विथ म्यानेजमेन्टको बैंक खाता अख्तियारले रोक्का गरिदिएको छ । यो खाता खोल्न उनीहरु सर्वोच्च अदालतबाट सेटिङ मिलाउन लागिपरेका छन् । भीमकान्तको अकुत सम्पत्ति लुकाउने नवीनको बैंक खाता भने अख्तियार ‘फ्रिज’ गर्न सकेको छैन । यो गिरोहको अकुत सम्पत्ति छानबिन गर्न जरूरी छ ।

नवीनले हिमालयन होटलमा सचिवदेखि मन्त्रीसम्मलाई बोलाएर त्यहीँबाट सिंहदरबार चलाउँछन् भन्ने चर्चा छ । त्यहीँ सिको गर्दै विशालले पनि बसेरा बुटिक होटलमा भीआईपी मिटिङ गराउँदै आएका छन् । विशालले स्वास्थ्यका ठेक्कामा गरेको बदमासीको फेहरिस्त स्वास्थ्य लाइभले सार्वजनिक गरिसकेको छ ।

नवीनको गिरोहमा अहिले तुलहरि, भीम, विकल, सुनिल, अकबर गोकर्ण सिटौलालगायत सक्रिय रुपमा लागेका छन् । गोकुल बाँस्कोटाको सेक्युरिटी प्रेसमा ७० करोडको ‘टेप’ काण्ड सार्वजनिक भएपछि विकल-सुनिल ग्याङ कमजोर बनेको थियो । एमआरपी, डम्बोस्ड नम्बर प्लेटलगायत आईटीका ठूल्ठूला ठेक्कामा सेटिङ मिलाउँदै आएको विकल-सुनिल ग्याङलाई फेरि नवीनले श्वास भर्ने काम गरे । उनले विकल र सुनिललाई फेरि आईटीमा माफियाराज चलाउने हैसियतमा पुर्‍याए ।

सुनिललाई टेलिकमको एमडी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवादेखि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसम्मलाई मिलाउने काम नवीनले गरेका थिए । हिमालयन होटलको सिसिटिभी फुटेज हेर्ने हो नवीन, सुनिल, विकलहरूसँग र सरकारी उच्च अधिकारीहरु कोठे बैठकमा गएको देखिने होटलकै कर्मचारी बताउँछन् ।

आरजुको ‘व्याकप’मा बसेर सूचना प्रविधिसम्बन्धी नियुक्ति र ठेक्कामा चलखेल गर्ने अर्का व्यक्ति रामचन्द्र भट्ट हुन् । भट्ट पनि बिचौलियाको रुपमा हरेक ‘फ्याकटर’ मिनाउन सक्रिय रहँदै आएका छन् ।

सुनिललाई टेलिकमको एमडी बनाउनुको पछाडि नेपाल टेलिकमको डाटा सेन्टर स्थापनाको खेल हो । करिब ३० अर्बको डाटा सेन्टरको ठेक्का ओम्नी, म्याक्स र डब्ल्यूडीएन मिलेर सेटिङमा हत्याउन खोजिरहेका छन् । उक्त गिरोहले आर्थिक चलखेल गरेर कानुन नै फेरेर आरजु-ज्ञानेन्द्रहरूमार्फत सुनिललाई टेलिकममा लान सफल भएको चर्चा छ ।  सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा कानुन नै फेरेर विकलाई फेरि नियुक्त दिनुको रहस्य पनि त्यहीं बिचौलिया समूह भएको चर्चा छ ।  टेलिकमको डाटा सेन्टरबाट नियुक्तिमा गरेको लगानीको प्रतिफल खाने बिचौलियाहरूको दाउ देखिन्छ ।

विराटनगरका सामन्य व्यक्ति अकबर हुसेनले काठमाडौंको कमलादीमा भव्य म्याक्स टावर खडा गरिसकेका छन् । त्यो टावरमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अलीको पनि अदृश्य लगानी रहेको चर्चा छ । तर त्यो टावर र हुसेनको सम्पत्ति छानबिन गर्न राज्यका जिम्मेवार निकायले सकेका छैनन् । आईटीदेखि औषधिसम्म माफियाराज चल्नुको राज यो पनि हो । सरकारभन्दा माफिया शक्तिशाली भएकाले यी क्षेत्रमा माफियाराज चलेको देखिन्छ ।

 

क्याटेगोरी : विचार, सार्वजनिक सरोकार, सुशासन
ट्याग : ##विशाल पण्डित, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #आईटी औषधि माफिया, #ओम्नी समूह तुलहरि, #नवीन तुलाधर, #भीमकान्त भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com