आफैले थापेको ‘एम्बुस’मा परे बागमतीका मेयर भरतकुमार थापा

'रिल लाइफ'मा जस्तै 'रियल लाइफ'मा देखाउन खोज्दा नराम्ररी चिप्लिए


काठमाडौं । ‘कांग्रेसलाई कुटेर तह लगाएँ । एमालेलाई फकाएर आफ्नो पक्षमा ल्याएँ । माओवादी त आफ्नै पार्टी भइहाल्यो त्यसै भोट हालिहाले ।’, पहिलोपटक सर्लाहीको बागमती नगरपालिकाको प्रमुख मेयरमा निर्वाचित भएपछि भरतकुमार थापाले दिने गरेको प्रतिक्रिया हो यो । दोस्रोपटक जित्दा उनले धेरै कस्ट नै गर्नु परेन । किनकि सर्लाहीमा बागमती नदी नै खाल्डोमा खसाएर आफ्नै नामको भरत तालले भरतकुमार थापा त्यसै चर्चित बने । उनलाई दोस्रोपटक बागमतीको मेयरमा भोट हाल्ने होइन खसाल्ने काम भयो । जसरी उनले भरत तालमा बागमती नदी खसाले ।

भरत तालको विषयमा पनि विवादित कुराहरु छन् । चुरेको फेदीमा अवस्थित भरत ताल बन्नुभन्दा अगाडि थापाले त्यहाँको ढुंगा, माटो र बालुवा बेचेर कुस्त कमाए । त्यसपछि सरकारी बजेटबाट माछा पोखरी खनाए । माछा पोखरीमा सिंगै बागमती हालिदिएपछि विशाल ताल बन्यो । गाउँलेले बोटिङ सुरू गरे । हुँदाहुँदै पर्यटकीय गन्तव्य बन्यो र उक्त माछा पोखरी विस्तारै भरत तालका रूपमा परिचित भयो । मेयर भरतकुमार थापा त्यसबाट रातारात मालामाल भए ।

बागमतीका मेयर भरतकुमार थापा मालामाल भएको त बुधबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा हालेको अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगको मुद्दाबाटै सहजै अनुमान लगाउन सकिन्छ । अख्तियारले सार्वजनिक पद धारण गरेका बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरतकुमार थापाले सार्वजनिक पदको दुरुपयोग गरी ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर छ । उनीसँगै अख्तियारले एकासगोल परिवारका सदस्यहरु श्रीमती रेश्मी कुमारी घिमिरे थापा, भाई राम कुमार थापा र भाइबुहारी द्वारीका राउतविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कुल वैधानिक आयलाई थापा गरेको कुल व्ययसँग तुलना गर्दा निजको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआई ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बराबरको सम्पत्ति ऋणात्मक देखिएको अख्तियारको निष्कर्ष छ । त्यसैलाई आधार मानेर अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

रोचक कुरा त के छ भने बागमती नगरपालिका, सर्लाहीका मेयर थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन पऱ्यो । २०७४ असोज ७ गतेदखि मेयरको कार्यभार सम्हालेदेखि २०७९ माघ २९ गतेसम्मको अवधिलाई आधार मानेर अख्तियारले उनको सम्पत्ति जाँच गर्दा झन्डै साँढे ५ करोड सम्पत्तिको स्रोत खुल्न सकेन । त्यसपछि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको देखिन्छ ।

अख्तियारले मेयर थापामाथि अनुसन्धान सुरु गरेपछि त्यसलाई प्रभावित पार्न उनी विभिन्न शक्ति केन्द्र धाए । प्रधानमन्त्रीलाई समेत प्रयोग गरेर अनुसन्धान प्रभावित पार्ने असफल प्रयास गरे । शक्ति केन्द्रबाटै तानन्तार दबाव आउन थालेपछि मेयर थापालाई स्रोत खुलाउन नसकेको सम्पत्तिको स्रोत खुल्ने कागजात पेस गर्न अवसर दिएको अख्तियार कै अधिकारीहरु सुनाउँछन्। मेयर थापाले स्रोत त पेस गरे तर उनले पेस गरेको कागजातको बदमासी खुल्न समय लागेन ।

थापाले सबै कागजात बनाएर पेस गरेपछि अख्तियारले परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइदियो। प्रयोगशालाले उनले पेस गरेका कागजात तात्तातै तयार पारेको पुष्टि गरिदियो । त्यसपछि मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएरै छाड्यो । कांग्रेसलाई कुटेर र एमालेलाई फकाएर भोट लिए जस्तो अख्तियारका अनुसन्धान अधिकृतहरुको विश्वास लिन मेयर थापाले सकेनन् ।  भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका मेयर थापा अब विशेष अदालतमा धाउनु पर्ने अवस्था आएको छ । विशेषबाट मुद्दा हारे उनको राजनीतिक ‘करियर’ नै समाप्त हुने छ ।

मेयर थापाको जीवनीमा आधारित चलचित्र ‘मेयर’ छायांकनको क्रममा रहेको छ । दीपेन्द्र के खनालद्वारा निर्देशित उक्त चलचित्र प्रदर्शनमा नआउँदै उनी भ्रष्टाचारमा डामिएका छन् । चलचित्र ‘मेयर’मा थापाको भूमिकामा रहेका खगेन्द्र लामिछानेले अख्तियारमा बयान दिएको दृश्य पनि राखिएको चर्चा छ । अख्तियारमा ‘फर्जी’ कागजात पेस गरेर ‘केस’ प्रभावित पार्न खोजेको मेयर फिल्ममा ‘सिन’ राखिएको हुनुपर्छ । त्यसैले उनले वास्तविक जीवनमा पनि त्यस्तै गर्न खोजेको बुझ्न सकिन्छ ।

‘रिल लाइफ’मा जस्तै ‘रियल लाइफ’मा देखाउन खोज्दा मेयर थापा नराम्ररी चिप्लिएका छन् । अख्तियारले किर्ते कागजतमा अनुसन्धान गरी मुद्दा चलाउन प्रहरीलाई लेखी पठाउने हो भने उनी अर्को मुद्दामा पनि फस्ने देखिन्छ । बागमतीका मेयर थापा अहिले आफैले थापेको ‘एम्बुस’मा परेको चर्चा चल्न थालेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #चलचित्र 'मेयर', #भरत ताल, #भरतकुमार थापा बागमती नगरपालिका-मेयर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com