सिआईबीद्वारा मान्छे मार्नेलाई नक्कली लाइसेन्स दिने अख्तियारका इन्जिनियर अर्यालविरुद्ध मुद्दा दायर

फर्जी लाइसेन्स लिने-दिने र बिचौलियालाई समेत बनाइयो प्रतिवादी


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले मान्छे मार्ने व्यक्तिको नाममा नक्कली लाइसेन्स जारी गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इन्जिनियर सुरजप्रकाश अर्यालविरुद्ध किर्तेमा मुद्दा दायर गरेको छ ।

थुनामा रहेका व्यक्तिलाई लिखित र ट्रायलबिनै ‘B’ क्याटेगोरीको लाइसेन्स उपलब्ध गराउने धन्दामा संलग्न रहेको भन्दै सिआईबीले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उक्त मुद्दाको मंगलबार थुनछेक बहस हुने जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंका अधिकारीहरुले जानकारी दिए । यातायात व्यवस्था विभागका तत्कालीन इन्जिनियर (हाल अख्तियार) सुरजप्रकाश अर्यालको डिजाइनमा संगठित रूपमा किर्ते गरेर थुनामा रहेका व्यक्तिलाई नक्कली लाइसेन्स उपलब्ध गराउने काम भएको सिआईबीको दाबी छ ।

अर्यालसहित यातायात व्यवस्था कार्यालय, बुटवलमा सहायक कम्प्युटर अपरेटरमा करारमा कार्यत् नारायणप्रसाद पाण्डे तथा यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश  भट्टलाई पनि पनि उक्त मुद्दामा प्रतिवादी बनाइएको छ ।बिचौलिया अकरामुद्दिन मुसलवान र अरुण कार्की भन्ने लट्टु नाउ, लाइसेन्स लिने शशांकका बाबु-छोरा सहित ७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो । अर्याल, पाण्डे र भट्टबाहेक अरु सबै फरार प्रतिवादी हुन् ।

सिआईबीका अनुसार स्याङ्जाका १८ वर्षीय शशांक बस्यालले २०८० असारमा लाइसेन्स बिनै कार हाँकिरहेका थिए । उनले चलाएको कारको ठक्करबाट कृष्णप्रसाद भट्टराई नाम गरेका व्यक्तिको ज्यान गयो । उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लियो । शशांका बुवा यातायात क्षेत्रमै काम गर्ने भएकाले मोटरसाइकलको मात्रै लाइसेन्स भएकाले नक्कली लाइसेन्स जारी धन्दामा सक्रिय सुरजप्रकाश अर्याल र हरिश भट्टको गिरोह उनको सम्पर्कमा पुग्यो । आर्थिक लेनदेनमा कुरा मिलेपछि यातायात व्यवस्था विभागका तत्कालीन इन्जिनियर सुरजले शिवपुजन मल्लाह नाम गरेका व्यक्तिको  लाइसेन्समा छेडखानी गरेर बुटवलमा कार्यरत कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेको टिमलाई सबै विवरण भर्न लगाए । त्यसलाई फेरि सुरजले ‘फाइनल टच’ दिएपछि हरिश भट्टले लाइसेन्स प्रिन्ट गरे । जबकी त्यो काम हरिश भट्ट कार्यक्षेत्रमै पर्दैन थियो । नक्कली लाइसेन्स पाएपछि कारले हानेर मान्छे मार्ने  स्याङ्जाली शशांक चाँजोपाँजो मिलाएर थुनामुक्त भए ।

काठमाडौंस्थित यातायात व्यवस्था विभागबाट कम्प्युटर सुरजप्रकाश अर्याल, हरिश भट्ट र बुटवलबाट कम्प्युटर अपरेटर नारायण पाण्डेको गिरोहले संगठित रूपमै कारले हानेर मान्छे मार्ने शशांक बस्याललाई नक्कली लाइसेन्स उपलब्ध गराएको सिआईबीले किटान गरेपनि संगठित अपराधमा मुद्दा चलाएको छैन । हेर्दा सीधै संगठित किसिमको अपराध देखिए पनि सिआईबीले सुरजको टिमविरुद्ध किर्तेमा मात्र मुद्दा चलाएको छ ।

शशांकको ‘केस’ त अहिले सतहमा मात्रै आएको हो । यस्तो धन्दा सुरजको गिरोहले निरन्तर गर्दै आएको सिआईबीका अधिकारीहरूको दाबी छ ।  उनीहरुको काम नै लाइसेन्सबिनै मोटरसाइकल गाडी चलाएर मान्छे मार्ने ‘क्लाइन्ट’ खोज्दै पैसा लिएर नक्कली लाइसेन्स उपलब्ध गराउने रहेको सिआईबीका अधिकारीहरु बताउँछन् । सुन्दै आङ सिरिङ्ग-सिरिङ्ग गर्ने खालको अपराधमा संलग्न कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याललाई नक्कली लाइसेन्सको छानबिन गर्न भन्दै अख्तियार लगिएको थियो । सिआईबी स्रोतका अनुसार अर्याल आफ्नै मुद्दा मिलाउन अख्तियार गएको देखिन्छ । त्यो कुरा उनले संकेत गरेको स्रोतको भनाइ छ ।

क्याटेगोरी : समाचार
ट्याग : #इन्जिनियर हरिश भट्ट, #नक्कली लाइसेन्स, #नारायण पाण्डे नक्कली लाइसेन्स, #यातायात व्यवस्था विभाग, #सिआईबी, #सुरज प्रकाश अर्याल, #सुरजप्रकाश अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ