मृत अवस्थामा भेटिएका सीडीई नवीनलाई विकलले इम्बोस्डमा पनि प्रयोग गरेका थिए


काठमाडौं । भक्तपुरस्थित घरको भऱ्याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका वन तथा वातावरण मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) मेकानिकल नवीनकुमार पोखरेल भ्रष्टाचारी विकल पौडेलका अत्यन्तै निकट व्यक्ति हुन् । विकल र नवीनको नङ र मासुको जस्तै सम्बन्ध रहेको उनी निकट व्यक्तिहरु सुनाउँछ ।

सूचना प्रविधिसम्बन्धी ठूल्ठूला ठेक्कामा विकलको टिममा रहेर काम गर्दै आएका नवीनको मृत्यु रहस्यमय तरिकाले भएको छ । के कारणले उनको मृत्यु भएको हो प्रहरी अनुसन्धानपछि थप कुरा पत्ता लाग्ला । तर, यातायात व्यवस्था विभागदेखि सुरक्षण मुद्रण केन्द्रसम्मका ठेक्कामा विकलको दाहिने हात भएर काम गरेका नवीनको मृत्युको विषयमा प्रहरीले गम्भीर ढंगले अनुसन्धान गर्नु पर्ने देखिन्छ ।

ओखलढुङ्गाको माम्खाबाट सप्तरीको पोखरेल टोल हुँदै विराटनगर पुगेका नवीन पछिल्लो समय परिवारसहित भक्तपुरमा बस्दै आएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगलको टोलीले २०७२ साल पुसमा प्राविधिक निर्देशक नवीनलाई यातायात व्यवस्था विभागबाट १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । दुई वर्ष पछाडि प्रमाण नपुगेको भन्दै उनले विशेष अदालतबाट सफाइ पाएका थिए । एभोन साइकल्स लिमिटेडले नेपालगन्ज नाकाबाट ल्याउन लागेका ३६ थान इलेक्ट्रिक स्कुटरको लागि विभागबाट स्वीकृति लिन सिफारिसपत्र माग गर्दा नवीनले प्रतिस्कुटर ५ हजार रुपैयाँ घुस रकम लिएको आरोपमा अख्तियारको भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो । तर, विशेष अदालतका न्यायाधीशद्वय बाबुराम रेग्मी र चण्डिराज ढकालको संयुक्त इजलाशबाट उनले सफाइ पाए । नवीन यातायात व्यवस्था विभागबाट प्रकाउ पर्दा चन्द्रमान श्रेष्ठ महानिर्देशक रहेका थिए ।

घुस रकम रकमसहित पक्राउ परेका नवीनले सफाइ पाए पनि सुरक्षण मुद्रण केन्द्रको ट्रान्सफर्मर खरिदमा गत जेठ ८ गते उनी विशेष अदालबाट भ्रष्टाचारी ठहर भएका हुन् । विशेष अदालतमा मुद्दा परेको ८ वर्षपछि विकलको संगतले फेरि उनलाई लगातार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्न थालेको छ । 

इम्बोस्ड नम्बर प्लेटबाट विकलसँग जोडिएका नवीन त्यसपछि उनको विश्वास पात्र भएर काम गरिरहेका थिए । २०७२ सालमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सीडीई हुँदा उनी इम्बोस्ड नम्बर प्लेटको ठेक्कासम्बन्धी समितिका बसेर काम गरेका थिए । त्यसलगत्तै इम्बोस्डको काम गर्न यातायात व्यवस्था विभाग पुगेका नवीन अख्तियारको फन्दामा परे । इम्बोस्ड नम्बर प्लेटका मुख्य योजनाकार विकलका विश्वासपात्र नवीन सुरक्षण मुद्रण केन्द्रका प्रमुख ठेक्कामा जोडिएको पाइन्छ । इबोस्ड घोटालामा पनि अख्तियारले विस्तृत अनुसन्धान थालेको छ । यसैबीच उनी मृत अवस्थामा फेला परेका हुन् । नवीन अख्तियारको फन्दामा परेपछि उनको ठाउँमा गोविन्दप्रसाद खरेललाई ल्याइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकलविरुद्ध हालेको ४ वटा भ्रष्टाचारका मुद्दामध्ये नवीन २ वटा मुद्दामा जोडिएका छन् । एउटामा त उनी विकलसँगै भ्रष्टाचारी ठहर भएका हुन् । सुरक्षण मुद्रण केन्द्रको ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै नवीनलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलाशले ६ महिना कैद र ५ करोड ८४ लाख विगो र त्यो बराबरको जरिवाना हुने फैसला गरेको हो ।

गत बैशाख ३० गते सुरक्षण मुद्रण केन्द्रले म्याक्स इन्टरनेसलसँग खरिद गरेको झन्डै ४१ करोडको उपकरण खरिद  गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले  विकल र नवीनसहितलाई विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ । नवीनलाई अख्तियारले हालेको यो तेस्रो भ्रष्टाचारको मुद्दा थियो । यातायात, उद्योग, शिक्षा, वन जुन मन्त्रालयमा भएपनि सुरक्षण मुद्रण केन्द्रको खरिदमा विकलले सीडीई नवीनलाई प्रतिनिधि बनाउने गरेको पाइन्छ । यातायातमा हुँदा इम्बोस्डमा विश्वास दिलाएका कारण विकलले नवीनलाई अत्यन्तै विश्वास गरेको सुरक्षण मुद्रण केन्द्रबाट भएका ठूल्ठूला खरिदमा उनी जोडिनुले पुष्टि हुन्छ । सुरक्षण मुद्रण केन्द्रका हरेक जसो खरिदमा नवीनलाई विकलले संलग्न गराएको पाइन्छ । १ वर्षभन्दा कम सेवा अवधि बाँकी रहेका सीडीई नवीनको अनाहकमा नै ज्यान गएको छ ।

विकल र सुनिलले प्रयोग गर्नेमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका सफल श्रेष्ठ र रमेश पोखरेल पनि पर्छन् । यातायात व्यवस्था विभागमा विकलले प्रयोग गर्ने अर्का कम्प्युटर इन्जिनियर (हाल प्राविधिक उपसचिव) हुन् राजकुमार महर्जन । महर्जन अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्राविधिक उपसचिवका रुपमा कार्यरत छन् । उनी पनि यातायात व्यवस्था विभागमा कार्यरत रहँदा नक्कली लाइसेन्सदेखि इम्बोस्ड नम्बर प्लेट प्रकरणसम्म जोडिएका व्यक्ति हुन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #इम्बोस्ड नम्बर प्लेट, #नवीनकुमार पोखरेल सीडीई, #विकल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ