इम्बोस्ड घोटालामा विकल पौडेलसँग यसरी जोडिए गोगन-राजकुमार


काठमाडौं । बहुचर्चित इम्बोस्ड नम्बर प्लेट खरिद घोटालामा विकल पौडेलसँग सुरुवाती चरणदेखि नै गोगनबहादुर हमाल, राजकुमार महर्जनलगायत जोडिएको पाइएको छ । इम्बोस्डमा आइटी माफिया विकल र लोकल एजेन्ट सिद्धार्थ पाण्डेसँग जोडिएका गोगन-राजकुमार  नक्कली लाइसेन्स जारी काण्डमा पनि मुछिएका छन् ।

राज्यकोष ब्रह्मलट गर्ने प्रपञ्चका साथ विकल-सिद्धार्थको डिजाइनमा अघि सारिएको इम्बोस्ड नम्बर प्लेट खरिद घोटालामा अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गरिरहेको छ । इम्बोस्ड नम्बर प्लेट खरिद घोटालाको भुक्तानी प्रक्रियामा सामेल यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशकहरू रुपनारायण भट्टराई, गोगनबहादुर हमाल, डा. टोकराज पाण्डे, नमराज घिमिरे, सुरेश साउन, नारायणप्रसाद भट्टराईलगायतलाई बयानका लागि बोलाउने तयारी भइरहेको अख्तियार स्रोतले स्वास्थ्य लाइभलाई बतायो । इम्बोस्ड नम्बर प्लेटको हरेक भुक्तानीमा प्राविधिक उपसचिव रामचन्द्र पौडेल अख्तियार स्रोतको दाबी छ । यो विषयमा अख्तियारले यातायात व्यवस्था विभागसँग भुक्तानीको सम्पूर्ण विवरण मागिसकेको पाइन्छ ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बंगलादेशी कम्पनीे डेकाटुर इन्डस्ट्रिजलाई इम्बोस्ड नम्बर प्लेटको भुक्तानी दिन दबाब दिएका थिए । तर, यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहालले ठाडै अस्वीकार गरेको स्रोतको भनाइ छ । अहिले पनि रघुवीरले इम्बोस्डको ५ करोड भुक्तानी दिन यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई दबाब दिइरहेका चर्चा छ । तर, इम्बोस्डमा अख्तियारले छानबिन सुरू गरेपछि उनी डराएका छन् । थप भुक्तानी दिने विषयमा अहिले यातायात व्यवस्था विभागभित्र तहल्का मच्चिएको सुनिन्छ ।

२०७२ मा इम्बोस्ड नम्बर प्लेटको ठेक्का लगाउने उद्देश्यले विकल-सिद्धार्थ ग्याङले यातायात व्यवस्था विभागको महानिर्देशकमा चन्द्रमान श्रेष्ठलाई ल्याएको थियो । अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको ठाडो निर्देशनमा चन्द्रमानलाई यातायात ल्याइएको हो । चन्द्रमानले उनै लोकमानका नातेदार सिद्धार्थ पाण्डे लोकल एजेन्ट भएको बंगलादेशी कम्पनीे डेकाटुर इन्डस्ट्रिजले इम्बोस्ड नम्बर प्लेटको ठेक्का दिलाएका हुन् ।

इम्बोस्ड नम्बर प्लेट खरिदमा विकल पौडेल आफै संलग्न भएर यातायात व्यवस्था विभागका महानिर्देशकसमक्ष मूल्याङ्कन प्रतिवेदन पेस गरेको देखिन्छ । तर, हालै यातायात व्यवस्था विभागले अख्तियारलाई इम्बोस्डमा विकल संलग्न नभएको जवाफ पठाएको खुल्न आएको छ । अख्तियारले उक्त जवाफ पठाउने कार्यमा संलग्न गैरजिम्मेवार कर्मचारीमाथि समेत थप छानबिन गर्न आवश्यक छ ।

इम्बोस्ड नम्बर प्लेटको ठेक्कामा संलग्न गोगनपछि यातायात व्यवस्था विभागको महानिर्देशक भएर गएको तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ । विकलको समितिले दिएको मूल्याङ्कन प्रतिवेदनलाई कार्यान्वयन गर्न अर्जुनकुमार थापाको संयोजकत्वमा एउटा समिति बनेको स्वास्थ्य लाइभलाई प्राप्त कागजातबाट देखिन्छ । उक्त समितिमा कम्प्युटर इन्जिनियर राजकुमार महर्जन र मेकानिकल इन्जिनियर गोगनबहादुर हमाल पनि रहेको तथ्य फेला परेको हो । इम्बोस्डमा जोडिएका गोगनलाई पछि विकल-सिद्धान्त ग्याङले नै यातायात व्यवस्था विभागको महानिर्देशक बनाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारीहरूको दाबी छ ।

मेकानिकल इन्जिनियरबाट सीधै प्रशासनको सहसचिव भएका गोगन लामो समयसम्म यातायात व्यवस्था विभागको महानिर्देशकमा टिकेका थिए । उनलाई यातायात व्यवस्था विभागको महानिर्देशक बनाउन र टिकाउन विकल-सिद्धान्त ग्याङको महत्त्वपूर्ण भूमिका रहेको बताइन्छ । इम्बोस्डमा जोडिएका गोगन-राजनुमार नक्कली लाइसेन्स जारी धन्दामा समेत मुछिए पछि उक्त विषयमा पनि अख्तियार छानबिनको तयारी थालेको छ ।

इम्बोस्डमा जोडिएका विकल अहिले अख्तियारको हिरासतमा पुगेका छन् । गोगन अहिले गृह मन्त्रालय अन्तर्गत रहेर काम गरिरहेका छन् भने राजकुमार सञ्चार मन्त्रालयको साइबर सुरक्षामा बसेर हैकम जमाइरहेका छन् । इम्बोस्ड नम्बर प्लेटमा राज्यलाई तल पार्ने र राज्यकोष लुट्ने डिजाइनमा काम भएकाले उक्त कार्यमा संलग्नहरूलाई हदैसम्म कारबाही हुन जरूरी छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #इम्बोस्ड नम्बर प्लेट, #गोगनबहादुर हमाल, #चन्द्रमान श्रेष्ठ, #नक्कली लाइसेन्स, #यातायात व्यवस्था विभाग, #राजकुमार महर्जन, #लोकमानसिंह कार्की, #विकल पौडेल, #सिद्धार्थ पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com